नदीशका कविता

विज्ञापन

 

जीवनको वरिपरि घुम्ने कविता


  • सरिता तिवारी

कहिले शरदको पूर्णचन्द्रमा जस्तो शीतल, कहिले वर्षाको बाढीजस्तो आक्रामक। कहीँ पियानोको हलुका धुनमा झम्म भएजस्ता नरम, कतै जुलुसमा उठेका मुठ्ठी जस्ता कठोर। जीवनका नृशंसता र कोमलता समवेत सजीव उतार्ने कवि नदीश नेपाली कविताको पछिल्लो शृङ्खलाका प्रतिनिधि स्रष्टा हुन्। उनका कतिपय कविताले ध्यानस्थताको गहिरो बुद्ध भावमा पुऱ्याउँछन्, कतिले स्मृतिको घना कुहिरी मण्डलभित्र लगेर छोडिदिन्छन्। विचारमा ‘लेफ्ट’ सुनिने नदीश सामाजिक सरोकार र मिहीन अनुभूतिका दुबै किनारा छोएर कुलकुल बगिरहेका कविता– खोला हुन्। यो खोलाले नदी पछ्याउँदै समुन्द्र भेटेको हेर्न लालायित छु।


  • कविकथन

समयसित बाँच्ने सपना


कुनैबेला आफूलाई पत्रिकामा छाप्ने, रेडियोमा सुन्ने रहर थियो कविता। लेखियो कवि हुने लालासाले पनि केही कविता। तर लेख्दा लेख्दै कविता जिन्दगीकै पाटो भइदियो। अब कवि हुने/नहुनेसँग यसको सरोकार रहेन। कविता छ र आफू मान्छे बाँचेको छु जस्तो लाग्छ।

नदीशको कविता सङ्ग्रह

कविताका आ–आफ्नै परिभाषाहरु छन्। कसैलाई सामाजिक, राजनीतिक विसङ्गति विरुद्ध इतरका यावत विषयबस्तुलाई कविता भन्न मन पर्दैन। कतिपयलाई यस्तै अनुभूतिहरु कविता लागिदिन्छन्। यी त आ–आफ्नो दृष्टिकोणका कुरा हुन्। त्यस्तो कविता सायदै होला जो सप्पैलाई उत्तिकै कविता लागिदियोस्।

समयरेखामा आफूलाई हेर्दा कतै क्रान्तिको दहमा डुबेको पाउँछु, कतै सामाजिक/राजनीतिक विसङ्गतिहरु विरुद्धको आक्रोशमा पोखिएको पाउँछु भने कतै प्रेमका भिन्नभिन्नआयामहरुमा आफै रङ्गीएको छु । मानव सभ्यताको रथले पक्रिएको दिशा गलत देखेर कतै बेस्सरी चिमोटिएको पनि छु, कहीँ जीवन दर्शनका सुक्ष्म अनुभूतिहरुले मातिएको छु र कतै हुबहु पोखिएको छु आफ्नै सामान्य भोगाइहरु माझ। यहाँसम्मको जीवनयात्राका भोगाइ/दृष्टिकोणका छायाँ–कथाहरु हुन् यी अभिव्यक्तिहरू। आफ्नै जीवन र भोगाइभन्दा पर रहेर ढोँगी हुन सकिन। हरेक कविको आफ्नै आभा–क्षेत्र हुन्छ भन्ठान्छु। कवि कुन समाजमा कुन समयसँग कस्तरी बाँचिरहेको छ त्यसले निर्धारण गर्छ उसका अभिव्यक्तिहरू।

जे जति घटना/विचार/दर्शनहरुले छोइएँ, ती मध्येका केही अनुभूति/अभिव्यक्तिहरु हुन् यी कविता।


परेवाहरू

परेवाहरू

निर्दोष कीराहरू ज्यूँदै निल्ने

हत्याराहरू हुन्

 

परेवाहरू

अरूकै घरभित्र रजाइँ गरी बस्ने

सामन्तहरू हुन्

 

परेवाहरू

मानिसका तालुमा निसङ्कोच विष्ट्याउने

असभ्यहरू हुन्

 

परेवाहरू

खुल्लम-खुल्ला यौनक्रीडामा मस्त रहने

सांस्कृतिक विकृतिहरू हुन्

 

आऊ

शान्तिप्रेमी सभ्य महानागरिकहरू

एक-एक गर्दै

सम्पूर्ण परेवाहरू मारौँ।

 

कम्पनीमा एक दिन

हरेक दिन जस्तै

आज पनि ठिक समयमै कम्पनी आइपुगेँ

 

भित्र छिर्नै लाग्दा

मलाई रोक्दै भन्यो गेटपालेले

कसलाई खोजेको?

 

म वर्षौँदेखि यहीँ काम गर्दै आएको कर्मचारी हुँ

मजाक नगर न

मैले भनेँ

 

आश्चर्य!

बिलकुल अपरिचित नजरले हेर्दै मलाई

हुत्याइदियो उसले

 

संयोगवश

उछिट्टिएछु कुनै ऐनाअघिल्तिर-

ज्या!

आज हतार हतारमा आफूलाई

ह्याङ्गरमै छुटाएर आएछु।

 

 

प्रेम विज्ञप्ति

बर्षपछि

शिरिषका फूलहरूसँगै

फेरि वैजनी सिँगारिएको छ धर्ती

र उसैगरि अङ्कुराएको छ यसपालि पनि

वसन्त समय

 

यो समयावधिको एक टुक्रा जिन्दगी

अलि व्यस्त जिइएछ

उफ्

समय, एक बर्ष नपुग्दै बूढो भइसकेछ !

 

कस्तो सुखद क्षण

आफूलाई बिर्सनु

उस्तै दु:खानुभूति

आफैलाई सम्झन नसक्नु

 

कसैको खोजीमा निस्केका थिए

एक जोर आँखा

जो भर्खरै हराएछका छन् कतै

एकादेशको राजधानीमा

भेट्यौ?

 

अब ती आँखाहरूको खोजी गर्न

अर्को जोर आँखा छैनन् मसँग

 

बर्षेनी यी फूलहरूजस्तै

पोखिनेछन् तिम्रो नाम

जीवनका केही हरफहरू

 

अरे होउ ‘पग्ली’

मुटुभरिको न्यानो माया छ तिमीलाई

जिन्दगीभरको लागि।

 

पृथ्वी प्राइभेट लिमिटेड

एक:

कुनै सन्ततिले गऱ्यो निजीकरण

आफ्नै आमाको स्तन

निर्माण गऱ्यो एक शानदार दुधपोखरी

श्रृजना गऱ्यो भोकको आतङ्क

र खडा गऱ्यो त्यहाँ

‘फलानो खाद्य उद्दोग’

 

दुई:

कुनै समय कुनै सन्तानले

दर्ता गऱ्यो आफ्नो नाउँमा

आफ्नो आमाको काख

र ठड्यायो अगाडी एउटा बडेमानको साइनबोर्ड

‘निशुल्क प्रवेश निषेध!’

 

तीन:

अनेक असङ्ख्य सन्तानहरूबीच

कसैले दावी गऱ्यो

केबल उसकै हो

सम्पूर्ण आङ्गालोभरिको मातृस्नेह

र जारी गऱ्यो विज्ञापन

‘स्नेह भाडामा उपलब्ध छ’

 

उपसंहार:

यो पृथ्वीको कुनै ‘होमोस्यापियन’ले कुनै समयमा

प्रथमत कब्जा गऱ्यो

आँखाले देख्नेजति जमिन

त्यहाँभित्रका चरा, चुरूङ्गी, रूख विरुवा, जीवजन्तु

अर्थात्

जम्मै प्रकृति त्यो परिधिभित्रको

अनि माथिको सम्पूर्ण आकाश

र गऱ्यो डरलाग्दो इशारा आफूजस्तै अर्को आकृतिलाई

‘खबरदार ! नराख्नु पाइला !

मेरो निजी सम्पत्तिमाथि।’

 

विधवा

पतिको मृत्युपछि

पहिराउँछ उसलाई समाजले

बाँकी जिन्दगीभर

आफ्नो वीर्यको रङ ।

 

 

कविको मृत्यु

एकाबिहानै

एक हूल कवि परेवाहरू

बिम्वको खोजीमा निस्कन्छन्

 

दायाँ फन्को मारेर स्वयम्भूनाथ

सुस्ताउँछन् एकछिन  आँखाअघिल्तिर

केही सल्लाह गर्छन्

र विष्ट्याइवरी हानिन्छन्

एक पुरानो गुम्बातर्फ

जसको छहारीमा कुनै कवि

लेखिरहेको थियो कविता

 

एक्कासी, आक्रमण गर्छ कविलाई, परेवाको हूल !

 

उनीहरु,

पालैपालो थुत्छन्

कविको आँखा

उसको नाक

उसको कान

उसको जिब्रो

उसको गिदी

उसको मुटु

 

सबै सबै जम्मा गरेर

उनीहरू

तयार पार्छन एउटा सुन्दर कविता

र वेगले हानिन्छन् आकाशै आकाश

सुनाउन गौतम बुद्धलाई

 

ती परेवाहरू

जसको आक्रमणमा मृत्यु भयो कविको

बर्षौँदेखि निसास्सिएका

उसकै कविताका बिम्वहरू थिएछन्!

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया