एकपछि अर्को म्याच हार्दै आरसीबी

विज्ञापन

बेङ्ग्लुरु, 6 मई/2017


आइपीएल-10 मा बलियो रोयल च्यालेञ्जर्स बेङ्ग्लोर (आरसीबी) –को पानीमरुवा प्रदर्शन जारी छ। शुक्रवार राति आफ्नै घरेलु मैदानमा किङ्ग्स इलेवेन पञ्जाबसँग 19 रनले पराजित भएको छ।

क्रिस गेल, शेन वाट्शन, विराट कोहली, एबी डीभिलियर्सजस्ता विश्व क्रिकेट विध्वंसी ब्याटम्यानहरू रहेको आरसीबी एकपछि अर्को म्याच हार्दै अङ्क तालिकामा सबैभन्दा पुछरमा छ। ब्याटिङ विफलता आरबीसीका लागि टाउको दुखाई बनेको छ। पञ्जाबविरुद्ध 139 रनको सानो विजयी लक्ष्य पाएको कोहली एण्ड कम्पनी 19 ओभरमा 119 रन सङ्ग्रह गरी समेटिएपछि यो हार बेहोरेको हो। आरसीबीका लागि मन्दीप सिंहले सर्वाधिक 46 रन बनाए। उनीबाहेक कसैले पनि उपयोगी इनिङ्ग्स खेल्न सकेनन्। गेल (0), कोहली (6), डीभिलियर्स (10), केदार जाधव (6), वाट्शन (3) आदि शीर्ष ब्याट्सम्यान सस्तोमै आउट भएपछि बेङ्ग्लोर पराजित भएको हो। लीग चरणको अहिलेसम्म आरबीसीले खेलेको 12 खेलमा यो नवौं हार हो।

केवल दुइवटा खेल जितेको बेङ्ग्लोरले एउटा खेलमा सनराइजर्स हैदराबादसँग 1-1 अङ्क साझा गरेको थियो। अतः आरसीबीले अहिलेसम्म केवल 5 अङ्क जुटाएको छ। पञ्जाबका लागि सन्दीप शर्मा र अक्षर पटेलले 3-3 तथा मोहित शर्मा र कप्तान ग्लेन म्याक्सवेलले 2-2 विकेट लिए। यसभन्दा अघि पहिलो ब्याटिङ गर्दै पञ्जाबले निर्धारित ओभरमा 7 विकेटको क्षतिमा 138 रन सङ्ग्रह गरेको थियो। पञ्जाबका लागि विषम परिस्थितिमा अक्षर पटेलले 17 बलमा 38 रनको विध्वंसी इनिङ्ग्स खेले। उनीबाहेक मनन बोहरा 25, शन मार्सले 20 र रिद्धिमान साहाले 21 रनको उपयोगी पारी खेले।

आरसीबीका लागि अनिकेत चौधरी र युजवेन्द्र चहलले 2-2 विकेट लिए। यो जीतसँगै पञ्जाबले प्लेअफ् खेल्ने आफ्नो सम्भावनालाई जिउँदो राखेको छ। अङ्कतालिका पाँचौं स्थानमा रहेको पञ्जाबको 10 खेलमा 5 जीत र 5 हारसहित 10 अङ्क छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया