प्रवीण खालिङ-को भुइँकुरा 

विज्ञापन

भुइँकुरा 

प्रवीण खालिङ


“हो! नी मेरो आपाले पनि यही बाटोमा जीवन शुरु गरेका थिए। मैले पनि त्यै गोरेटो हिँडदै यो बाटोसम्म आइपुगेको पनि  15 वर्ष लाग्यो। यही नै प्यारो लाग्छ। यसलाई छोडेर कतै जानु मनपर्दैन।” बाबुको पसिनाको वासना चल्ने त्यो रूग रूगे पहाड़मा मणिले डेढ दशकदेखि सङ्घर्षको हुरी सहदै आएको हो।

सिरेटोमै माया लगायो । चिरेटोमा जीवन साट्यो ।

ठूलो ठाडो गोलाई ओर्लिन अघि स्टेरिङमा ढोग गरेर आत्मविश्वास बटुलेपछि ओह्रालो लाग्छ उसको 1950 साले ल्याण्डरोभर।   मनमा हिजो ट्रेकर हटमा बस्दा साथीहरूसित साटेको सम्झनाको न्यायो छाम्दै ओह्रालो लाग्छ उसको यादहरू।

“हिमाल  भाइ !  यसपाली तपाईं अलि छिटो आउनु भयो गुराँस फुल्न मात्र थाल्दैछ। साँच्ची तल बजारतिर त आन्दोलन चर्किन्दै छ रे नी? यो माटो भन्ने कुरा त मैले बुझ्नै सकिन हौ। माटो पनि माग्दा पाउने र दिँदा हुने कुरा हो र ? हाम्रो पूर्खाले त त्यसै खोरिया फाँडेर बाघ-भालुसित कुस्ती खेल्दै विर्ताले जितेर बस्ती बसालेको  हो। अब कहाँबाट प्रमाण पत्र ल्याउनु। पौरखको पनि प्रमाण पत्र हुन्छ र ?  तिनीहरूले यही गोरेटोमा मेरा पुर्खाहरूले घोडा कुदाएको टाप छामेर हेरोस्।  मेरा पुर्खाहरूका  हरिनाथ फुटेको कुरकुच्चामा हेर्‍यो भने  ठ्याक्कै दक्षिण एशियाको हिन्द महासागरको मास्तिरको माटो टुक्रा जस्तै रेखाचित्र भेट्नेछ।  अब यो गुराँसको बोट मुन्तिर धुलाम्मे सड़कमा पुस्तौदेखि मेरो ल्याण्डरोभरको टायरको दाग पनि त छ। त्यत्तीले पनि दसी र प्रमाण पुग्दैन होला त?”

सिमानामा बस्नेहरूको व्यथा बिचमा बस्नेहरूको भन्दा अझ पीडादायक हुँदो रहेछ। चित्राले बारेको चिया पसलमा चौरीको घिउमा घोलिएको चिया पिउँदै तेस्रो गाउँको दृश्य खिच्न लागेको हिमाललाई नोम्यान्सल्याण्डमा उभिएर सही सब्जेक्टमा फोकस गर्न निक्कै गाह्रो भइरहेको छ। उनीहरू त बाँचिदिनमात्र सक्दा रहेछन्। त्यसबाहेक अर्को विकल्प छैन दसी र प्रमाण भनेकै उनको पुर्खाले पनि यही बाटोमा ल्याण्डरोभर कुदाए, यही नोम्यान्सल्याण्डमा चौरी चराए।

तेञ्जीङ भने खुसी नै छ भर्खरै छोरीले ग्रेजुएशन सकेर ट्रेकर हटमा आएको पहुना हेर्न थाले पछि। म्हेन्दो ! उनीहरूको मातृभाषामा फूल भनेको हुनुपर्छ। फुलजस्तै सुन्दर भएर पनि गुराँस भन्दा ठीक होला। कि त टोटोला हो की। ट्रेकर हटको अहिलेको मुख्य आकर्षण विदेशी र देशी पाहुनाहरू जानेबेलामा उसितको सम्झना ताजा बनाउन फोटो खिचिराखेर जान्छन्।

म्हेन्दोले  बिहानै उठेर कञ्चनजङ्घाको ऐनामा कपाल कोर्छे।  माटोको कुरा बजारमै बुझेपछि,ज्योजोको ल्याण्डरोभरको टायरको डाम, आपाको फुटेको कुर्कुच्चा मानचित्र र पुर्खाको घोडाको टापले मात्र चिन्हारीको दसी र प्रमाण पुरा नहुने सम्झेर सुर्ताउँछे शिक्षित म्हेन्दो।

उतापट्टि आन्दोलन हुँदा त हामीलाई पनि निक्कै साह्रो थियो नी। बन्दुक भिर्नेहरू ग्वारग्वार्ती हिँडने गर्थे।

यो सीमानाको डाँडै-डाँडा । कत्तिलाई यही मेरो 67 नम्बरमा चढाएर हाम्रो तिर उपचारको निम्ति पनि ल्याएको थिएँ। मैले कहिले सोधिन, सोध्न पनि नहुने भाडा दिन्थ्यो थाप्यो बस।  क्रान्ति भनेको नजिकबाट देखेका छौं नी त्यत्तिबेला पनि पहुना त आउँथे नत्र हामी आज हुन्थेनौ नी, के खाएर बाँच्नु। मणिले पहुनालाई भगवान जस्तै मान्छ। जिर्ण बन्दै गएक गुम्पामा उकालो लाग्न अघि ढोग्न नविर्सिए जस्तै पहुनालाई श्रद्धा गर्छ।

अहिले क्षेत्रमा क्यामेरा भिरेर जङ्गल पस्नेहरूको भीडमा पुरानो सम्झना पनि उत्तिकै छ। जतिबेला बन्दुक भिर्नेहरू यसै सीमानामा ओहोर दोहोर गरिबस्थे। पोटलिङ्गोको घारीबाट लामो लेन्स पहिले निस्केपछि लेन्सलाई पछ्याउँदै  ट्रेकिङ सुट, रातो ज्याकेट  र ब्यारेट लगाएको हिमाल निस्कँदा कमरेड जस्तै देखियो।

हिमाल विस्तारै निस्कँदा यसै ढुङ्गे सड़क भएर त्यत्तातिर क्रान्ति हुँदा अध्यक्ष कमरेड ल्याण्डोभरमा चढेर ओहोर दोहोर गरेको फल्यासब्याकमा पुग्छ, मणि।

रोमाञ्चक कथा जस्तै आफ्नो अनुभव सुनाउँछ  मणि।

‘ दुइवटा गाड़ीमा चढेर उत्ता सिमाना पार गराएका थियौं पछि पो थाहा भयो उ त अध्यक्ष थिएछ। थाहा पाएपछि मन पनि ढुक ढुक भएको थियो तर उनीहरूले पनि आफ्नो परिचय दिएका थिएन। बरू  जनता राजमा जनतै राजा भन्ने गाउँका बासिन्दा हौं भन्थे तर मैले त बोलीमा नै त्यतातिरको होइन भन्ने थाहा पाइसकेको थिएँ। जे होस राम्रै भाडा दिएको थियो अध्यक्ष कमरेडलाई पनि बोकिएछ पछि थाहा पाएँ।’

छेवैबाट पार भयो अर्को ल्याण्डरोभर दुइ रौसे युवाहरू रहेछ। चालक पनि रौसे निक्कै दिनको यात्रामा पहिलोपल्ट गाड़ीमा टेप रिकर्ड बजेको सुनियो। युवाहरू हात हल्लाउँदै गीतको बोलमा ताल दिइरहेका थिए। घुम्ति काटेर जाँदै गर्दा पारस गजमेरको  गीतको मधुरो आवाज अझै वरसम्म आइरह्यो…

साँझको घाम डुबिसक्यो

यात्रा अझै बाँकी नै छ

यत्तिबेला सम्झन सकेको यत्ति हो उत्तापट्टि कमरेडहरूले रोपेको क्रान्तिको बिजन अहिले झाङ्गिएर पनि हौसी सकेको छ। बोट ठूलो भएर पनि भनेजस्तो फल दिन सकेन। अहिले कलम काट्नेक्रम चल्दैछ चियाको गाछ जस्तो बुथुरे क्रान्तिले निकासा देला कि नदेला। वर्णशङ्कर क्रान्ति।

माटो भनेपछि हुरुक्कै हुनेहरू कम्ता छैनन्। कविले माया गरेको चिन्हारी, गायकले गाएको चिन्हारी  , जनताले मागेको चिन्हारी र  सीमानामा ल्याण्डरोभर हाँक्ने मणिले बुझेको माटो  र म्हेन्दोको माटोको परिभाषा  एकै भएपनि नेताको माटो, नेताको परिभाषा र चिन्हारीसित नमिल्न सक्छ ।

मणिले ल्याण्डरोभरको टायरको छाप, आपाको कुर्कुच्चाको रेखा चित्र, पुर्खाको घोडाको टाप  अझै नमेटिएको पौरखको वासना र सँधै जीवनको उकाली  सहज पार्न बुद्ध र आफ्नो प्रिय भगवान शिव सम्झँदै मणिले बटारेको स्टेरिङमा अघि बढ्ने ल्याण्डरोभर 0067 भने  चिन्हारीको अर्को पर्याय बन्दैछ। सन्दकफू र फाललूटको रूगरूगे डाँडाहरूमा चिन्हारी खोज्दैछ।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया