मन्त्रीलाई शीघ्र पक्राउ गरिनुपर्छ-विमल गुरूङ

  • उमेश तामाङ, कालेबुङ, 6 मई/2017

“जनसाधारणले यस्ता कुराहरूको जवाब उग्र बनेर होइन तर जनमतको दिन अर्थात १४ मईको दिन कठोर रूपमा बङ्गाललाई दिनुपर्छ”- गुरूङ


“राजनैतिक भनावैरी हुन्छ तर कसैलाई बक्सामा हालेर पठाउँछु भन्नुको अर्थ मारेर (बक्सामा) हाल्छु भन्नु हो। मन्त्री पदमा रहेर यस्तो बयान दिनु उचित होइन उनलाई यथाशीघ्र पक्राउ गरेर उचित कानूनी कार्यवाही हुनुपर्छ।”

राज्यका एक शीर्ष मन्त्री इन्द्रनील सेनले गोजमुमो अध्यक्ष विमल गुरूङ, पार्टी महासचिव रोशन गिरी लगायत गोजमुमोले खड़ा गरेका उम्मेद्वारहरुलाई नगरपालिका चुनाउपछि बाकस (ट्रङ्क)-मा प्याक गरेर अर्को जिल्लामा पठाउने दिएको बयानमाथि गोजमुमो प्रमुख विमल गुरूङले आपत्ती जनाउँदै आज उक्त मन्तव्य व्यक्त गरेका छन्।

“जीटीए प्रमुखलाई त साङलोले बाँधेर बक्सामा हालेर अर्को जिल्लामा पठाउने वक्तव्य बङ्गालका मन्त्रीहरूले दिन्छन् भने साधारण जनताको हालत के होला? बङ्गालका मन्त्रीहरूको यस्तो व्यवहार अनि वचनले गर्दा नै राज्यमा अशान्ति भएको हो”- गुरूङले भने।

विगतमा गोजमुमो नेताहरूले भाषण गर्दैमा उनीहरूमाथि उच्च न्यायालयमा मुद्दा दर्ता गरेर कठघरामा उभ्याउने कार्य भएको साथै पोष्टरिङ गर्दा पनि मुद्दा हालेर दबाउ दिने कार्य बङ्गाल सरकारले गरेको भए पनि आफ्नै मन्त्रीले कसैलाई बक्सामा हाल्ने अर्थात मार्ने कुरा गरिरहेको भए पनि उनीमाथि किन कार्यवाही गर्दैन? गुरूङले प्रश्न राखेका छन्।

“हामीले मन्त्री सेनको बयानलाई लिएर प्राथमिकी दर्ता गरेका छौं जसको आधारमा यथाशीघ्र कार्यवाही हुनुपर्ने हो तर बङ्गालको नीति ठीक छैन अनि कार्यवाही पनि गर्दैन”-उनले भने।

बङ्गाल सरकारले यस्ता अनावश्यक वक्तव्यहरू दिएर मानिसहरूलाई उग्र बनाएर यहाँको माहौल बिगार्ने राजनैतिक षड्यन्त्र गरिरहेको आरोप लगाउँदै गुरूङले सम्पूर्ण पहाडवासीहरू यस्ता कुराहरूमाथि सचेत बन्नुपर्ने आह्वान पनि गरेका छन्।

“जनसाधारणले यस्ता कुराहरूको जवाब उग्र बनेर होइन तर जनमतको दिन अर्थात १४ मईको दिन कठोर रूपमा बङ्गाललाई दिनुपर्छ”- गुरूङले अझ भने।

मन्त्री सेनको बयानको जवाब १४ मईको दिन दिनुपर्ने बताउने गुरूङले अर्कोतिर मन्त्री सेनको बयानको फुटेजसहित देशका प्रधानमन्त्री, गृहमन्त्री लगायत बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई समेत पत्राचार गरेर न्यायको निम्ति गुहार लगाउने जानकारी पनि दिएका छन्।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया