बडी बिल्डर विनोद विश्‍वकर्माले राख्यो सिक्किमको नाक

विज्ञापन

  • गान्तोक खबरदाता, 6 मई/2017

सिक्किमको पहिलो बडी बिल्डर विनोद विश्‍वकर्मालाई  सिक्किम स्टेट बडी बिल्डिङ एसोसिएशनले आज अभिवादन जनायो। मिस्ट इण्डिया च्याम्पियनशीपमा स्वर्ण पदक जितेपछि उनलाई यो अबिवादन जनाइएको हो।  यहाँको एउटा होटलमा आयोजित कार्यक्रममा एसोसिएशनका मुख्य सल्लाहकार आईबी गुरुङ, महासचिव अरुण गुरुङ र अन्यहरूको उपस्थिति रहेको थियो। यसै अवसरमा सिक्किम बडी बिल्डिङ एसोसिएशनले विनोदलाई आर्थिक सहोगस्वरुप रू. १० हजार प्रदान गर्ने पनि घोषणा गरिय।

‘हामी उनलाई राम्रो आर्थिक सहयोग प्रदान गर्न चाहन्थ्यौं तर एसोसिएशनको अवस्था त्यति बलियो नभएकोले हामी असमर्थ बन्यौं’, महासचिव गुरुङले भने। यस सम्बन्धमा बोल्दै सिक्किममा बडी बिल्डिङ खेललाई राज्य सरकार, सम्बन्धित विभाग र नागरिक समाजलेसमेत अन्य खेलहरूबाट अलिक पर राखेर हेर्ने गरेको उनले बताए|

सिक्किममा बडी बिल्डिङ खेलको इतिहासमै पहिलोपल्ट मिस्टर इण्डिया जस्तो प्रतिष्ठित राष्ट्रिय प्रतियोगितामा आफ्नो वर्गमा स्वर्ण पदक जितेर विनोदले इतिहास रच्नुको साथै सिक्किम राज्यको नाम चम्काएको मुख्य सल्लाहकार आईबी गुरुङले बताए।  उनको यस उपलब्धीले अन्य युवा बडी बिल्डरलाई पनि राष्ट्रियस्तरमा असल प्रदर्शन गर्न प्रोत्सहान मिल्ने उनले अझ बताए।

उल्लेख्य, २०१७-को मिस्टर सिक्किम उपाधीको पगढी गुथेका २३ वर्षीय विनोद विश्‍वकर्माले गत २१देखि २३ अप्रेलसम्म गुजरातको अहमदावाद शहरमा सम्पन्न ५७ औं सिनियर न्याश्‍नल मिस्टर सिक्किम २०१७ च्याम्पियनशीपमा सिक्किमको प्रतिनिधित्व गरेका थिए।  २७ वटा राज्यबाट कूल ४४९ जना खेलाड़ीले सहभागिता जनाएको प्रतियोगिताको ६० किलोवर्गमा उनले स्वर्णपदक जितेका छन्| यसको साथै त्यसै प्रतियोगिताको क्लासिक वर्गमा पनि विनोदले चौथौ स्थान प्राप्त गरेका थिए। यस उपलब्धीले उनलाई आगामी १८ देखि २१ मईमा मङ्गोलियामा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको च्याम्पियनशीप साथै यसो वर्ष मुम्बईमा आयोजना हुने मिस्टर ओलम्पिया एमेच्यूरमा सहभागिता जनाउने अवसर प्राप्त भएको छ। मिस्टर ओलम्पिया अमेच्यूरमा सहभागिता जनाउने पनि उनी पहिले सिक्किमे खेलाड़ी बन्ने छन्।

मिस्टर इण्डिया खेल्नु पाउनु र आफ्नो वर्गमा स्वर्ण पदक जित्नु सुखद अनुभव रहेको विनोद विश्‍वकर्माले बताए। यसको श्रेय आफ्नो मेन्टर रविन प्रधान र शुरुमा आफूलाई बडी बिल्डिङ खेलसित परिचित गराउने आईबी गुरुङलाई जाने उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया