लामागाउँमा गोल्डकप

विज्ञापन

दार्जीलिङ, 30 दिसम्बर।


आफ्नो गाउँलाई सर्वत्र परिचित तुल्याउने अनि वर्तमान युवा पिँढ़ीलाई कुलतमा लाग्नअघिनै सही मार्गदर्शन गराउने उद्देश्य राखेरनै लामागाउँ वेलफेयर सोसाइटीले आगामी 4 जनवरीदेखि गाउँकै सार्वजनिक खेल मैदानमा गोल्डकप फूटबल प्रतियोगिताको आयोजना गर्ने तय गरेको छ। यसैको जानकारी गराउँदै आज सोसाइटीका अध्यक्ष सन्दीप लिम्बु र कार्यकारी अध्यक्ष विशेष सिङ्गोकले भने-युवावर्गको मानसिकतामा परिवर्तन ल्याउन साथै गाउँमा शान्ति, एकता-भाइचारा कायम गर्ने उद्देश्य राखेरनै गाउँका सक्रिय युवाहरूको पहलमा लामागाउँ वेलफेयर सोसाइटीको गठन गरिएको हो, जसले 4 वर्षदेखि लगातार गाउँकै सार्वजनिक खेल मैदानमा फूटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ। यसलाई यस वर्ष पनि जारी राख्ने तय भएको छ, जसअनुसार यसपाली नेपाल, आसाम, सिक्किम, सिलगढ़ीका साथै दार्जीलिङ पहाड़का लगाएर मोठ 26 वटा फूटबल दलले भाग लिने भएका छन्।

दार्जीलिङ पहाड़बाहेक अन्य स्थानबाट यस प्रतियोगितामा भाग लिन आउने फूटबल दललाई यात्राको सुविधा प्रदान गर्ने पनि योजना छ भने बाहिरका दलहरूलाई प्रवेश शुल्कमा पनि छूट दिने भएको छ। दार्जीलिङ पहाड़का फूटबल दलहरूको लागि सोसाइटीले 3,000 रुपियाँ प्रवेश शुल्क तोकेको छ भने यस प्रतियोगितामा विजय बन्ने दललाई 1 लाख, उपविजेता दललाई 60 हजार र सेमिफाइनलमा पुग्ने दुइवटा दललाई 10-10 हजार रुपियाँ नगद राशि प्रदान गर्ने पनि तय गरेको पनि लिम्बुले बताए। उनले भने-आगामी 26 जनवरीको दिन फाइनल खेल आयोजना हुने यस खेलको लागि सम्पूर्णरूपले गाउँलेहरूबाटनै आर्थिक सहयोग उपलब्ध हुने गरेको छ।

यस खेलको लागि गाउँलेले 500 रूपियाँदेखि 10,000 रूपियाँसम्म आर्थिक सहयोग प्रदान गरिरहेका छन्। यसैले यस फूटबल प्रतियोगिताको लागि सोसाइटीले कसैअघि हात फैलाउन नपरेको पनि लिम्बु र सिङ्गोकले बताए। 7 साइडको यस खेलको माध्यमबाट संग्रह हुने धनराशि उब्रिए, उक्त राशिले एक वृद्धा विधवाको घर निर्माण गरिदिने योजना बनाएको पनि जानकारी गराए। सिङ्गोक र लिम्बुले भने-लामागाउँ वेलफेयर सोसाइटीले खेलकुद कार्यक्रमबाहेक गाउँमा अन्य सामाजिक कार्यहरू पनि गर्दै आइरहेको छ।

जसअनुसार, प्रत्येक ठण्डा महीनाको समय वृद्ध-वृद्धाहरूलाई तातो लुगा दिने, शैक्षिक क्षेत्रको लागि पनि सहयोग प्रदान गर्ने काम भइरहेको छ। यसरीनै लामागाउँलाई परिचित गराउनु पनि यस फूटबल प्रतियोगिताको एउटा मूल उद्देश्य हो, किनभने अहिलेसम्म पनि दार्जीलिङ पहाड़कै धेरै मानिसहरू लामागाउँ र लामाहट्टामा अल्मलिने गरेका छन्। धेरैले लामाहट्टालाईनै लामागाउँ सोंच्छन्, यहाँका जनतामा रहेको यस भ्रमलाई तोड्नको लागि पनि लामागाउँमा वर्षेनी विराटरूपले फूटबल प्रतियोगिताको आयोजना गरिएको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया