सञ्जीवनी स्वनिर्भर समूहको सभा सम्पन्न

विज्ञापन

सजन शर्मा/सुके-पोख्रेबुङ, 31 दिसम्बर: सञ्जीवनी स्वनिर्भर समूह राङभाङ बालसन अञ्चल पोख्रेबुङको सभा द बूक थीप ओपन लाइब्रेरी नागरी फार्ममा पीआर सुब्बाको अध्यक्षतामा आइतवार सम्पन्न गरियो। कोषाध्यक्ष पीबी मुखियाले सञ्चालन गरेको सभामा समूह अध्यक्ष आरपी बानुछा, आसमान चौहान, एनडी राई, पीके प्रधान, अवकाश राई, हिरण राई, अमीर राई तथा अन्यको उपस्थिति रहेको थियो।

सभामा पूर्व निर्धारित योजना अनुसार दार्जीलिङ पहाड़ी भेगमा पाइने जड़ीबुटी केन्द्रित सामायिक पत्रिका प्रकाशनबारे गहन चर्चा परिचर्चा भयो। लामो चर्चा-परिचर्चापछि उक्त पत्रिकाको नाम सञ्जीवनी राखिने प्रस्ताव ग्रहण गरियो। सम्पादक मण्डलीमा पीबी मुखिया, आरपी बानुछा, सचिव मोहन प्रधान, आसमान चौहानलाई चयन गरियो भने पीआर सुब्बालाई व्यवस्थापक बनाइएको छ।

पत्रिका प्रकाशनको दायित्व सञ्जीवनी स्वनिर्भर समूहले लिएको छ जसमा कतिपय कागजी कामकाजको जिम्मेवारी पीके प्रधानलाई सुम्पिइएको छ। समूहका अन्य सदस्यगणलाई उपसमिति कार्यकारी सदस्यको रूपमा राखिएको छ। पत्रिका प्रकाशन गर्न लाग्ने लागतको व्यवस्थापन समूहका सदस्यगणले गर्ने भएका छन्।

तथापि जीटीए व्यवस्थासित यसबारे सम्पर्क गरिने तय भएको छ। यसको निम्ति हिरण राई अनि अमीर राईको अगुवाइमा पहल शुरू गरिने निर्णय लिइएको छ। पत्रिका मोठ एकसय पचास पृष्ठसम्मको प्रकाशन गरिने छ। पत्रिकालाई समूहको उदाहरणीय दस्तावेजको रूपमा प्रस्तुत गर्दै शोधार्थीहरूको निम्ति उपयोगी ग्रन्थको रूपमा कामलाग्ने परिपाटीमा प्रकाशित गरिने निर्णय लिइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया