कुरा मुम्बईका/ वो सन्नी लिओनी नहीँ थी क्या?

विज्ञापन

10 नोभेम्बरमा दिउँसोको ड्युटी थियो। अराइभलको काउन्टरमा बसेर यात्रीहरू पर्खिरहेको थिएँ। मेरो ड्युटी परेको थियो दुधमुखे नानीसित हुने आमाहरूलाई इम्मिग्रेसन क्लियरेन्स दिने काउन्टरमा। यात्रीहरूको गर्दी (मराठीमा भिड़) नभएको कारण काउन्टरमा बसेर मुम्बई मिरर संवाद पत्र हेरिरहेको थिएँ।

यतिकैमा दुइजना पति-पत्नी आफ्नी छोरीलाई लिएर काउन्टरमा देखा परे। यसो हेरेको नेपालीहरू रहेछन्। नेपाली नागरिकहरूलाई सड़क मार्ग र रेलमार्ग भएर भारत भित्रिन जति सहज हुन्छ त्योभन्दा केही गारो हुन्छ हवाइमार्गबाट यता आउन। उनीहरूले डि-इम्बार्केसन फारम भर्नुपर्छ विदेसीले जस्तो।

ती दुइ दम्पती यसबारे अनभिज्ञ रहेको कारण र आफु अलिक फुर्सतमा भएको कारण सिकाउँदै, सघाइदिँदै गरेँ। खुसी भए दुवैजना अनि बाहिर निस्किने गेटसम्म गएर छोड़िदिएँ। त्यहाँबाट आफ्नो काउन्टरतिर बिस्तारै बढ़ेँ किनभने भिड़ शुन्यको बराबरी नै थियो। यतिकैमा मेरो जम्काभेट भयो प्रख्यात हास्य कलाकार सुनील ग्रोवरसित।

दुर्भाग्यवश हातमा मोबाइल नभएको कारण फोटो लिनसकिनँ तर बात गरिछाड़ेँ। मैले आफु दार्जीलिङ पहाड़को रहेको परिचय दिएर आफ्नो क्षेत्रमा गुत्थीका धेरैजना प्रशंसकहरू रहेको जनाएँ। खुसी भए उनी। मैले भनेँ, ‘सर, अभी मेरे पास मोबाइल नहीँ है बरना मैं आपके साथ एक फोटो लेना चाहता था।’

उनले यो सुनेर भने, ‘आपका नाम क्या है?’ अनि मेरो छातीमा झुन्डिएको परिचय पत्र पढ़ेर ‘ओके एचके छेत्रीजी मैँ आपका नाम याद रखुँगा। हमारा तो आनाजाना चलता रहता है। अगली बार आउँगा तो मैँ अपना मोबाइल से आपका फोटो लुँगा। अभी मेरे पास भी मोबाइल नहीँ है’ भनेर मसित अँगालो मारी एक्सिट गेटतिर गए।

यतिकैमा पर मेरो काउन्टरतिरबाट ग्राउन्ड स्टाफको आवाज आयो, ‘पाँच नम्बर में कौन है जल्दी आइये’ भनेर। हेरेको त यात्रीहरू निक्कै जम्मा भइसकेछन्। दुबईबाट आउने ईके-502 नम्बरको हवाइजहाजमा नानी बोकेका आमाबाबुहरू थुप्रै रहेछन्। म दौड़ेर आफ्नो काउन्टर सम्हाल्न पुग्दा मेराअघिल्तिर अघि नेपालबाट आएका जस्तै जोड़ी रहेछन् तर निक्कै खाइलाग्दा र सुकिला।

श्रीमान् पनि पाखुराभरि ट्याटटुले सिँगारिएका, श्रीमती पनि राम्री अनि नानीचाहिँ छोरी रहिछ कालीकाली, सानी दुइ सालकी। आमाबाबुसित पटक्कै नमिल्ने अनुहार र बदमास खालकी। मलाई काउन्टरमा ढिलो आएको बुझेर बुढ़ाचाहिँले भन्न त केही भनेनन् तर मैले बुझेँ केही झिँझट मानिरहेका थिए। मैले पासपोर्ट मागेँ – अमेरिकी पासपोर्ट र ओसीआई कार्ड रहेछ।

ओसीआई विषयमा केही जानकारी – यसको पुरा अर्थ हुन्छ – ओभरसिज सिटिजन अफ इन्डिया। कुनै पनि भारतीय विदेशमा गएर त्यहीँकै देशको रैथाने भई बसेको छ भने उसले यो कार्ड भारत सरकारबाट प्राप्त गर्नसक्छ। यो कार्ड प्राप्त गरेपछि मुख्य सुबिधा उसले के पाउँछ भने त्यसपछि उ जतिखेर पनि भारत भित्रिन पाउँछ, जति समयकालसम्म पनि रहन पाउँछ अनि जतिखेर पनि यहाँबाट बाहिरिन पाउँछ।

यसका लागि उसलाई न त भिजाको दरकार पर्दछ, न त विदेशीलाई जस्तो कुनै बन्धन र सिमा उमाथि लागु हुन्छ। तर उसले अन्य औपचारिकताहरू भने विदेशीले जस्तै निर्वाह गर्नुपर्छ। यो ओसीआई चाहिँ  एनआरआई-हरूले पाउने सुबिधा भनौँ न…। ओसीआई कार्डको बैधता पनि एकसय सालको लागि हुँदछ अथवा आजीवन जबकि अन्य भिजाहरूको धेरै हुँदैन। भिजा धेरै किसिमका हुन्छन् – भिजिट भिजा, इम्प्लोइमेन्ट भिजा, मेडिकल भिजा, स्टुडेन्ट भिजा, कन्फरेंस भिजा, डिप्लोम्याट भिजा, अफिसियल भिजा, इन्ट्री भिजा, जर्नलिस्ट भिजा, फिल्म भिजा, रिसर्च भिजा, बिजिनेस भिजा, ट्रांजिट भिजा इत्यादि।

यी सबै भिजाहरूको बैधता त्यो भ्रमणकर्ता कुन देशको नागरिक हो र कुन कारणको लागि भारतमा आएको हो त्यसमाथि निर्भर गर्दछ। तर ओसीआई कार्डधारकहरूलाई यस्तो नियम लागु हुँदैन र उनीहरू सहजै भारत भित्रिन र यहाँबाट बाहिरिन सक्छन्। भारतीय मूलका विदेशीहरूलगायत ती विदेशीहरूले पनि यो कार्ड प्राप्त गर्नसक्छन् जसको भारतसित कुनै न कुनै रुपमा कौटुम्बिक सम्बन्ध छ।

भारतमा बिहे गरेको छ भने, भारतमा उसका पितापुर्खाहरू रहेका थिए भने पनि यो कार्डका लागि आवेदन गर्नसकिन्छ विदेशबाटै। यो कार्डको महत्त्व धेरै छ यसैकारण यसलाई प्राप्त गर्न फलामकै चिउरा चपाउनुपर्छ भनिन्छ। यस्ता कार्डधारकहरूले ऐले आएर भारतमा राजनीतिक अधिकारको माग गरिरहेका छन्। मताधिकारको माग गरिरहेका यस्ता अर्द्ध-भारतीयहरूको सङ्ख्या विदेशमा खुब बढ़ेको छ हालमा। यो कार्डको पुरानो नाम हो पीओआई अथवा पर्सन अफ इन्डियन अरिजिन। पीओआई कार्ड अब सुस्तरी अचल हुनलागेको छ। आगामी 31 दिसम्बर, 2018 भित्र पीओआई-लाई ओसीआई-मा रुपान्तर गर्नुपर्ने निर्देश पनि जारी भइसकेको छ।

मैले पहिला नानीको पासपोर्ट मागेँ किनभने आमाको काखमा भएकी छोरीले काउन्टरअघि निक्कै बदमासी गर्दैथिई। यात्रीहरूको औँलाको निसानी लिने मसिन भाँचिदेली जत्तिकै गरिसकेको कारण पैला नानीको पासपोर्ट मागेर इन्ट्री गर्नथालेँ। नाम – वेबेर निसा कौर, इन्डियन, जन्मतारिख 14 अक्टोबर, 2015 पासपोर्ट नम्बर………।

त्यसपछि नानीको फोटो खिचेर क्लियर गरिदिएँ। फेरि  मैले नानीकी आमाको पासपोर्ट हातमा लिएँ। अमेरिकी पासपोर्टको साथमा ओसीआई कार्ड। नाम – वेबेर करनजीत कौर, अमेरिकी, जन्म तारिख 13 मई, 1981। त्यसपछि नानीकी आमाको फोटो खिच्नुपर्ने भयो।

‘मेडम, प्लिज लुक एट क्यामेरा’ भनेर फोटो पनि खिचेँ। त्यतिन्जेलमा नानीले काउन्टरअघिका सरकारी सामानहरू लथालिँगै पार्नथालिसकेकी थिई। मैले, ‘म्याडम, प्लिज लेट हर नट टच इलेक्र्टोनिक डिभाइसेस’ भन्दा झर्को मान्दै मलाई ‘सरी’ भनिन् अनि नानीलाई ‘बेबी, प्लिज डोन्ट’ भनेजस्तो गरिन्।

त्यसपछि हात र पाखुराभरि टटटु भएको श्रीमानको पालो आयो र इन्ट्री गरेँ – नाम वेबेर डेनियल, अमेरिकी, जन्मतारिख 20 अक्टुबर 1978। अनि पासपोर्ट र बोर्डिङ पास थमाएर छुट्टी दिएँ।

उनीहरूलाई छुट्टी दिइसकेपछि टाउको यसो उठाएर हेर्दा चारैतिर अन्य काउन्टर अफिसरहरू, ग्राउन्ड स्टाफहरू साथै सुरक्षामा खटिरहेका अर्द्धसैनिक बलका युवकयुवतीहरू बराम लागिरहेका थिए। मैले सोचेँ आज फिल्मस्टारहरूको आवागमन निक्कै बढ़ेको छ त्यसैले उनीहरूले कसैलाई देखेर हेरेका होलान् भन्ने। यति सोच्दै म आफ्नै धुनमा फेरि अन्य यात्रुहरूलाई क्लियर गर्न लागेथेँ पछिल्तिरबाट अघिकै ग्राउन्ड स्टाफ आएर – ‘छेत्री साब, आपका तो आज चाँदी हो गया न… ’ भन्यो।

म त छक्कै परेँ, ‘किन?’ भनेर सोधेको ‘क्या बात करतें हैं…. ऐसे बोलते हो कि कुछ पता ही नहीँ….’ भन्यो। मैले भनेँ, ‘सचमुच कुछ मालुम नहीँ, क्या हुआ….?’ म त अरू नै कुराहरू होला भनेर सोच्दैथे। ‘अभी अभी आपने किसको क्लियर किया? ज्यादा बनिए मत….’ भन्यो फेरि। मैले ‘कौन थे वो लोग?’ भन्दै ती दुइ दम्पतीतिर हेर्नथालेँ – उनीहरूले एक्जिट गेटको बाटो काटिसकेका थिए।

‘क्या बात करते है आप…. वो सन्नी लिओनी नहीँ थी क्या? अरे लोगों की भिड़ लगी हुई थी…..’

म छक्क परेर भर्खरै गएका यात्रुहरूको सुची फेरि एकपल्ट नियालेर हेर्नथालेँ साँच्चै हो रहेछ – करनजीत कौर।

सबैले टाढ़ाबाट नियालेर हेरेको सन्नी लिओनीलाई मैले आफुभन्दा केवल छ ऐँची नजिकमा पनि राम्ररी चिन्न सकिनँ …. अनि आफैलाई एकपल्ट धिक्कारेँ – थुक्क म।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया