पहाडमा जिटीएको उत्सव सकियो : दिल्लीमा जापले शुरु गऱ्यो गोर्खाल्याण्ड प्रदर्शन

विज्ञापन

दिल्लीबाट राजु भण्डारीको रिपोर्ट


जन आन्दोलन पार्टीको युवा एकाईका सयभन्दा धेर कार्यकर्ता दिल्लीमा छन्। उनीहरू उत्सव मनाउन होइन चलिरहेको संसद सत्रमा गोर्खाल्याण्डको मुद्दाबारे बहस हुनुपर्छ भन्ने माग लिएर धर्ना प्रदर्शन गर्न गएका हुन्।

‘यतिखेर उत्सव मनाउने बेला होइन, संसदसत्र चलिरहेको छ, संसदमा छुट्टै राज्य गोर्खाल्याण्डबारे बहस हुनुपर्छ, यसको निम्ति दवाब दिने बेला हो,’ खबरम्यागजिनसित बोल्दै युवा जापका प्रवक्ता नरेश राई भन्छन्, ‘सहिदको खरानी सेलिएको छैन, त्यही खरानी उडाउँदै पहाडमा जिटीएका मानिसहरू नाचिरहेका छन्। हामी त्यसरी नाच्न सक्दैनौं। त्यसकारण संसद धर्नाको लागि दिल्ली आएका हौँ।’

हिजो उनीहरूले जन्तरमन्तरबाट नाराबाजी र प्लाकार्ड प्रदर्शन गर्दै संसद चलो यात्रा गरेका थिए। जन्तरमन्तरबाट तीनसय गज अघिको पहिलो व्यारिकेड तोडेर उनीहरू दोस्रो व्यारिकेड पुगेका थिए। संसदको 2 नम्बर गेट अघि पुग्न नपाई पुलिसले उनीहरूलाई बलपूर्वक रोके। यद्धपि युवा प्रदर्शनकारीहरूले व्यारिकेड तोडे। व्यारिकेड तोड्न उमेश गजमेर, प्रसान्त तामाह, कृष्ण ठकुरी, बिजय तामाङ अघि बढेका थिए तर पुलिसले उनीहरूलाई लछारपछार गऱ्यो।

त्यसलाई पनि तोडेर अघि बढ्न खोज्दा सैयौं युवा कार्यकर्ताहरूमाथि पुलिसले लाठीचार्ज गऱ्यो। यद्धपि नाराबाजी र प्रदर्शनी उनीहरूले स्थगित गरेनन्। उत्तेजित युवाहरूलाई पुलिसले पक्राउ गऱ्यो। उनीहरूलाई मन्दिर मार्ग पुलिस थानामा रातीको 11 बजीसम्म राख्यो।

‘हामीलाई विभिन्न शर्तहरू राखेर पुलिसले 11 बजी छोडिदियो,’युवा जापका सचिव भुपेन्द्र राई भन्छन्, ‘हाम्रा धेरै साथीहरू घाइते बने। उनीहरूको ट्रिटमेन्ट गऱ्यौँ। यद्धपि आज पनि हामीले प्रदर्शनी जारी राख्यौँ।’

युवा इकाईका अध्यक्ष विरु तामाङले बताए अनुसार सातजना जाप कार्यकर्ताहरू घाइते बनेका थिए, उनीहरूमा प्रसान्त तामाङ, उमेश गजमेर, भूपेन्द्र राई, साङ्गे भोटिया, ओङदेन लेप्चा, अनुप मुखिया, नरेश राई, कृष्ण ठकुरी रहेका छन्। उनले बताए अनुसार आज पनि जन्तरमन्तरमा चार घन्टा प्लेकार्ड प्रदर्शनी भयो। तर भोलिदेखि तीनदिनसम्म संसद छुट्टि रहेकोले तीनदिनसम्म अन्य कार्यक्रम तय गरिएको छ।

‘भोलिदेखि हामी निरन्तर विभिन्न दलका सांसदहरूसित भेटघाट गर्नेछौँ,’ तामाङले भने, ‘उनीहरूलाई छुट्टै राज्य गोर्खाल्याण्डबारे जनाउनेछौँ। संसदमा आवाज उठाउन अनि उठेको आवाजमा समर्थन गरिदिने अपिल गर्नेछौं।’

नरेश राईले 5 तारिकसम्म आफूहरूले दिल्लीमा विविध कार्यक्रम गर्ने जनाएका छन्। ‘यसपालि संसदमा गोर्खाल्याण्डको चर्चा भएको हुनुपर्छ। हाम्रो प्रमुख माग नै यही हो,’उनले भने, ‘जाप छुट्टै राज्यको लागि जन्मिएको हो। छुट्टै राज्य जबसम्म हुँदैन तबसम्म हामी लड्नेछौँ।’

पहाडमा मोर्चाले बङ्गालसित मिलेर फेस्टिबल मनाउनु दुर्भाग्यपूर्ण कुरा रहेको पनि उनले बताए। ‘फेस्टिबल त छुट्टै राज्य भएपछि मनाउनुपर्छ। यो फेस्टिबलको हामी विरोध गर्छौं, बङ्गालले पर्यटन सोच्छ तर पहाडवासीबारे किन सोच्दैन। यो फेस्टिबल त 13 सहिदको उपहास हो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया