मिरिकमा मोर्चाको बैठक : ‘भाजपा इमान्दार छैन’

विज्ञापन

मिरिक, ३०दिसम्बर।


गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समिति  (बिनय तामाङ ग्रुप)को सभा मञ्जु श्री पार्कमा सम्पन्न भयो। मिरिक महकुमा अधीनस्थ पर्ने चारैवटा समष्टिलाई लिएर आयोजना गरिएको सभामा अध्यक्षता ट्रेड युनियन संयोजक बिनेश खपाङ्गीले गरेका थिए।

पार्टीको साङ्गठानिक बिस्तारसँगै शाखा प्रशाखाको गठन प्रक्रियालाई अगाडि बढाउन अनि क्षेत्रमा रहेको अभाव र समस्यालाई पुरा गर्न पार्टीले मुख्य रूपमा कार्य गर्ने बताएका छन्। सभामा पार्टीका मिरिक महकुमा समिति अध्यक्ष समिर राई, सचिव अरूण सिग्ची, २३नम्बर समष्टि अध्यक्ष अमित देवान, २३नम्बर समष्टि अध्यक्ष मिलेश राई, सौरेनी समष्टि संयोजक सुनिल प्रधानको प्रमुख रूपमा उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै पार्टी मिरिक महकुमा सचिव अरूण सिग्चीले पार्टीको बिस्तरमा मिरिक महकुमा समिति लागि परेको बताए। उनले मोर्चाले गोर्खाल्याणडको मुद्दा छोडेको छैन भन्दै भाजपा नै आज गोर्खाहरूको निम्ति इमानदार नरहेको बताए।

भाजपामा इच्छा शक्ति भएको भए राज्यको मागले पार पाइ सक्ने थियो तथापि राज्यको माग मोर्चाले बौद्धिक हिसाबले अगाडि बढाउने छ भन्दै गोर्खाल्याणड मागेका मोर्चाले हो पार पनि मोर्चाले नै लगाएरै छाड्ने बताए।

पहाडमा एघार जातगोष्ठीको जनजाति मुद्दा पनि थाँतिमा नै रहेको छ भन्दै उनले अब राज्य प्राप्तिको लागि मोर्चाले निर्णायक भूमिका निर्वाह गर्ने बताए। ‘अब बिकासको दिशामा पनि ध्यान दिनुपर्छ। मिरिक स्वास्थ्य केन्द्रको बढोत्तरी हुनेछ। सौरेनी समष्टिको मेचीमा सब सेन्टरको पनि निर्माण हुनेछ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा रहेका अभाव र समस्यालाई पनि पुरा गरिने छ।’

सभामा नारी मोर्चा युवा मोर्चा लगायतका समर्थकको उपस्थिति रहेको थियो। सभामा वक्ताहरूले बताए अनुसार आगामी २१ जनवरीमा सुकुनामा हुने बिराट जनसभामा मिरिकबाट पनि ब्यापक मात्रामा समर्थकहरूले सहभागिता जनाउनेछन्।  सभामा पार्टीको कार्य निरन्तर रूपमा अगाडि बढिरहेको र जेल बन्दीहरूलाई रिहा गर्न पनि पार्टी लागि परेको चर्चा गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया