गोजमुमोले निकाल्यो प्रतिवाद जुलूस

विज्ञापन

गोजमुमोले मन्त्रीको बयानलाई तोड़मोड़ गर्दैछः तृणमूल


  • मोहन लामा, दार्जीलिङ, 6 मई/2017

राज्यका मन्त्री इन्द्रनील सेनको बयानको दार्जीलिङमा चौतर्फी विरोध शुरू भएको छ। यसैको विरोधस्वरूप आज गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङमा प्रतिवाद जुलूसको आयोजना गरेको थियो भने यसै क्रममा पार्टीले मन्त्री सेन विरूद्ध दार्जीलिङ सदर थानामा एक एफआईआर पनि दर्ता गरेको छ। यसबारे गोजमुमो सहसचिव विनय तामाङले भने-राज्यका एक दायित्वशील मन्त्री इन्द्रनील सेनले गोर्खे नेता विमल गुरूङ, रोशन गिरी अनि दार्जीलिङका 32 वटा वार्डबाट खड़ा भएका गोजमुमो प्रार्थीहरुको विरोधमा जुन वक्तव्य दिए, त्यसले देशभरिका गोर्खा समुदायमा आक्रोस छाएको छ।

यसैले मन्त्री सेनको विरोधमा आज गोजमुमोले दार्जीलिङ सदर थानामा एक एफआईआर दर्ता गरेको छ। उनले गोर्खा जातिलाई आघात पुग्ने जुन बयान दिएका छन्, त्यसमाथि पुलिसले निष्पक्ष बनेर कार्वाही गर्नुपर्छ। यसका साथै उनले मन्त्रीको बयानको विरोधमा चुनाउ आयोगसमक्ष पनि उजुरी गर्ने चेताउनी दिए। उनले भने-यसै वर्षको जनवरी महीनामा देशको सर्वोच्च न्यायालयले कुनै पनि नेता अनि उम्मेद्वारहरुले कुनै पनि जातिलाई आघात पुग्ने वक्तव्य नदिने निर्देश दिएको थियो, तर आज तृणमूल कंग्रेस नेता एवं मन्त्री इन्द्रनील सेनको वक्तव्यले सर्वोच्च न्यायालयको निर्देशको पनि उल्लंघन भएको छ। उनले भने-गोजमुमो अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी अनि 32 जना गोजमुमोका उम्मेद्वारहरुका लागि 6 फीटको स्टीलको बाकस ल्याएको छु भन्नुको अर्थ के हो? यसप्रकारको वक्तव्यले सम्पूर्ण गोर्खा समुदायलाई आघात पुगेको छ, यसैले आज चारैतिर मन्त्रीको बयानको विरोध भइरहेको छ।

यसरीनै गोजमुमो महासचिव रोशन गिरीले पनि मन्त्रीको बयानको विरोधमा राष्ट्रिय चुनाउ आयोगसमक्ष पनि उजुरी गर्ने चेताउनी दिएका छन्। यसरीनै आज मन्त्रीको बयानको विरोधमा गोजमुमोका सम्पूर्ण भ्रातृ संगठनहरू पनि अघि आएका थिए, जसमा नारी मोर्चा, युवा मोर्चा, जनमुक्ति अनअर्गनाइज्ड सेक्टर लेबर्स युनियन पनि सामेल छन्।  मन्त्रीको बयानको विरोध गर्दै गोर्खा जनमुक्ति नारी मोर्चा नेत्री आशा गुरूङले पनि पनि भनिन्-दार्जीलिङका 32 जना गोजमुमोका प्रार्थीहरुलाई दार्जीलिङबाट बाहिर खेद्छु भन्ने मन्त्रीले आफ्नो परिचय दिएका छन्। यसलाई सम्पूर्ण गोर्खे सन्तानले बुझ्नुपर्छ अनि यसको जवाब आगामी 14 मईको दिन जनताले व्यालेटमार्फत दिनुपर्छ।

यद्यपि, दार्जीलिङ हिल तृणमूल कंग्रेसले यस विषयमाथि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै गोजमुमोले मन्त्री इन्द्रनील सेनको बयानलाई तोड़मोड़ गरेर जनताअघि राखिरहेको आरोप लगाएको छ। यसबारे हिल तृणमूल कंग्रेसका कार्यकारी अध्यक्ष एनबी खवासले भने-मन्त्री इन्द्रनील सेनको वक्तव्य पूर्णरूपले राजनैतिक वक्तव्य हो। उनले कुनै जाति विशेषलाई लक्ष्य गरेर यस्तो भनेका होइनन्। तर हिजो तृणमूल कंग्रेसको चुनावी जनसभामा जनताको भीड़ देखेरनै गोजमुमो अत्तालिएको हो र गोजमुमोले यस विषयलाई साम्प्रदायिक रङ्ग दिने काम गरिरहेको छ। यसैले गोजमुमोले साम्प्रदायिक कुरा गरेको विरोधमा तृणमूल कंग्रेसले पनि गोजमुमोको विरोधमा एफआईआर गर्नेछ।

उनले भने-गोजमुमो साँच्चै जातिको माया गर्ने पार्टी हो अनि यसले जातिलाई माया गर्छ भने जनसमर्थनको आड़मा किन यस पार्टीले गोर्खालीगका पूर्व अध्यक्ष मदन तामाङको हत्या गर्यो, सुवास घिसिङलाई पहाड़बाट कि खेद्ने कार्य गर्यो, स्व. घिसिङकी पत्नीको शव दार्जीलिङ ल्याउन किन दिएन? के यस्तै हो गोजमुमोको जातिप्रतिको माया? यसरीनै उनले तृणमूल कंग्रेसले दार्जीलिङ पहाड़को राजनीतिलाई गणतान्त्रिक ढङ्गमा परिवर्तन गर्ने लक्ष्य राखेको बताउँदै पहाड़मा तृणमूल कंग्रेसको वर्चस्व कायम भए पहाड़मा कसैको घर जल्ने छैन, कसैको हत्या हुनेछैन। तृणमूल कंग्रेसले यसप्रकारको परिवर्तन ल्याउन चाहेको हो।

 

  • फोटोश्रोतः टाइम्सअफ इण्डिया

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया