कुरा मुम्बईका/तेरी तो, भनेर…

विज्ञापन

किसिम-किसिमका घटनाहरूको साक्षी बन्न पाइन्छ मुम्बईमा ड्युटीको समय। घटनाहरू स्वतः विलीन भएर जान्छन् तर कतिवटा मनमा सदाकालका लागि रहेर बस्न खोज्छन्। अनुरोध फिल्ममा राजेश खन्ना अथवा किशोर कुमारले गाएको गीतजस्तो – ‘आते जाते खुबसुरत आवारा सडकों पे, कभी कभी इत्तेफाक से, कितने अनजान लोग मिल जाते हैं। उनमें से कुछ लोग भूल जाते हैं, कुछ याद रह जाते हैं….।’ यसरी नै मलाई पनि भन्न मन लाग्छ – ‘मुम्बई एयरपोर्टमा ड्युटी गर्दागर्दा धेरै घटनाहरू हुने गर्छन्, तिनमा कति त बिर्सिएर जान्छन् तर कति भने यादमा रहिरहन्छन्।’

यौटा घटनाको कुरा गरूँ यस्तै याद गर्नसकिनेहरूमा।

22 र 23 अक्टुबरको मध्यरात्रीको कुरा हो। म आगमनको काउन्टरमा थिएँ। हवाइपट्टीमा यात्रीहरूको आवागमन दुइ तरिकाले हुनेगर्छ – आगमन अनि प्रस्थान। मुम्बईको क्षत्रपति शिवाजी इन्टरनेसनल एयरपोर्टको टर्मिनल दुइको आगमन कक्षमा ड्युटी थियो रातभरि। यात्रीहरूको मुम्बई आउने क्रम दिनको तुलनामा राती दुइ गुणा धेर हुन्छ। माछा बजारजत्तिकै हुन्छ इमिग्रेसन हल राती त। आगमनमा जति भयो त्यसभन्दा धेर प्रस्थानमा हुन्छन् यात्रुहरू।

सो दिन पनि यात्रुहरू धेरै थिए। संसारका विभिन्न देशहरूबाट यता आउने यात्रुहरू सायद आफ्नो प्रस्थान स्थलबाट त दिउँसै उड़ेका हुन्छन् होला तर भारत भित्रिँदा रात परिसकेको हुन्छ। जीवनमा नामै नसुनिएका देशहरू पनि रहेछन् भन्ने यतै आएर ज्ञान भयो। आफ्नो यो अज्ञानताको कारण अबगालमा परेको घटना पछिका लागि साँच्दै यहाँ अर्कै कुरा गर्न मन लाग्यो।

मुम्बई कहिल्यै नसुत्ने ठाउँ हो भन्छन् भन्नेहरूले। तर एयरपोर्ट त नसुत्ने मात्रै हैन नथाक्ने ठाउँ हो जस्तो लाग्छ। जतिखेर पुगे पनि ताजै देखिन्छ। सो दिन विदेशबाट आउने भारतीय अनि गैर-भारतीय यात्रुहरूको इमिग्रेसन जाँच गर्दैथिएँ। रात नाघेर झन्नैझन्नै बिहान हुन खोज्दैथ्यो होला बाहिर। हामीलाई त हलभित्र रात र दिन पत्तै हुँदैन।

हुनत काउन्टरहरू सबै किसिमका यात्रीहरूका लागि भिन्नाभिन्नै राखिएका हुन्छन् जस्तै – भिजा अन अराइभल काउन्टर। यस काउन्टरमा ती देशका यात्रुहरू आउँछन् जोसित भारतको सम्बन्ध प्रगाढ़ छ अनि जसलाई हाम्रो देशमा भित्रिन कुनै प्रकारको भिजाको आवश्यकता पर्दैन।

उदाहरण – जापान।

जापानी नागरिकहरूलाई भारत भित्रिनका लागि राहदानी (पासपोर्ट) बाहेक केही चाहिँदैन। भारतको कुन प्रवेश गेटमा उनीहरू पस्छन् त्यहीँ उनीहरूलाई भिजा प्रदान गरिन्छ। यसलाई भिजा अन अराइभल भनिन्छ।

त्यसपछि हुन्छ इ-भिजाको काउन्टर।

इलेक्ट्रोनिक भिजा अन्तर्गत विदेशी नागरिकहरूले आफ्नै देशमा अनलाइन प्रणालीमार्फत् भिजाको आवेदन गरेका हुन्छन् जसलाई ईटीए (इलेक्ट्रोनिक ट्राभल अथराइजेसन) पनि भनिन्छ। उनीहरूले आफुले आवेदन गरेको इटीए सङ्ख्या काउन्टरमा साक्षी गरेपछि सहजैसित भिजा प्राप्त गर्नसक्छन्। यद्यपि यी दुवै तरिकामा राष्ट्रिय सुरक्षाका दृष्टिले कतिपय शर्तहरू भने लागु हुँदछन्। यस्तै अन्य काउन्टरहरूमा हुन्छन् – सिनियर सिटिजनको काउन्टर, नानीहरू बोकेका आमाहरूको काउन्टर, ह्विल चेयरमा आउनेहरूको काउन्टर, बिजिनेस-प्रिमियम क्लासको काउन्टर, पासपोर्ट हराएर बिल्लिबाठ भई इमर्जेंसी सर्टिफिकेट लिएर आउनेहरूको काउन्टर, सरकारका प्रतिनिधिहरूको काउन्टर, राजदूतावासमा सेवा प्रदान गर्नेहरूको काउन्टर इत्यादि।

त्यो दिन ड्युटी थियो जेनेरल काउन्टरमा जहाँ इकोनोमी क्लासका साधारण यात्रीहरूको इमिग्रेसन चेक गर्नुपर्दछ। कति घन्टाको यात्रा गरेर रात्रीको बेला आइपुगेको कारण हो वा बानी नभएको कारण पनि हो यात्रीहरू हत्तपत्त आँखैअघि राखिदिएको सूचनापट हेर्दैनन्। ती सूचनापटहरूमा स्पष्टसित कुन वर्गको यात्री कुन काउन्टरमा जानुपर्ने हो सो लेखिएको हुन्छ। त्यसलाई पढ़ेर अम्मलमा ल्याउनु हो भने यात्रीहरूले लामो लाइनमा कुरिरहनु पर्दैन। तर प्रायः नै यात्रीहरू यो सहुलियतबाट वञ्चित हुने गर्दछन् अनि गल्तीले अर्को वर्गको पङ्क्तिमा घुसिपठाउँछन्। यसरी गल्तीले अर्काको लाइमा एक-डेढ़ घन्टा उभिएका यात्रीहरूलाई जब अर्को लाइनमा पठाउनुपर्दछ तब उनीहरू रिसाउने गर्छन्। यस्तो अवस्थामा उनीहरूको इमिग्रेसन नगर्न पनि सकिँदैन किनभने बिचराहरू कतिबेरदेखि नागबेलीको लहरमा उभिएर काउन्टरसम्म आइपुगेका हुन्छन्। यदि सिस्टमले मान्यो भने प्रायः यस्ता यात्रीहरूलाई क्लियर गर्ने प्रयास हुन्छ। तर विदेशी नागरिकहरू जो इलेक्ट्रोनिक भिजा लिएर भित्रिएका हुन्छन् उनीहरूलाई सबै काउन्टरमा क्लियर गर्न सकिँदैन र निर्धारित काउन्टरमै उनीहरूले आफ्नो पालो कुर्नुपर्छ।

त्यो दिन पनि निक्कै भिड़ थियो। जतिसक्दो चाँड़ो काम गरेर कति घन्टादेखि यात्रा गरेर आएका यात्रीहरूलाई अझ धेर बेर टङ्ग्याउन हामी चाँहदैन थियौँ र फटाफट गर्दैथ्यौँ। यात्रीहरूको होहल्लाबिच काउन्टरबाट स्ट्याम्प ठोकेको ठाकठाक र ठुकठुक आवाज आइरहेथ्यो। यतिकैमा मेरो काउन्टरअघि एक नौजवान केटो ठिङ्ङ उभियो। औपचारिक कामहरू गर्दैगर्दै बातचित पनि गर्ने गर्छौँ हामी। कुराकानी गर्दा थाहा लाग्यो युवक एक गितार वादक रहेछ। मलाई खुसी लाग्यो किनभने म आफु पनि सङ्गीतमा चासो राख्ने मान्छे परेँ अनि भनेँ, ‘म पनि गितार बजाउँछु नि।’

उसले छक्कै परेर हिन्दीमै सोध्यो, ‘अच्छा…. कौनसा गितार? स्पेनिस, नाइलन, हवाइन्?’ इत्यादि। मैले जानेजति जवाब दिँदै अन्य बातचित गर्दा के थाहा लाग्यो भने उनी प्रसिद्ध सुफी गायक कैलाश खैरको ब्यान्डका गितार वादक रहेछन् र दुबईतिर कतै कार्यक्रम प्रस्तुत गरेर स्वदेश फर्किरहेका रहेछन्।

मैले ‘अन्त कैलाश जी चाहिँ गएनन् तिमीहरूसित?’ भनेर सोद्धा ‘हैन उ पनि छ नि हामीसितै। यतै कतै होला’ भन्यो। मैले यताउति फर्केर हेरेँ, देखिनँ। धेरै बेर हेर्ने फुर्सत् पनि थिएन। नत्र म एकपल्ट दर्शन गर्ने सोचमा थिएँ। यसरी कलाकारहरूलाई देख्न पाउँदा आफ्नै आँगनमा उनीहरू आइपुगेजस्तो लाग्छ मलाई। मौका हातमा छ र यात्रीहरूको सङ्ख्या कम छ भने उनीहरूसित केही बेर बात गरेर बिताउने गर्छु म। जस्तो अल्का याज्ञ्निकसित गरेको थिएँ।

उनी आफ्नो छोरीसित विदेशबाट फर्किरहेकी बेला म बिजनेस काउन्टरमा थिएँ। त्यतिखेर अल्का याज्ञ्निकसित निकै लामो बात गर्ने मौका पाएको थिएँ मात्रै हैन उनले पनि मेरो सङ्गीतप्रतिको चासो बुझेर यौटा फोटो खिच्ने मन गरेकी थिइन्। अन्यथा यी कलाकारहरू आफ्ना प्रशंसकहरूलाई सेल्फीमै भुल्याएर टाप कस्न धेर रुचाउने हुन्छन्। तर मृदुभाषी अल्का याज्ञ्निकले भने आफ्नी छोरीलाई नै हाम्रो फोटो खिच्न लगाएकी थिइन्।

यस्तै आफुलाई मनपर्ने गायकहरूमा एक हुन् मेरा लागि कैलाश खेर। यति मात्रै होइन उनी सारै सिधा मान्छे छन् जस्तो लाग्छ टिभीमा कतिवटा कार्यक्रमतिर बोलेको सुन्दा। एकपल्ट त जसरी भए पनि भेट्नुपर्छ होला आफ्नै आँगनमा आइपुगेका कलाकारलाई भन्ने ध्याउन्न भयो फेरि ड्युटीमा रहेको समय, त्यसमाथि पनि यात्रुहरूको भिड़ निक्कै बढ़ेको बेला चौकी छोड़ेर उठ्न मनैले मानेन। फेरिफेरि यस्तो मौका आउला नआउला भन्दै मनमा केके गुनिरहेँ- काम पनि गर्दै। होस् मेरो दुर्भाग्य नै होला आजको दिन भन्ने सोचेर कामतिरै ध्यान दिएँ।

त्यसपछि ती युवक आफ्नो बाटो लागे अनि एकजना अधबैँसे महिला मेराअघिल्तिर उभिइन्। मैले पासपोर्ट हातमा लिएर बोर्डिङ पास मागेँ। सायद बोर्डिङ पास हातमा तयार राखेकी थिइनन् होला हत्तार-हत्तार आफ्नो झोला खोतल्न थालिन् र केही समय लिइन्। मेरो पालो ‘तपाईँ आफ्नो पास खोज्दै गर्नुहोस्, त्यतिन्जेल म अरू यात्रीलाई हेर्दै गर्छु’ भनेर ती महिलाका पछिल्तिर उभिएको एक पट्ठो युवकलाई हेर्दै ‘तपाईँ तयार हुनुहुन्छ?’ भन्दा ‘येस येस’ भन्दै खुसी भएर अघि आयो उ।

मेरो पालो उसको इमिग्रेसन चेक गर्नथालेको मात्रै थिएँ ती महिलाले बोर्डिङ पास पाइछिन् र फेरि मेरो अघिल्तिर आइन्। नियमअनुसार इमिग्रेसन काउन्टरअघिको पहेँलो लाइनलाई काउन्टर अफिसरको आदेशबिना उल्लङ्घन गर्न पाइँदैन। मैले ती महिलालाई भनेँ, ‘तपाईँ अब एकछिन् पर्खनुहोस्, म यहाँलाई क्लियर गरिहाल्छु।’ यो सुनेर ती महिला ममाथि रिसाइन् र ‘तिमीहरूले चाहिँ हामीलाई कत्ति बेरसम्म पर्खाउँदा पनि हुन्छ, हामीले चाहिँ एकछिन् बोर्डिङ पास खोज्न पनि नपाउने?’ भन्दै गनगन गर्नथालिन्।

यो सुनेर त्यो युवक पनि त्यही महिलापट्टि पो लागेर ममाथि बर्सिन थाल्यो। ‘एकछिन् पर्खेको भए त हुनेथ्यो त, आफुहरू चाहिँ कति बेरसम्म हराउँछ काउन्टरबाट..’ भन्नथाल्यो उसले। मैले त त्यो युवकलाई नै छिट्टो होस् भन्ने सोचेर मौका दिएको त उसले मलाई नै करायो। मैले सम्झाउने कोसिस गरेँ र भनेँ, ‘तपाईँहरू यसरी मसित बाझ्नुहुन्छ भने सबैलाई ढिलो हुन्छ। चुपचाप बस्नुभयो भने सबैलाई फाइदा हुन्छ’ भन्दा त्यो युवक झन् कराउन थाल्यो, ‘तिमीहरूको काम गर्ने तरिका ठिक छैन, काउन्टर खालीखाली छ, मान्छे छैन, बोल्नु जान्दैन’ इत्यादि।

मैले भनेँ, ‘त्यसो हो भने ठिक ठाउँमा कम्प्लेन गर्नुहोस् न त।’ उसले ‘कम्प्लेन सुन्छ र? कसैले.. सुन्दैन। सब एउटै ड्याङकाहरू हौ तिमीहरू…’ भन्यो। मैले ‘त्यसो भए हाम्रा ठुला अफिसरसित बात गर्नुहोस् न त’ भन्दा ‘बात गरेर के हुन्छ? तिमीहरू यस्तै हौ… काम गर्दा ढिलो गर्छौ, हामी कति टाढ़ादेखि उड़ेर आएको, थाकेका हुन्छौँ, घर पुग्नु हत्तार हुन्छ। आज पनि यौटा कन्सर्ट छ। यस्तै कतिवटा कामहरूले पर्खिरहेको हुन्छ तर तिमीहरूलाई यो सबैसित वास्तै हुँदैन। छिट्टो काम गर मेरो, मलाई हत्तार छ। अरूको त यति लामो समय लागेको थिएन त….’ भन्दै ममाथि झन् खनिइन थाल्यो उ।

मैले भनेँ, ‘मैले छिट्टो गरेर हुँदैन हजुर। यो त सिस्टमले जेजे भन्छ त्यो गर्दै जानुपर्छ। सिस्टमले कसैलाई केही पनि माग्दैन, कसैलाई सबै सूचना माग्छ। त्यसैले तपाईँको पनि ढिलाइ हुँदैछ।’

‘मेरो चाहिँ किन ढिलो? … तिमीहरूको त हाई  लेभलमा कम्प्लेन गर्नुपर्ने हो खासमा’ भन्दै युवक झन् बर्बराउन थाल्यो। मैले उसलाई क्लियर गरिदिइसकेको थिएँ तर उ भने मलाई हेर्दै अझ कराइरहेको थियो। अब चाहिँ मलाई पनि कस्तोकस्तो लाग्यो र ‘सर, अगर ऐसा है तो आप चलिए मेरा साथ साहब के सामने’ भनेर लगेँ। उसले ‘पर्दैन’ भन्दैथ्यो मैले ‘हिँड़ कि हिँड़’ पारेर अघि लगेँ। किनभने मलाई थाहा छ साहबकहाँ पुगेपछि मेरो त छुट्टी भइहाल्छ अनि उसलाई केही बेर उभ्याएर केरकार हुन्छैहुन्छ। यस्तै भयो। म त साहबलाई सुपुर्द गरेर फर्किहालेँ, त्यो युवक त्यहाँ बसेको बस्यै भएछ।

केही बेरपछि ‘छेत्री’ भनेर साहेबले परैबाट कराए। हलका यात्रीहरू पनि तर्सिए होलान्। त्यसपछि फेरि ‘तुम भी आओ’ भनेर मलाई परैबाट बोलाए। म लुखुरलुखुर गएँ। त्यहाँ त्यो केटालाई सघाउनका लागि उसका अरू यात्री साथीहरू पनि थुप्रिसकेका रहेछन्। पासपोर्ट फेरि मेरै हातमा दिएर साहेबले ‘लु के गर्ने गर्’ भने। त्यो केटो मलाई ठुल्ठुलो आँखा पारेर हेरिरहेको थियो। यतिकैमा पछिल्तिरबाट सानु स्वरमा फुच्चेफुच्चे खालको यौटा केटाले मलाई ‘सर, छोड़ दीजिए न प्लिज। हम लोग जल्दी में है। सर प्लिज’ भनेर अनुरोध गरिरहेको थाहा पाएँ। झिनो स्वरमा त्यस फुच्चेले त्यो बिगार गर्ने युवकको पक्षमा मसित माफी माग्दै कोट्याएको थाहा पाएर दिक्क हुँदै त्यसलाई पनि मज्जाले हकार्नुपऱ्यो भन्ने झोँकसित यहाँको चल्ती गाली ‘तेरी तो….’ भन्ने भावमा फनक्क पछिल्तिर फर्केको त कैलाश खेर पो रहेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया