फयादनामा

कवि हुनुको जुलुममा

 

असरफ फयाद – जो कविता लेखेर आठ सय कोर्राको सजाय र आठसाले कैदमा छन्। उनको यादमा यो यादनामा। यही महिना सन् 2016-मा उनलाई सुनाइएको फाँसीको सजाय फेरेर उमेरकैदमा सारिएको थियो।


 

राजा पुनियानी


 

तनावको जन्म

असरफ फयाद कविताका शालीन रूख हुन्। त्यो रूखको पनि मुख छ कि जस्तो। त्यो मुखमा अरबको सुस्केरा छ कि जस्तो। असरफ फयाद चित्रका गहिरो तलाउ हुन्। त्यो तलाउमा समेत घाउ छ कि जस्तो। त्यही घाउमा प्यालेस्टाइनको ऐय्या छ कि जस्तो।

त्यो रूख र तलाउवारि छ असरफको अफालिएको बेघर जीवन। त्यसदेखि पारि शुरू हुन्छ असरफको सपनाको इलाका। अरब र अमेरिकाको माझ असरल्ल असरफ। हल्लिरहेको फाँसीतिर हेरिरहेका एक अवाक कवि।

असरफ, जसले आफूजस्तै भूमिहाराहरूलाई सपना देख्न लगाउँछन् आफ्नो माटोको। आफ्नो बाटोको। जो कविता लेख्छन्। फुटबल हेर्छन्। चित्र बनाउँछन्। जो प्यालेस्टाइनको गाजामा जन्मेका-हुर्केका हुन्। उनी जब सउदी अरबमा वास माग्छन्। सुलाकी हो कि विद्रोही। डराउँछ अरब। असरफ, जसलाई नागरिकता नदिए पनि त्यही अरबलाई माया गर्छन्। र अरब भने यसको सट्टा झुण्ड्याउन खोज्छ असरफलाई। उनको तनाव कविता भएर निस्कन्छ। यसरी कविता असरफको अपराध हुन्छ।

अन्ततः असरफलाई सउदी सरकारले मार्ने हुकुम दिएको छ। संसारभरि कविहरू असरफको पक्षमा कविता फलाक्दै गरेको अवस्था। विश्व समुदायलाई थाहा नहुन सक्छ असरफबारे। विश्व मानव अधिकार सङ्गठनहरूले आवाज उठाएका छन् – असरफलाई कविता लेखेकै अपराधमा नझुण्ड्याऊ ए सउदी। असरफलाई मृत्युदण्ड सुनाउनुको पछि सउदी सरकारको तर्क असरफले खारेज गरेको छ। सरकारको कानूनले ठान्छ, असरफले कविता लेखेरै धर्मको अवमानना गरेको छ। नास्तिकता फैलाएको छ। ऊ उद्दण्ड छ। उसले हाम्रा मान्छेले एक महिलालाई कुटेको भिडियो अनलाइन पोस्ट गरेको छ। उसले हाम्रो इस्लामलाई मानेन। कविता लेखेकै कारण अब असरफलाई हामी मार्छौँ। मृत्युको सान्दर्भिकता कोट्याउँदै यता असरफले लेखे, “तिम्रो मूक खुन बोल्ने छैन / जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ / जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सुम्पिएको / गुप्ती घोषणा गरिरहनेछौ”।

राज्यको डर              

हुन्छ के भने कवि झुण्ड्याइँदैपछि कविताको हाइट बढ़्ने गरेको छ। खासमा कवि मारिएपछि नै कविता बाँच्नेगर्छ। कविताले बाँच्ने पावर राखेको छ भने। कविता लेख्तैमा कुनै कविलाई मार्न लागिएको घटना यो पहिलो होइन। सन् ६२४-मा कवि अल-नद्र-बिन हरिथ, उकबा बिन मुआइत, आसमा बिन्त मारवान, अबु अफाक, कब असरफको हत्यादेखि शुरू भएको कविहत्याको परम्परा आज असरफसम्म आइपुगेको हो अरबमा। यता नेपाल, भारतहरू पनि यो मामिलामा बेदाग छैनन्। मकैपर्वदेखि कवि कृष्ण सेन इच्छुक हत्यासम्म आइपुग्दा नेपालको शासकसत्ता पनि कविहत्याराको सूचीमा परेकै छ। भारतमा भर्खरै कुलबर्गीलाई फासिस्ट ताकतले हत्या गरेको छ। त्यसपछि भटाभटी साहित्य अकादमी पुरस्कार फर्काएर साहित्यकारहरूले भारतीय फासिस्ट सत्ताको ‘असहिष्णुता’ (धार्मिक / सामुदायिक) – को प्रतिवाद जनाएका छन्। यो हत्याले भारतमा राज्यरोधी लेख्नेलाई उति सजिलो गरी बाँच्न नदिइने ईशारा गरेको छ।

उहिलेदेखि नै कविहरू राज्यको आजन्म दुश्मन। प्लेटोले कवि भ्रमको किसान हुन् भनेर हियाए। तब त्यही भ्रमको खेतीकारलाई सत्यको सबैभन्दा बलियो सिपाही किन देख्छ सत्ता? उदेक लाग्छ जब पावरको उत्केन्द्र राज्यसत्ताको चेनमा कमजोर कड़ी उसले लुकाउँदा पनि ह्वाङ्ग देखा पर्छ। जब जब राज्य कमजोर बन्छ, ऊ तब तब खुँखार बन्छ। आदमखोर बन्छ। मान्छेको समय, खुशी, पसीना खाने राज्यले मान्छे नै खानथाल्छ। राज्य डराउँछ। शब्ददेखि। सबभन्दा बेसी शब्दभित्र लुकेको सपनादेखि। संसारकै हरेक मसिनो-मिहिन शब्ददेखि डराउँछ ऊ, जुन उसको बन्दुकको आवाजभन्दा सानो छ। किनभने कविले सपना देख्न सिकाउँछ, कवि राज्यका लागि कहिल्यै साथी भएन। कहिलेकाहिँ त राज्यको हातमा बिक्री भएकै कविले पनि जन्मजात बेहोरा देखाउन छाड़्दैन। बिक्री भएकै कवि पनि सपनाकै कुरा गर्छ। सपना देख्नु नदिने ताकतको प्रतिरोध कविको धर्म बन्छ। अस्तित्वै नभएको ईश्वरको पूजा गर्ने धर्मलाई कविको गहिरो बुद्धिले जनताको मूर्खता र राज्यको फाइदा देख्छ। जब उसले यो पोल खोल्छ, ऊ धर्मकै आड़मा टिकेको सत्ताको बूटमुनि हुन्छ।

“अरबी संस्कृति अब लोप भयो।” अदुनिसले भने। अरबको भुइँ कत्ति कमजोर। बुझ्न यी नोटेड अरबी कविको यति आत्मस्वीकृति काफी लागेको हो। अदुनिस अरबी साहित्यमा रोमाण्टिसिजमको मादक युगलाई तोड़ेर आधुनिक लेखन भित्र्याउने पायोनियर हेभिवेट हुन्। अङ्ग्रेजीमा टिएस इलियटझैँ। विश्वभरिकै पाङ्ग्राले गति गुमाउँछ यदि अरबले तेल नदिनु हो भने। विश्वलाई हिँड़ाउने अरब लङ्गड़ाइरहेको छ। एकातिर अमेरिकी दाउपेंच। अर्कोतिर धार्मिक कठमुल्लावाद। “अरबमा सब थोक धर्मले डिसाइड गर्छ”, अदुनिसले थपे। अरबको तेल मात्र संसारलाई काम लाग्ने भयो। बुद्धि, नीति, संस्कार, जीवनशैली अरबले न त विश्वलाई दिनसक्छ। न उसले विश्वबाट पैंचो लिन्छ। तेलको कूवाले भरिएको अरब आज धर्मान्ध महाकूवामा फेरिएको हो। अरब चारैतिर यस्तो अदेख देवलले घेरिएको इलाका हो, जसको ‘जेनिथ’ उसको धर्ममा टुङ्गिन्छ र ‘नादिर’ उसको जेहादमा।

एकताकाको विश्वको एकमात्र हिन्दु राष्ट्र नेपालमा त्यो एक मात्र हिन्दु राष्ट्र हुनुको जीवाणु बेला-बेला जागिबसेको हावभाव त्यहाँको समाजको गतिकीलाई हेर्दा पत्तो लाग्ने गर्छ। भारतमा पनि राष्ट्रिय स्वयंसेवक दलको फासिस्ट फिलोसफी हो भारतलाई पूर्ण हिन्दु राष्ट्र बनाउनु। देश कहिल्यै पनि कुनै एउटा धर्मको हुँदैन। भयो भने त्यो देश देश होइन कसाइखाना बन्छ। इतिहासले यही देखाएको छ। धर्मयुद्धहरूको इतिहास दोहोरिएको इतिहास हामीसँग छँदैछ। धर्मले सामन्तवादी रूढ़ितिर समाजलाई जाक्दछ। सामन्तवादले समाजलाई कँज्याएरै राख्तछ। पूँजीवादी संरचनामा यही फ्युडल सामन्ती मूल्य दक्षिणपन्थी फासिस्ट भएर सक्रिय बनेको हुन्छ। नेपाल र भारत पनि अहिले यस्तै सामाजिक खतराको सम्मुखिन भएको वस्तुस्थिति छ। फासिस्ट ताकतले नै ल्याटिन अमेरिकी कवि लोर्कालाई लुड़्काइदिएको हो।

धर्म र तेलको माखेसाङ्लो

“गरीबीको मोसो पोतिदिनु सिवाय / त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन / जुन दिन अर्को तेलको कूवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ / जुन दिन जनताको उपयोगको लागि जीवन / तिम्रो मुटुमै घुस्छ तिम्रो हंसबाट अझ्झै बेसी तेल निकाल्न,” असरफले तेलको राजनीतिमाथि गहिरो व्यङ्ग्य कसे कवितामा यसरी।

धर्मसँग गहिरो गाँसिएको छ तेल। धर्मले समाजलाई डाइल्युट पारिदिएको छ। मान्छेको बौद्धिकतामा धर्मले काँटी ठोकेको कुराको ठोकुवा पूर्वदेखि पश्चिमसम्मै छ। पश्चिममा हेराक्लिटसदेखि रसेल र नित्सेदेखि डेरिडा। पूर्वी दर्शनमा चार्वाकदेखि बुद्ध र भगतसिंहदेखि हेनरी भिभियन डेरिजियो।

नास्तिकतालाई आतङ्कवाद घोषणा गर्नेको अरबी मुलुकका राज्यले तर नास्तिकता, बुद्धिवाद वा र्‍याशनलिजम, वैज्ञानिक दृष्टिकोणमा लगाम लगाउन सकेको छैन। अतिधार्मिकताको ग्यासच्याम्बरमा थुनिएको अरबी जनता कि नास्तिक बन्दैछन् कि ‘नयाँ धर्म’ वा ‘नियो-रिलिजन’-को पक्षपाती बन्दैछन्। सन् २०१०-को शुरुमा इजिप्टको तहरीर चौकबाट सल्किएको अरबी जनाक्रोश लगभग सबै अरबी मुलुकलाई छोएको छ। ‘अरब स्प्रीङ’ नामले प्रसिद्ध यो अरब उभारले अरबी मुलुकहरू हल्लाइदिएको थियो। स्वतन्त्रता, गणतन्त्र, धार्मिक सहिष्णुताको मुद्दामा मान्छे सड़क निस्केका हुन्। कविता त्यहाँ नाराजस्तै पढ़ियो जुलूस र सभातिर। कविता कत्ति मानव उपयोगी हुनसक्छ भन्ने लिटमस टेस्टमा कविता यसरी पास भयो।

यता तेल पनि धर्मजस्तै डिसाइडिङ फ्याक्टर हो, जसले अरबलाई विश्वकै टुँड़ीखेल बनाएको हो। यो त्यही अरब हो जसले विश्वलाई सङ्ख्याको धारणा दियो। यो त्यही अरब हो जसले अल्जेब्रा, अल्केमी, गिटार, कम्पास दियो। जसले युरोपको रेनेसाँलाई बाटो देखाएको हो। यो त्यही अरब हो जसले आज कविलाई चोरझैँ झुण्ड्याउँछ। कवि जो मानव संवेदनाको रखवाला हो, आज अरबी कट्टरताको दुश्मन भयो। धर्मले सबभन्दा ठूलो हानि समाजलाई के गरेको छ भने यसले मान्छेलाई तार्किक हुनुबाट रोक्यो। युरोपमा सन् १४-देखि १७ शताब्दीसम्म चलेको रेनेसाँ वा पुनर्जागरण आन्दोलनले समाजलाई अघि बढ़ाउन केही गाँठी कुरा अघि ल्याएको थियो। रेनासाँले छिनोफानो गरेका केही सिद्धान्तमध्ये एउटा यस्तो थियो – “जुन कुरा विज्ञानले पुष्ट गर्न सक्छ, त्यो समाजको लागि ठीक छ। जुन कुरा विज्ञानले पुष्ट हुँदैन, त्यो पनि समाजका लागि ठीकै छ। तर जुन कुरा विज्ञानले पुष्टि वा अपुष्टि दुवै गर्न सक्दैन, त्यसको पछि लाग्नु समय बर्बाद गर्नु हो”। भगवान यस्तै पुष्टि वा अपुष्टि नभएको कल्पना हो। जसले मान्छेलाई डिस्टर्ब गरिरहेको हो।

तेलले गर्दा नै अरब राजनैतिक अक्ष भयो, जसको वरिपरि विश्व घुम्छ आज। प्यालेस्टाइनको गाढ़ा घाउ क्यान्सर भइसकेको छ। गाजापट्टीमा दिनहुँको इजरायली बमबारी सामान्यता भएको अवस्था। यहुदी प्रभुत्वको उग्रभावनाको नाममा जायोनिजम फैलाउने इजरायलले अरबको इस्लामलाई गोलाबारूद लगाएर चुनौती दिइरहन्छ। अरबी धार्मिक कट्टरताले मान्छेलाई बममा पनि फेरिदिएको छ। तेलमा आतङ्कवादको पनि धुरी गाड़िएको छ। प्यालेस्टाइनको विवादित माटोमा युद्धहाट छ विश्वशक्तिहरूको। अमेरिका इजरायल र अरबलाई लड़ाएर फाइदा लुट्ने ताकमा छ सधैँ। जसले सबभन्दा बढ़ी तेल हत्याउँछ। जसले संसारको महङ्गो बोइङ बेच्छ, उसैले हावाजहाज उड़ाउन सबैभन्दा सस्तोमा ग्यासोलिन तेल किन्नुछ। अरबको आँखा धर्मको पट्टीले बाँधिएपछि अरबमा बाहिरकाहरू र भित्रकाहरूले जे गर्दा पनि हुने भयो। संयुक्त राष्ट्रसङ्घको बुइ चढ़ेर अमेरिकाले आज अरबमाथि जुन हिंस्रक धलिमलि गरिरहेको छ, त्यसलाई उसले शान्ति भनेर ठप्पा लगाएको छ। संयुक्त राष्ट्रसङ्घले सन् १९४८- मा इजरायल देशको घोषणा गरे यता प्यालेस्टाइन-अरब सङ्घर्ष झनै चर्किएर गएको हो। विश्व दादा अमेरिकाको इशारामा चल्ने इज्रायलको ‘जायोनिजम’ र धर्मान्ध अरबको दीर्घ लड़ाइँले लाखौँ प्यालेस्टाइनीलाई यताको न उताको बनाएको हो। तेलको धन्धाको निम्ति पश्चिमा शक्तिशाली देशहरू अरबी प्रान्तमा धर्मयुद्धको फसल लगाइरहन्छन्। “तेलमार्फत् नै तिमी प्रतिरोध गर्छौ”, असरफले लेखे।

धर्मको अफीम

अहिले पनि यो संसार धर्मको अफीममा लट्टिएको संसार हो। धर्मको नाममा पशुको त बिल दिइन्छ दिइन्छ। कविको पनि बलि दिइन्छ। धर्म र कविमाझ गहिरै खाड़ल रहिआएको छ। धर्मको भुइँमा कविको शब्दफरूवा पर्छ। खनिँदै गएपछि धर्मको आन्द्राभुँड़ी फ्याङफुङ हुन्छ। धर्म धर्म रहँदैन जब कविले त्यसमा प्रश्नको रातो बोट रोप्छ। धर्म राज्यको पीँध अड़ाउने टेको छर्लङ्ग देखाउँछ तार्किक प्रश्नहरूले।

भगवानको अस्तित्व छ भने पनि जीवनको अर्थ छिचोल्नु उति सजिलो छैन – असरफले भने। प्यालेस्टाइनी रेफ्युजीका छोरा फयाद सउदी अरबमा बस्छन्। नागरिकता बिना। उनलाई नागरिकता दिइँदैन पनि। किनभने सउदी अरबका लागि सिरिया, लेबानन, जर्डन र प्यालेस्टाइनी क्षेत्रका आप्रवासीलाई सउदीले सधैँ टेँड़ो आँखाले हेरेको छ। समकालीन उन्नत विश्वदृष्टिकोण पो भित्र्याउलान् कि भन्ने डरले सउदी कठमुल्लाहरू यी मूलथलोविहीन आप्रवासीहरूलाई आश्रय दिँदैनन्। असरफ यही सङ्कीर्ण कठमुल्ला कोपभाजनमा परेका छन्। असरफले एउटा कवितामा लेखे, “भनिएको थियो – यतै घरबार बसाउनू / तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ / त्यसैले ऐले नै यो ठाउँ छाड़िहाल”।

असरफ नक्सा पनि बनाउँछन्। अरबलाई एशियासँग जोड़्ने अरबी प्रायद्वीपको किनारमा स्थित बन्दरगाह शहर जेद्दा अरब संसारको केन्द्र थियो। तेलको खोजी नभएसम्म। त्यहीँको कलाकार समूह ‘एज अफ अरबीया’ वा ‘अरबको किनार’-का सदस्य थिए उनी। त्यहीँबाट इस्लामबाहेक अन्यान्य धर्मसँग अरबको सम्पर्क हुन्थ्यो। भारत र सोमालिया जाने जहाज त्यही बन्दरगाहबाट छुट्थे। चित्रकलाको माध्यमबाट विश्वका अन्यान्य चित्रकारहरूसँको उनको सङ्गत अरबको निम्ति खतरा थियो। “म सान्त्वना खोजिरहेको छु / तर जसरी म चाहन्छु / त्यसरी मैले तिम्रो ओठको व्याख्या गर्न स्थितिले अनुमति दिँदैन” – कविता “फ्रिदा कालोको जुँगा” -मा यसो भने असरफ।

कविताले चर्कै चिमोट्छ        

कविता अवश्यै पनि भावना, संवेदना, आभासहरूको आचार हो। कविता यी सँग सँगै विचार, व्यङ्ग्य, विद्रोहहरूको पनि व्यापार हो। कविताको व्यङ्ग्यले चिमोट्छ चिम्टाले भन्दा कड़ा।

शोयिङ्काको “टेलिफोन वार्तालाप”, ब्रेख्तको “जेनेरल तिम्रो ट्याङ्क एक बलियो गाड़ी हो”, देवकोटाको “पागल”, कालीप्रसाद रिजालको “हमरी बिटियाको नत्था तोड़िदिनुस्”, श्रवण मुकारूङको “बिसे नगर्चीको बयान”, राजेन्द्र भण्डारीको “इस् पढ़्छु तेरो कविता”, मनोज बोगटीको “काफरे अमेरिका” यसखाले कविताका नमूना हुन्।

क्राइस्ट र मोहम्मदको माझ मान्छे

धर्म अर्थात् धारण गर्नु। तथाकथित नैतिकता धारण गरेर गरेर थाकेको बोझिल समाजलाई कविले जब सपनाको जुनेली दिन्छ तब राज्य डराउँछ। किनभने राज्यलाई टिकाउने संस्थाहरूमध्ये धर्म एक बलियो लामो रेसको घोड़ा हो। विशेष गरी अरबजस्तो धार्मिक कठमुल्लावादी मुलुकतिर। पश्चिम जसरी क्राइस्टको काँधमा चढ़ेर पूर्वभन्दा अग्लो हुनुको दावा गर्छ। त्यसरी नै पूर्व चाहिँ मोहम्मदको हत्केलामा बसेर पश्चिमलाई धम्की दिन्छ। हटिङ्टनले काटेको दुइफ्याके विश्वमोडलको अड़कल ठीक होला होला झैँ छ। पश्चिमी र पूर्वी गोलार्द्ध एकार्काका सम्पूरक नभएर चिरकालीन बैरी भएका छन्। ब्ल्याक राइटिङलाई विश्वमञ्चमा बलियो उभ्याउने कवि शोयिङ्का भन्छन्, “किन एक मुट्ठी घातकहरू बसेर अरूको नाममा मरणको फरमान जारी गर्छन्”। मारिने फतवाको कारण वर्षौँ निर्वासन भोगिरहेका तसलीमा नसरीन र सलमान रश्दी बहुचर्चित लेखकहरू हुन्।

“धर्म व्यक्तिगत प्रतिज्ञा हो। आस्थाको कुनै पनि कानूनलाई हामीले मान्नु हुँदैन जसले हाम्रो आस्था अरूको भन्दा माथिल्लो हो भन्ने ठोकुवा गर्छ,” वोले शोयिङ्काले भने। असरफको मुक्तिको पक्षमा उनको अगुवाइमा भइरहेको पदयात्रामा कड़किए, “हामीले बेग्लै आस्था मान्यौँ भन्दैमा हामीलाई मारिनु, यातना दिइनु वा कैद गरिनु पाइँदैन। हामीले केही पवित्र पाठहरूलाई हाम्रो जीवनमाथि विजयी बनायौँ”।

कविको चाह

बचाउने कोशिशहरूको बावजुद असरफ मारिन्छन् नै भने पनि उनका कविताले मान्छेलाई अरबी, प्यालेस्टाइनी, यहुदी हुनुको परिधिबाहिरको मान्छे हुने सपना देख्न सिकाइरहने छ नै। मान्छेले मान्छे हुनुको लड़ाइँ अझ बाँकी रेहको बोध तब झन् चर्को हुन्छ जब कविताको कालीगढ़ले ज्यानकै बाजी लगाएर कविता लेखिरहेको हुन्छ। आखिर असरफलगायत संसारको हरेक फौलाद कविले बर्तोल्त ब्रेख्तकै भाषामा आफ्नो कविताबारे सुन्न चाहेको हुन्छ – “तिम्रो पञ्जा देखेर / डराउँछन् नराम्रा मान्छे / तिम्रो शान देखेर / रमाउँछन् राम्रा मान्छे / यही चाहनेछु सुन्न म आफ्नो कविताबारे”।


असरफ फयादका कविताहरू

१.

गरीबीको मोसो पोतिदिनु सिवाय

त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन

जुन दिन अर्को तेलको कूवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ

जुन दिन जनताको उपयोगको लागि जीवन

तिम्रो मुटुमै घुस्छ तिम्रो हंसबाट अझ्झै बेसी तेल निकाल्न

 

खासमा यो तेलले खाएको कसम हो  

साँचो कसम

२.

भनिएको थियो – यतै घरबार बसाउनू

तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ

त्यसैले ऐले नै यो ठाउँ छाड़िहाल

 

नदीको पीँधबाट आफैलाई हेर्नू

माथिल्तिर हुनेले फेदमा बस्नेलाई दयादान गर्नुपर्ने हो

विस्थापित असहाय छ

तेल बजारमा बिक्री नहुने खुनजस्तै

 

३.

मलाई माफ गरिदेऊ

तिम्रो लागि अझ धेरै आँसु झार्न सकिनँ

तिम्रो नाम झझल्कोमा पुकार्न सकिनँ

मैले मेरो अनुहार तिम्रो अङ्गालोको न्यानोतिर फर्काएँ

मैले कुनै प्रेम भेटिनँ तर तिमीलाई

केवल तिमीलाई पाएँ

र म तिम्रो पहिलो चाहनेवाला हुँ   

४.

ए रात

तिमीसँग समयको अनुभव छैन

तिमीसँग बर्खा पनि छैन

जसले पखाल्न सकोस् तिम्रो अतीतको भग्नावशेष

जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट

जसलाई तिमीले धर्मपरायणता भनेको थियौ

र मुटुबाट

जुन लायक छ

प्रेमको खेलको र तिम्रो अश्लीलताको चिरफारको

त्यो थिलथिले धर्मबाट

त्यो झूटो ताञ्जीलबाट

ती भगवानबाट जसले उहिल्यै आफ्नो इज्जत गुमाइसकेका छन्

 

५.

अचेल तिमी पहिलेभन्दा बढ़ी डकार्न थालेका छौ

जस्तो कि ग्राहक लोभ्याउन

रसिलो बोली र मादक नर्तक प्रयोग गर्छ बारले

 

डीजेको गीति तालसँगै तिमी आफ्नो भ्रमको बयान गर्छौ

र प्रशंसा गर्छौ ती जीऊहरूको

जो झुलिरहेका छन् निर्वासनको गीतमा

६.

हिँड़्ने

या यताउति हल्लिने

या रूनेसम्म हक छैन यद्यपि ऊसित

 

उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन

अथवा उसको हावा, रद्दी र आँसु ताजा गर्ने

 

तिमी पनि त कस्तो भुल्छौ अनि

कि तिमी रोटीको एउटा टुक्रा हौ

निर्वासनको दिन

नाङ्गै उभिन्छन् उनीहरू

जब कि तिमी पाइपको मैला पानीमा खालीखुट्टै पौड़िन्छौ

 

यो खुट्टाको लागि स्वस्थकर हुनसक्ला

तर धर्तीको लागि होइन   

भविष्यवेत्ताहरू रिटायर भए

सो तिम्रा आफन्तहरू आउने बाटो कुर्न छाड़िदेऊ

 

तिम्रो लागि

दैनिक रिपोर्ट बनाउँछन् सुलाकीहरू

र मोटो तनाखा थाप्छन्

 

एउटा इज्जतको जीवन बाँच्न

कत्ति महत्त्वपूर्ण छ पैसा

 

९.

मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन्

देशनिकाला नभई

दैविक सृष्टि नभई

 

मेरो आकारमा कुनै दैविक छुवाइ बिना नै

म पुनर्जीवित भएको छु

म यो पृथ्वीमा नर्कको अनुभव भएर छु

 

पृथ्वी त आखिर

रेफ्युजीहरूको लागि बनाइएको नर्क न हो

 

१०.

तिम्रो मूक खुन बोल्ने छैन

जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ

जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सम्पिएको

गुप्ती घोषणा गरिरहनेछौ

 

तिम्रो आत्मा गुमाउनुले निक्कै खर्चिने छ समय

तेलको आँसु रोएका तिम्रा आँखालाई

फकाउन लागेको समयभन्दा धेरै


(सन् २००८-मा दर त-फरबी, बेरुइतद्वारा प्रकाशित फयादको कविता किताब ‘इन्स्ट्रक्शन्स विदिन’-बाट। यो किताब सउदी अरबमा प्रतिबन्धित छ। अरबीबाट अनुवाद मोना करीम। नेपाली अनुवाद – राजा पुनियानी)

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया