लभुको पोयट्री लभ

विज्ञापन

साताको चर्चित


घरमा सबैले लभु भन्छन्। गाउँमा अहिले चलेको नाम भन्यो भने कसैले चिन्दैन। सबैले लभु नै भनेर चिन्छन्। यहाँसम्म कि आफ्नी प्रियसीले समेत।

अहिले यी लभुको पोयट्री लभ अचानक देखिनेगरी अघि आइरहेको छ।

नेपालका आलोचक अभि सुवेदी ‘चियापत्तिको झोल’ सुनेर मक्ख परेछन्। उनले कान्तिपुरमा लेखेको एउटा लेखमा यताबाट आशा गरेका नयाँ पुस्ताका कविहरूको सूचीमा उनैको नाम थियो।

कुनै बेला राजनीतिको भूत चढेको थियो। तर प्रियसीले त्यो भूत खेदाइछन्। प्रियसीलाई आफ्ना प्रियेले राजनीति गरेको मन परेन रे। आमा र बाबाको प्यारो छोरो, दोकानपाट सम्हाल्दिनु उसको कामै थियो। तर त्यतिले उनलाई नपुग्ने। केही गरिरहनुपर्ने।

‘गोर्खा’, यो एउटै शब्द हो, जसको डाइहार्ड फ्यान हुन्। यही शब्द-लाई अघि लगाएर राजनीति गरिहिँड्थे। पछि यही शब्दलाई सामाजिक संस्थासित जोडेर पनि काम गरे।

राजनीति गर्दै गर्दै जेल पनि परे। हाजिदमा बस्दा पनि उसलाई ‘गोर्खा’ शब्दले पिछा छोडेन रे।

पछि उनलाई राजनीतिमा आफू फिट हुन्छु भन्ने कन्फिडेन्ट नै हराएछ।

‘काँचो विचार थियो, पट्ठो हिम्मत थियो, जे पनि गर्न सक्छुजस्तो लाग्थ्यो,’ भन्छन्, ‘तर त्यो उर्जा राजनीतिले विना प्राप्ति निल्ने रहेछजस्तो लाग्यो, राजनीति छोडिदिएँ।’

राजनीति छोडेर त्यसै बरालिन्थे। दैनिकरूपमा डम्बरचोकमा उभिने ड्युटी नै थियो।

त्यही उभेर हेर्ने मानिसका रङहरू।

एकदिन दिमागमा केही चल्यो। लेखे-डम्बरचोक।

जीवनको पहिलो कविता त्यही थियो।

‘कविता लेखिसकेपछि कसैलाई न कसैलाई सुनाउनै पर्ने विधा रहेछ, कविता लुकाएर राख्ने विधा नै होइन रहेछ,’ खबरम्यागजिनसित गफिए कवि, ‘मैले फोनको रेकर्डरमा त्यो कविता दुइजनालाई पठाएँ। एउटा साथी रुवेनलाई, अर्को प्रियसीलाई।’

उनको प्रेयसीको नाम नभनिहालौं।

‘उसले खुब मन पराई र ‘उप्रान्त कविता लेख्नु तर राजनीति नगर्नु’ भनेर फर्मान जारी गरी,’ कुरा खोले, ‘तर रुवेनले गर्नु गरिदिए।’

रुवेनले वाट्सएपमा भएका जम्मै साथीहरूलाई कविता हालदिएछन्।

कविता भइरल।

राजनैतिक कार्यक्रम पनि यही चौक मै हुन्छ

अराजनैतिक कार्यक्रम पनि यही चौक मै हुन्छ

धार्मिक कार्यक्रम पनि यही चौक मै हुन्छ

कहिले काहीँ डम्बर चौक धेरै रुन्छ

 कविताको एउटा अंश यस्तो छ। अहिले नयाँ पुस्तामा पप कविता चल्ती छ। तुक्का मिलायो, मुट्ठी उठयो र ठोकिदियो कविता। आफू पनि त्यही कल्चरमा हुर्किएको स्वीकार्छन्।

‘तर मेरो कविता बिस्तारै पप-बाट छुट्टिएर गइरहेछ, यसको कारण राम्रा कविहरूको सङ्गत नै हो,’ अहिले भन्छन्, ‘अचेल कवितालाई गम्भीर एक्सरसाइजकोरूपमा विकास्दैछु।’

अहिले यसो भन्ने कवि हुन्, -विक्की थापा।

जो धमारी-2017-का बिजेता हुन्।

डम्बरचोक-त्यही पप कविता थियो। जो यति धेर भाइरल बन्यो कि विक्कीमा कवि बन्ने भुत चढ्यो। अनि त्यो भुत प्रेमिकाले खुब मन पराइदियो। प्रेमिका जीवनमा ठूलो उर्जा त हुँदै हो र विक्कीलाई आमा-बाबा र प्रेमिकाबाट कवि हुनको लागि बराबर उर्जा प्राप्त हुन्छ।

डम्बरचोक सुन्नेहरू हजारौँ थिए।

पछिपछि उनलाई विक्की भनेर नचिन्ने तर डम्बरचोक-का कवि भनेर चिन्नेहरूको सङ्ख्या बढोत्तरी हुँदै गएछ। त्यसपछि रुवेनले नै आइफोनबाट उनले कविता वाचन गरिरहेको भिडियो फेसबुकमा सार्वजनिक गरिदिए। त्यसपछि मात्र उ डम्बरचोकको कविबाट विक्कीमा फर्किए।

विक्कीले कविता लेखेको दुइवर्षजस्तो मात्र हुँदैछ। धेरै भनेको 15 वटा कविता लेखेका छन्। ती मध्ये 8-10 वटा अत्याधिक रुचाइएका कविताहरू छन्।

एउटा कविता छ,- भोट कसलाई दिने?

विधानसभा चुनाउ नजिक थियो। गोर्खा जनमुक्ति मोर्चा र जन आन्दोलन पार्टीबीच खुब प्रतिस्पर्धा चलिरहेको थियो। विक्कीलाई लाग्थ्यो, भोट उसैलाई दिउँ, जो इमान्दार छ।

चुनाउ छेक भाइरल बनेको त्यो कविताले आम फ्लोरमा विक्कीलाई अझ चिनायो।

‘इन्डाइरेक्ट धम्कीहरू आउन थाल्यो। मैले कुनै दललाई होइन ‘राजनैतिक इमान्दार’-का पक्षमा जनतालाई एजुकेट गर्न खोजेको थिएँ, तर ती दलका क्याडरहरूलाई त्यो मन परेन,’ विक्की खुलाउँछन्, ‘मलाई कविताको शक्तिबारे त्यतिखेर थाहा भयो। धेरै भोट-मा मेरो कविताले असर पाऱ्यो।’

विक्कीलाई कोठामा बसेर कल्पना गरेर लेख्ने कुरा कविता होजस्तो लाग्दैन। कम्युनिष्ट पार्टीहरूले काङ्ग्रेसजस्तो क्यापिटलिस्ट दलसित हात मिलाएरपछि ‘थुक्क कमरेड’-लेखे।

विरामी भाइलाई लिएर एउटा नर्सिङ होम पुगेपछि डाक्टर र नर्सिङ होमहरूले विमारी-माथि गरेको व्यापार देखे र नर्सिङ होमलाई ‘गरिबहरूको लागि श्मसान’ भन्दै कविता लेखे।

साथीसित गोल्मा चियाबारी घुम्नजाँदा श्रमिकहरूको दुःखले पिरोलिए र ‘चियापत्तिको झोल’ लेखे।

2012 को आन्दोलनमा कसले हो वाहनमा आगो झोस्यो। बजारमा दुध विचेर फर्किएका किसान बाजेलाई पुलिसले पक्रिएको देखेर लेखे ‘जजसाब’।

सेभोकमा खाना खान उत्रँदा होटलमा बालश्रमिकहरूलाई देखेपछि लेखे ‘म डल्लु।’ यही कविताले 2017-को धमारी प्रतियोगिता पनि जिते।

आफू बिजेता भएपछि फेसबुकमा स्टाटस लेखे-

यसपालि धमारीको थिम बालश्रमिकहरूको जीवन र सङ्घर्षमाथि रहेको सुनेपछि मेरो आँखामा धेरैवटा यस्ता बालश्रमिकहरूको अनुहार आयो। उनीहरूको सपना, जो केही पैसा र खाली पेट भर्न सङघर्ष गर्दैगर्दै मरिपठाउँछ। 
म उनीहरूको दुःख लेखेर वाहवाही बटुल्न चाहन्न। चाहेको पनि होइन। तर उनीहरूसित पनि जीवन छ, उनीहरूसित पनि सपना छ। उनीहरूले पनि मानिस हुन पाउनुपर्छ। उनीहरूले पाउनुपर्ने अधिकार उनीहरूले नै पाउनुपर्छ, यी कुराहरू सोचेर मैल डल्लुको सङ्घर्ष कवितामा उतारें।
डल्ली ती तमाम बालश्रमिकहरूका प्रतिनिधि पात्र हुन्। म यो पुरस्कार सम्पूर्ण डल्लुहरूलाई समर्पण गर्न चाहन्छु।

विक्कीलाई लाग्छ, कवितामाथि आफूले काम गर्न धेरै छ। सबैभन्दा पहिले त राजा पुनियानी, मनोज बोगटी, टीका भाइ, पवित्र लामाहरूको जेनर केलाएर आफ्नो जेनर तयार पार्नु छ। अलग्गै टेक्स्ट, फर्म र स्टाइल खोज्नु छ।

आफै स्वीकार्छन्, ‘आजका युवा पुस्ताका कविहरूबाट म धेरै प्रभावित छु।’

सिलगडी कलेज पढ्दैगर्दा साथी थियो -पल्लव। पल्लव कविता लेखिबस्ने। तरै पनि विक्कीलाई आफू पनि कविता लेख्छुजस्तो लाग्थेन।

विस्तारै आफू कवितातिर लहसिन्छु भन्ने कुरा नै थाहा थिएन।

तर पाठक, श्रोताहरूले कविता मन पराइदिन थाले। कन्ठस्थ कविता मञ्चमा सुनाउने विक्कीले कविताबाटै पुरस्कार पनि जित्न थालेपछि कवितालाई नै ध्येय बनाउने विचार पलाउन थालेको रे।

‘थोरै कविता लेखेँ, पाउनुपर्ने चर्चा पनि पाइरहेको छु,’ भन्छन्, ‘तर अब सिरियस्ली काम गर्नुपर्ने बेला आइसकेको छ।’

अध्ययन समितिले गरेको प्रतियोगितामा पनि पुरस्कार जिते। दार्जीलिङ लिटरेचर फेस्टिबलमा पनि पुरस्कार जिते। धमारी पनि जिते। दिल्लीको साउथ एसियन युनिभर्सिटीले गरेको अन्तराष्ट्रिय कविता उत्सवसम्म पुगे। हरिद्वारबाट पनि कविता भन्ने निम्तो आयो। सानातिना मञ्चका त हिरो नै हुन्। ठूला मञ्चमा पनि वाचनकला र कविताको विषयले छाप छोडिराख्छन्।

विक्की पर्फर्मिङ पोएट हुन्।

नेपालका आलोचक अभि सुवेदीको धाप पाएछन्। 2016 को धमारीमा पनि कविता सुनाएका थिए। पुरस्कार त जितेनन् तर वरिष्ट कवि मनप्रसाद सुब्बाको धाप पाएछन्। यसपाली पनि वरिष्ट कवि राजेन्द्र भण्डारीले उसैगरी धाप मारिदिएछन्।

ठूला कविहरूको धाप पाउँदा विक्कीलाई कविताबाट म केही भन्न सक्दोरहेछु भन्ने आत्मविश्वास पलाएको छ रे।

पल्लव, प्रभात राई चिसो, खुशवु पाखरिन, कृतिका दाहाल यस्ता धेरै साथीहरू छन्, जोसित विक्कीको कविता संसर्ग छ। उनीहरूसित कुराकानी हुँदा पनि आउँदोपुस्ताले आफ्नै भाष्यको खोजी भइरहेको लाग्छ रे।

‘आजका यङ जेनेरेशनलाई कवितामा तान्ने भाषा, विषय र शैली निर्माण गर्नुपर्ने चुनौती हामीलाई छ,’ भन्छन्, ‘यो चुनौतिको सामना गरिएन भने हामी हराउनेछौँ।’


विक्कीका चर्चित तीन कविता


चिया पत्तीको झोल

दुःख गर्छस्, कष्ट गर्छस्, महेनत गर्छस्

टनटनापुर घाम नभनी

बर्खाको पानी नभनी

पत्ति टिप्छस्

तैंले टिपेको पत्तीबाट बनिएको

राम्रो क्वालिटीको चिया पत्ती

दार्जीलिङको बस हुँदै

कोलकत्ताको ट्रेन हुँदै

दिल्लीको हवाई जहाज हुँदै

स्विट्जरल्याण्ड पुग्छ।

 

तर तैंले बोकेको टोकरीबाट झरेको पत्ती

तेरो झोलामा पस्छ

अनि तेरो झोपडीभित्र पुग्छ

त्यही पत्तीले बनिएको चिया

तेरा नानीहरूले मिठ्ठो मानेर पिउँछन्

घिचा तेरा नानीहरूलाई चिया पत्तीको झोल घिचा

घिचा तेरा बाऊहरूलाई

फर्स्ट फ्लस।

 

निधारमा  126 रूपियॉँको सट्याम लगाएर

छात्तीमा ठूलो सपना सझाएर

खुट्टामा कालो गम्बूट लगाएर

ढाँड़लाई टोकरी र झोलीले सजाएर

तँ कहाँ गा’को

त्यहीँ त होला जहाँ तँ

तेरा नानीहरूको भाग्य टिप्छस्

तेरा सन्तानका भाग्य लिप्छस्

कि पत्ती टिप्छस्?

 

तेरो जिन्दगी चियाको बुट्टामा अलझिएको छ

तेरो भाग्य चियाको बोटको जराभित्र भासिएको छ

तेरा आशाहरू सबै दशैँको बोनससितै टाँसिएको छ

तेरा भरोसाहरू पनि आज तँदेखि आतिएको छ।

 

कालो बिरालोले बाटो काटे झैँ

चियाको बोटहरूले तेरो नानीहरूको भाग्य काट्‌दै छ

सपनामा सेतो घोड़ामा चढेको देखेझैँ

विपनामा तेरा मालिकहरू

सेतो मर्सिडीजमा चड़्दैछन्

 

इतिहासमा राजाहरू

राज्यको लागि लडे झैं

नेताहरू कमिशन पाउन

तेरो लागि लड़्दैछन्

त्यही लड़ाईँले गर्दा

तेरा नानीहरूको सपना

यहाँ जिउँदै मर्दैछ

म्यानेजर बाबुको त के कुरा गर्नु र

घरमा बसेर अफ्ना स्वास्नीसित 

तेरै कुरा गर्दै छन्।

 

कति सेवा गर्छस्

च्यापु हल्लाउनको लागि

कति हेपिएर बस्छस्

चुला जलाउनका लागि

कति थिचिएर बस्छस्

लुगा लगाउनका लागि

कति अन्याय सहन्छस्

पर्जापट्टा आफ्नो बनाउनको लागि।

 

इमान्दर भएर दिनभरि काम गर्छस्

त्यही कामले गर्दा खानू नपाएर मर्छस्

आधा पेट खाना आएर

सपनामा मस्त निधाएर

तँ यो संसारमा कतिदिनसम्म बॉंच्छस्?

मनमा पिरको पोका बोकेर

हाँसोलाई आँशुभित्र खोजेर

तँ यो संसारमा कहिलेसम्म हॉंस्छस्?

 

जाग अब

चियाको पत्ती टिप्नेहरू

भाग अब

कोलक्तामा पैसा गन्नेहरू

जाग अब

चियाको बोटलाई भगवान मान्नेहरू

भाग अब

तेरो भवनासँग राजनीति गर्नेहरू।

 

तेरो चियाको बोटमा तलाई

तेरो सन्तानको पसिना मात्र गनाउँछ

तर तेरो चियाको बोटमा मलाई

धानको बास्न आउँछ

उखाल् तेरो चियाको बोटलाई उखाल्

चियाको बोटलाई उखालेर धानको बिऊ हाल्।

 

तेरा सपनाहरू सबै तैंले नै मार्नू पर्छ

तेरो लड़ाई अब तैंले नै लड़्नु पर्छ

फ्याउरी,  दाँते,  हलो चलाएर

चिया बगानलाई खेत बनाएर

साग सब्जीहरूले बारीलाई सजाएर

दशैँमा पनि धानको चामलको टिका लगाएर

नयाँ जीवन बाँच्नु पर्छ

खुल्ला मनले हाँस्नु पर्छ।

 

तब तेरो मालिक कोलकत्तामा बसेर रोएको हुनेछ

तेरो सानो मालिकले बिहानको साइरन नै नब्जी

तेरो झोपड़ीको दैलो ढक ढकाएको हुनेछ

तेरो आँखा अघि तेरो मेडम

चिच्याएको हुनेछ। कराएको हुनेछ। बौलाएको हुनेछ।

 

चियाको बोटले होइन धानको खेतीले

तेरो सन्तानको भाग्य बनाएको हुनेछ।

चियाको बोटले होइन तेरो सोचले

तेरो नानीहरूले स्वतन्त्र जीवन पाएको हुनेछ।

चियाको बोटले होइन तेरो सङ्घर्षले

नयाँ बिहान उदाएको हुनेछ।  


म डल्लु

मेरो जिन्दगीको कथा

स-बाट शुरु हुन्छ र स-बाट नै समाप्त हुन्छ

अर्थात

सडकबाट शुरु हुन्छ र साहु-मा नै समाप्त हुन्छ।

 

हो, मेरो जिन्दगीको कथा

जिन्दगीसम्म नपुगी समाप्त हुन्छ।

 

मेरा बाबाआमा को होलान्, मलाई नै थाहा छैन

मेरो घर कहाँ होला, मैले कहिल्यै सपनामासमेत देखेको छैन

मैले भगवानलाई त

होटलको गल्लामा टाँसिएको पोष्टरमा देखेको हुँ

जिन्दगी कुन रङको हुन्छ?

मैले बुझेको छैन।

 

मेरो बिहानी त जुठा भाँडाहरूसित उदाउने गर्छ

मेरो रात थाकेका आँखाहरू ओडेर निदाउने गर्छ

निदाउने गर्छ। हो निदाउने गर्छ

हो, म निदाएपछि नै

यो संसार बद्लिने गर्छ।

 

मलाई पनि स्कूल जाने रहर छ

मलाई पनि जिन्दगी बनाउने रहर छ

मलाई पनि सपना सजाउने रहर छ

मलाई पनि भाग्य बनाउने रहर छ

तर म पढ्ने स्कूलमा त केवल जुठा भाँडा, झुम्रो, कसिङ्गर र कष्टमर छन्

ब्लाकबोर्ड, गुरु, चक, बेञ्च, किताब, पेन्सिल, साथी र डस्टर छैनन्

 

कस्टमरले छोडेको जुठो थाल

यही हो मेरो जिन्दगीको हाल।

 

मेरो सपना

साहुको घरमा पालेको कुकुर हो

मेरो भाग्य

यो होटलमा बज्ने कुकर हो।

 

कखगघ-को गीत मैले सुनेको छैन

ए फर के हो ? अलच्छिन?

बि फर के हो, बजिया?

मैले बुझेको छैन

सपिङ मलमा मैले लगाउने कट्टु पाउँछ कि पाउँदैन?

सपिङ मल कहिल्यै देखेको छैन

आफ्नो नाम लेख्ने पेन्सिल मैले भेटेको छैन

भेटेको छु भने केवल घाँटीको टन्सिल भेटेको छु

 

भान्साघरमा जल्दै गरेका आगो झैं जल्छन् मेरा भरोसाहरू

काटेर झुण्डाइएका यी मासुका सिलाहरूजस्तै काटिन्छन् मेरा आशाहरू

होटलको टेबल पुच्छदापुच्दै च्यातिएको झुम्रो जस्तै

च्यातिँदैछन् मेरा विश्वासहरू

बेसनमा थुप्रिएका मैलासितै बग्दैछन् मेरा आँखाका आँशुहरू

 

मैले गरेको दुःख साहुको गल्लामा पैसा बनेर छिर्छ

मेरा पसिनाका थोपाहरूले साहुको तिर्खा मेटाउनेगर्छ

मैले गरेका त्यागहरूले

साहुको पेट लाग्छ

मैले देख्ने सपनाहरूमा

साहुको रेट लाग्छ।

एउटा गिलास फुट्नु अर्थात देशद्रोही हुनु हो मलाई

टेबल मैला हुनु अर्थात आतङ्कवादी हुनु हो

 

म सुत्ने खाटमा

हरेक रात मेरो आत्मा रुने गर्छ

मैले ओढ्ने कम्बलले हरेक रात मेरा सोचहरूलाई छोप्ने गर्छ

मैले खाने अन्नहरूले

मेरो साहुलाई निरोगी बनाउँछ

मैले पिउने चियाले

साहुको जीवनमा नयाँ उर्जा भर्छ

म मरिहालें भने मलाई केही हुन्न

तर साहुलाई धेरै धेरै धेरै फरक पर्छ

किन भने उसलाई घाटा पर्छ।

 

म पनि डाक्टर बन्न चाहान्छु

गरीबको सेवा गर्न चाहन्छु

संविधानको किताबभित्रबाट

गणतन्त्रको सास फेर्दै जिउँदै मर्दै गरेका म झैं डल्लुहरूलाई

स्वतन्त्र जीवन दिन चाहान्छु

हुरी बताससितै उड्दै गरेका डल्लुहरूलाई

म चट्टान भएर रोक्न चाहन्छु

आँखा खुल्लै राखेर सपना देख्दै गरेका डल्लुहरूलाई

म विपनामा ल्याउन चाहन्छु

जिन्दगीदेखि निदाई सकेका डल्लुहरूलाई

फेरि एकपल्ट म व्युँझाउन चाहन्छु

म पनि केही गर्न चाहान्छु

 

तर

मेरो जिन्दगीको कथा त

स-बाट शुरु हुन्छ र स-बाट नै समाप्त हुन्छ

अर्थात

सडकबाट शुरु हुन्छ र सन्तोष होटलमा नै समाप्त हुन्छ।

 

हो, मेरो जिन्दगीको कथा

जिन्दगीसम्म नपुगी समाप्त हुन्छ।


जजसाहेब

केस नम्बर १९०

लीलाबहादुर शर्मा

हाजिर हो…..

 

जजसाहेब म जे पनि भन्छु

सत्य कुरा भन्छु

सत्य बाहेक केही पनि भन्दिन

 

तिमी त्यस दिन गर्दै थियौँ?

 

जजसाहेब

म त किसान हूँ

म त बिहान नै त्यसदिन

सात माइल दूध पुऱ्याउन गएको थिएँ।

मैले बोकेको क्यानमा

दस लिटर दूध थियो।

 

दूध बोक्ने क्यान

बन्दुक होइन जजसाहेब

यो हाथमा लागेको गोबर हो

बारूद होइन

 

म निर्दोष छु

मलाई न्याय होस् जजसाहेब।

 

त्यस अघि तिमी के गर्दै थियौँ ?

 

जजसाहेब, म त

कुखुराको खोरको लागि

चोया कात्तै थिएँ

कसैलाई मार्न हतियार उद्याइरहेको थिइनँ

जजसाहेब, म त

दूध, दही, अण्डा बेचेर जीविका चलाउँछु

बम, बन्दुक बारूद बेचेर होइन

म निर्दोष छु

मलाई न्याय होस् जजसाहेब।

 

तिमीले किन गाड़ी जलायौ?

 

जजसाहेब,  म त

बिहानै उठेर देवथानमा दियो जलाउने गर्छु

साँझ परे पछि कोठामा धिब्री जलाउने गर्छु

बेलुकी भएपछि भात पकाउन

चुलामा दौरा जलाउने गर्छु

जाडो भगाउन अङ्गेटी जलाउने गर्छु

गाउँ स्वच्छ होस् भनेर कहिले काँही

घरअघिको फोहर-कसिङगर जलाउने गर्छु

 

मैले किन गाड़ी जलाउनु? जजसाहेब

म निर्दोष छु

मलाई न्याय होस् जजसाहेब।

 

यो घटना गराउने मास्टरमाइन्ड को हुन भन्?

 

जजसाहेब

कुन घटना, कस्तो घटना?

 

बाह्र बर्षको उमेर हुँदा, बुबाले साथ छाडेर गए

चौँध बर्षको उमेर हुँदा, आमाले हाथ छाडेर गइन्

मेरो जिन्दगीको घटना भनेको त यही हो

तपाईँ कुन घटनाको कुरा गरिरहनुभएको छ, जजसाहेब?

 

मेरा यी सारा घटनाका मास्टरमाइन्ड त

सायद मेरो भाग्य नै होला

सायद मेरो गरिबी होला

 

म निर्दोष छु

मलाई न्याय होस् जजसाहेब।

 

तिमीलाई साथ दिने को-को थिए, नाम भन?

 

मलाई कसले दिन्थ्यो र साथ जजसाहेब?

मलाई त मेरो भाग्यले साथ छोड़ेर गयो।

मलाई त मेरै सपनाले साथ छोडेर गय

मलाई त मेरै जीवनले साथ छोडेर गयो

मलाई त मेरै यौवनले साथ छोडेर गयो

मलाई कसैले साथ दियो भने

त्यो छाना चुहुने झोपडी थियो

दुइवटा गाईँ अनि बाह्रवटा कुखुरा थियो।

पसिना थियो र हातमा उठेको ठेला थियो, जजसाहेब।

म त निर्दोष छु

मलाई न्याय होस् जजसाहेब।

 

तिमी कुन पार्टीको हो र कुन झण्डासित संलग्न छौँ ?

 

म त भारत भन्ने पार्टीको हुँ जजसाहेब

भारत कै नागरिकता भएको

गोर्खा भन्ने जातिको हुँ

15 अगस्त र 26 जनवरीको दिन

मेरो घरअघि चौबिसवटा रेखा भएको

तीन रङ्गे झण्डा फहरिने गर्छ

टिभिमा होस् या कुनै कार्यक्रममा

राष्ट्रिय गीत जब बज्छ

मेरो मरिसकेको शरिरमा पनि नयाँ उर्जा भरिन्छ

मेरो निदाईसकेको जीवनलाई नयाँ सपनाले बिझ्याउँछ

जजसाहेब

म त यही तीन रङ्गे झण्डासित संलग्न छु।

 

म निर्दोष छु

मलाई न्याय होस् जजसाहेब।

 

तिमी निर्दोष रहेको के प्रमाण छ, भन ?

 

हो, जजसाहेब म निर्दोष छु

तपाईँका हरेक प्रश्नहरू नबुझेर लोलाएका यी आँखा पढ्नुस्

तपाईँका हरेक शङ्कहरू नबुझेर ढुक्ढुकिएको मुटु पढ्नुस्

कि त हातमा लागेको गोबर सुँघ्नुस्

कि त हत्केलामा फुटेका ठेला छाम्नुस्

तपाईँभित्र सानोठूलो कुनै मान्छे छ भने

त्यसलाई जगाउनुस् र मसित आँखा जुझाउनुहोस्

 

म त जजसाहेब

मान्छे बँचाउने किसान हुँ

मान्छे मार्ने पिशाच होइन।

 

म निर्दोष छु

मलाई न्याय होस् जजसाहेब।

नेक्स डेट सात अगस्त २०१७।


फोटोः विपल रसाइली                     

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया