खरसाङमा तृणमूल-मोर्चाबीचको आरोप-प्रत्यारोपले मच्चायो सनसनी

विज्ञापन

 दुर्व्यवहार र नोकरीको लागि दुइ लाखको सुपारी : आरोपको खण्डन


सौजन्य छेत्री, खरसाङ, 5 मई/2017


  •  तृणमूल नेताद्वारा सभासद् योगेन्द्र राईमाथि दुर्व्यवहार गर्न खोजेको भन्दै थानामा प्राथमिकी दर्ता गर्ने औ यदि यसो गरेमा 2 लाख रुपियाँ र उनको श्रीमानको अस्थायी नोकरी स्थायी गरिने प्रलोभन 

  • तृणमूल कङ्ग्रेस नेता कुन्दन मग्रान्तीले गरे आरोपको सोझै खण्डन

नगरपालिका चुनाउलाई लिएर सत्तारूढ़ गोर्खा जनमुक्ति मोर्चा र राज्यको शासक दल तृणमूल कङ्ग्रेसबीच सृष्टि भएको किचलो थानासम्म पुगेको छ। शुक्रबार गोजमुमो कार्यकर्ता एउटी महिलाले स्थानीय तृणमूल नेता कुन्दनविरुद्ध खरसाङ थानामा प्राथमिकी दर्ता गरेकी छन्। प्राथमिकी दर्ता गर्ने महिला वार्ड नम्बर 3 कटलेरीकी सपना थापा हुन्। प्राथमिकी दर्ता गर्न उनीसित विधायक डा. रोहित शर्मा र मोर्चाका स्थानीय शीर्ष नेतृत्वहरू थाना पुगेका थिए। अभियोगकर्ताअनुसार तृणमूल नेता मग्रान्तीले उनलाई सभासद् योगेन्द्र राईमाथि दुर्व्यवहार गर्न खोजेको भन्दै थानामा प्राथमिकी दर्ता गर्ने औ यदि यसो गरेमा 2 लाख रुपियाँ र उनको श्रीमानको अस्थायी नोकरी स्थायी गरिने प्रलोभन देखाएका थिए। तृणमूल नेता पनि वार्ड नम्बर 3 कै हुन्।

प्राथमिकी दर्ता गरेपछि थानाअघि स्थानीय पत्रकारहरूसँग बोल्दै अभियोगकर्ता थापाले भनिन्, ‘‘मैले उनको यो प्रलोभनलाई सोझै अस्वीकार गरे। मलाई सभासद् योगेन्द्र राईले केही गरेकै छैन भने म किन उनीविरुद्ध झूटो आरोप लगाएर प्राथमिकी दर्ता गरूँ?’’ यसका लागि तृणमूल नेता कुन्दन मग्रान्ती बिहीबार राति प्रायः 8 बजी उनको घरैमा गएको र आज बिहान पनि कल गरेको दावी गरिन्।

उनका श्रीमान खरसाङ अभियन्ता विभागमा अस्थायी कर्मचारी हुन्। अभियोगकर्ता थापा अनि मोर्चाले आरोपी तृणमूल नेतालाई यथाशीघ्र पक्राउ गर्नुपर्ने माग गरेका छन्। यदि पक्राउ नगरिए थाना परिसरमा भोक हड़ताल गर्नेसमेत चेताउनी दिअएको छ।

अर्कोतिर सभासद् योगेन्द्र राईले नगरपालिका चुनाउमा हार निश्चित देखेपछि तृणमूल कङ्ग्रेसले यस प्रकारको घृणित राजनीति गरिरहेको बताएका छन्। एउटी महिलालाई कथित् रूपले प्रलोभन देखाएर तृणमूल कङ्ग्रेसले उनको बदनाम गर्ने षड़्यन्त्र गरिरहेको आरोप लगाउँदै सभासद् राईले यस घटनाको तीखो शब्दमा विरोध जनाएका छन्।

यता, तृणमूल कङ्ग्रेस नेता कुन्दन मग्रान्तीले यो आरोपको सोझै खण्डन गरेका छन्। कसैलाई पनि कुनै प्रकारको प्रलोभन र कसैमाथि झूटो अभियोग दर्ता गर्न नलगाएको तर जनाधार खस्किँदै गएको मोर्चाले जनताको सहनुभूति पाउन यस प्रकार झूटो आरोप आफूमाथि लगाएर थानामा प्राथमिकी दर्ता गरी नौटङ्की गरिरहेको स्थानीय तृणमूल नेता मग्रान्ती उल्टो आरोप छ। खरसाङ थानाका इन्स्पेक्टर इन्चार्ज दीपङ्कर सोमले बताएअनुसार प्राथमिकीको आधारमा आरोपीविरुद्ध मामिला दर्ता गरी आवश्यक कार्वाही गरिनेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया