39 लाख 46 हजार रूपियाँ-को पर्यटन उत्सव पर्यटक र दर्शक बिनै सकियो

विज्ञापन

डी.के.वाइबा, कालेबुङ 30 दिसम्बर।


पर्यटक र दर्शक बिनै कालेबुङको दुई दिवसीय पर्यटन उत्सव समापन भएको छ। गोर्खाल्याण्ड आन्दोलनले अस्त-व्यस्त बनेको पहाडमा पर्यटकहरूलाई स्वागत गर्न आयोजना गरिएको टिस्टा रङ्गीत पर्यटन उत्सवले खासै पर्यटकहरूलाई आकर्षित पार्न सकेन।

कालेबुङको मेला ग्राउण्डमा आयोजित पर्यटन उत्सव कार्यक्रमको रङ्गमञ्च अघिल्ल्तिर मानिसहरू बस्नका निम्ति राखेका रित्तो बेञ्चीहरूले पर्यटन उत्सवले पर्यटकहरू मात्र नभएर स्थानीय मानिसहरूलाई समेत आकर्षित गर्न नसकेको स्पष्टै देखिन्थ्यो।

जसले पर्यटकहरूको अभावमा पर्यटन उत्सव समाप्त भएको पुष्टि गरेको छ। जीटीएको आयोजना अनि राज्य सरकारको सहयोगितामा सम्पन्न भएको उक्त पर्यटन उत्सवमा देशी विदेशी पर्यटकहरूको कमी त थियो नै साथमा स्थानीय मानिसहरूको सहभागिता समेत न्युन रहेको थियो।

दुई दिवसीय कार्यक्रमको आज अन्तिम दिन मेला ग्राउण्डमा दिउँसोदेखि नै साङ्गीतिक कार्यक्रम सुरु भएको थियो। जीटीए अधिनस्थ सूचना एवम् सांस्कृतिक विभागका कर्मीहरूले विभिन्न साङ्गीतिक कार्यक्रमहरूको प्रस्तुति दिइरहँदा यता दर्शक दिर्घामा बस्ने अधिक्तर बेञ्चीहरू भने रित्तै रहेको थियो।

दिनभरीको कार्यक्रममा रित्तै रहेका बेञ्चीहरू साँझ ‘भानु र पाला’ नाटक प्रदर्शनी हुँदा भने भरिन थालेको थियो भने साँझका कार्यक्रममा मानिसहरूको सङ्ख्या बढे पनि पर्यटकहरूको उपस्थिति भने शुन्यप्राय नै देखियो। यद्यपी केही देशी तथा विदेशी पर्यटकहरू भने अङ्ग्रेजी गीतमा झुमिरहेका थिए।

पहाडभरि सम्पन्न भइरहेको पाँच दिवसीय पर्यटन उत्सव कालेबुङमा दुई दिनव्यापी सम्पन्न भएको हो। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा चलेको 105 दिनको लामो बन्दपछि कालेबुङको मेला ग्राउण्डमा पहिलोचोटी यस्तो भव्य कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई भव्य बनाउँनका निम्ति जीटीएले केवल दुई दिनको निम्ति 68 लाख 46 हजार रूपिया खर्च समेत गरेको छ। केवल कालेबुङकै निम्ति मात्र दुई दिवसिय पर्यटन उत्सवमा जीटीएले 39 लाख 46 हजार रूपिया खर्च गरेको छ। त्यस मध्ये पनि कालेबुङको मेला ग्राउण्डमा हुने सम्पूर्ण कार्यक्रम र सजावटहरूको निम्ति मात्र जीटीएले 30 लाख भन्दा अधिक धनराशी खर्च गरेको छ।

छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन पछि पहाडमा पर्याटकहरूको आगमनमा देखा परेको ह्रासलाई पुर्ति गर्न अनि विश्वभरिनै दार्जीलिङ पहाड स्वाभाविक बनिसकेको सन्देश दिँदै पर्यटकहरूलाई स्वागत गर्न उक्त पर्यटन उत्सव आयोजना गरेको हो। पर्यटकहरूलाई आकर्षित गर्नका निम्ति जीटीएले लाखौँ रुपियाँ खर्च गरेर कार्यक्रम आयोजना गरे पनि कार्यक्रमको लाभ उठाउनलाई भने पर्यटकहरू औँलीमा गन्न सकिने सङ्ख्यामा उपस्थित बनेका थिए।

पर्यटन उत्सवमा पर्यटकहरूलाई आकर्षित गर्नका निम्ति आयोजक पक्षले विभिन्न सांस्कृतिक कार्यक्रम संगै साइकलिङ, प्याराग्लाइडिङ, राफ्टिङ आदि साहसिक खेलहरू पनि मनोरञ्जनका लिन समावेश गरेका थिए। उक्त साहासिक खेलहरूमा पनि देशी-विदेशी पर्याटकहरूको भने जस्तो सहभागिता भने रहेको थिएन।

कालेबुङमा सम्पन्न भएको दुई दिवसीय पर्यटन उत्सवको आज अन्तिम दिन माउन्टेरिङ साइकलिङ सम्पन्न भएको थियो। माउन्टेरिङ साइकलिङ पहाडमा पर्यटकहरूलाई मनोरञ्जनका राम्रो माध्यम हुने सन्देश दिनका निम्ति आयोजित उक्त साइकलिङ कालेबुङ शहरदेखि पेदोङसम्म सम्पन्न भएको हो।

कालेबुङ शहरदेखि 21 किलोमिटर टाडामा अवस्थित पेदेङसम्म आज 31 जना साइकलिस्टहरूले माउन्टेरिङ साइकलिङ गरेका थिए। दार्जीलिङ, खर्साङ, सिलगडी अनि कालेबुङका साइकलिस्टहरूले खुबै उत्साहपूर्वक उक्त माउन्टेरिङ साइकलिङ कार्यक्रममा सहभागिता जनाएका थिए।

पर्यटकहरूलाई आकर्षित गर्नका निम्ति माउन्टेरिङ साइकलिङको आयोजना गरेपनि कार्यक्रममा एकैजना पर्यटकले पनि सहभागिता भने जनाएको थिएन। यद्यपी एकजना कालेबुङकी चेली विवाह गरेका फ्रान्स निवासी माइकल-ले भने माउन्टेरिङ साइकलिङमा सहभागिता जनाएर पर्यटकको नाक राखी दिएका छन्।

‘कालेबुङमा माउन्टेरिङ साइकलिङ हुने थाहा पाएपछि नै मैले साइकल किनेको हुँ। आज यस कार्यक्रममा भाग लिएर खुशी लागीरहेको छ। कालेबुङ मेरो ठाउँ हो भन्ने लाग्छ। मैले कालेबुङबाट विवाह गरेको कारण पनि यो ठाउँ आफ्नो लागेको हो। आज यस कार्यक्रममा पर्यटक भएर होइन कालेबुङकै छोरो भएर सहभागी बनेको हुँ’, फ्रान्स निवासी माइकलले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया