टी, टिम्बुर, टुरिज्म पछि पहाडमा अर्को ‘टी’ पनि थपिइनेछ, त्यो हो तृणमूलः सांसद व्यानर्जी

विज्ञापन

  • निर्माण थापा, खरसाङ, 6 मई/2017

‘आज जुन भेला देखियो, त्यसलाई मैले खरसाङमा घाँसफूलको दिन आयो भन्ने सङ्केतकोरूपमा बुझेँ,’-सांसद


जनसभामा उपस्थित तृणमूल कार्यकर्ताहरू/फोटोः खबरम्यागजिन

तृणमूल सांसद अभिषेक व्यानर्जीले पहाडको झुटको राजनीतिबाट जनतालाई बाहिर निस्किएर विकासको राजनीतिमा लाग्ने सुझाव राखे। खरसाङमा नगरपालिका चुनाउको निम्ति गरेको जनसभाबाट बोल्दै उनले पहाडको जनताले तृणमूल कङ्ग्रेसका उम्मेदवारहरूलाई जिताए विकासको नयाँ राजनीतिको स्वाद चाख्न पाउने बताए।

‘आज जुन भेला देखियो, त्यसलाई मैले खरसाङमा घाँसफूलको दिन आयो भन्ने सङ्केतकोरूपमा बुझेँ,’ उनले भने, ‘अघिल्लो चुनाउमा तपाईँले जिताएर पठाएका प्रतिनिधिहरूले कति काम गरे त्यसको लेखाजोखा हुनेछ।’

उनले 17 मईपछि दार्जीलिङ पहाडमा तृणमूल काङ्ग्रेस मात्र देखापर्ने अनि झुटको राजनीति गर्ने मोर्चा हराएर जाने किटान पनि गरे। ‘पहाडमा तीनवटा ‘टी’ अर्थात टिम्बर, टी र टुरिज्ममात्र छ भन्ने बुझिन्छ,’ उनले भने, ‘अब एउटा ‘टी’ पनि थपिने छ, त्यो हो तृणमूल।’  मोर्चाले भाजपासित मिलेर जिताएको सांसद दिल्लीमा बसेकोले विकास नभएको भन्दै ‘पहाडमा बसेको भए विकास हुनेथ्यो’, पनि भने।  तृणमूलले रोहिणी, कालेबुङ जिल्ला, मिरिक महकुमा बनाइसके अनि अब खरसाङको पालो रहेको बताए। ‘खरसाङको पानी व्यवस्थापनको निम्ति हामीले पैसा दिइसकेका हौं, तर काम भएन,’ उनले थपे, ‘यहाँको पार्टीले नै यहाँको जनतालाई गरीब बनाएको हो, जनतालाई भोट मिसिन मात्र बनाएको हो, यसैको जवाब यसपाली जनताले दिनेछन्।’

उनले दार्जीलिङ र खरसाङलाई कलकत्ताभन्दा सुन्दर बनाउने बाचा पनि दोहोऱ्याए। सांसद व्यानर्जी, दुईजना मन्त्रीलगायत तृणमूलका वरिष्ठ नेताहरू संलग्न बनेर ऱ्याली पनि निकालिएको थियो। बस बिसौनीदेखि पङ्खाबारी पथ हुँदै मन्टिभियट खेल मैदान पुगेर ऱ्यालीले जनसभाको रूप लिएको थियो। ऱ्याली र जनसभा अवधी सुरक्षा व्यवस्था कठोर गरिएको थियो।

हिल तृणमूल काङ्ग्रेसका अध्यक्ष राजेन मुखिया, पूर्व विधायिका एवं 7 न. वार्डका उम्मेदवार शान्ता छेत्री, खरसाङ सिटिजन फोरमका अध्यक्ष टीटी लामाले पनि जनसभालाई सम्बोधन गरेका थिए।

पर्यटनमन्त्री गौतम देव, उत्तर बङ्गाल विकास मन्त्री रबीन्द्रनाथ घोष, हिल तृणमूल युवा अध्यक्ष विष्णु गोले, पीसी अग्रवाललगायतको उपस्थिति पनि जनसभामा थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया