बजारमा आयो ‘ भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास’

Girl in a jacket

मणिपुर, 21 जनवरी


लामो समयदेखि नेपाली साहित्यको प्रकाशनमा समर्पित गोर्खा ज्योति प्रकाशन,  मणिपुरलेवर्तमानसम्म भारतीय नेपाली साहित्य कोषलाई धेरै साहित्यिक कोशेली प्रदान गर्दै आएको छ। यसले मूलरूपमा धेरै आर्थिक र अन्य समस्याको चपेटमा परेका मणिपुरेली नेपाली रचनाकरहरूका कृतिहरूको प्रकाशनमा ठूलो भूमिका खेल्दै आएको छ।

यसले आएएसबीएन नम्बरसंगै अहिलेसम्म 37 वटा कृतिहरू प्रकाशमा ल्याएको छ। वर्तमानमा गुवाहाटीबाट यसले नेपाली साथै असमीया भाषाका पुस्तकहरू प्रकाशित गरेर आफ्नो सीमित भौगोलिक क्षेत्रलाई व्यापकता प्रदान गरेको छ। यसै क्रममा गोर्खा ज्योति प्रकाशन मार्फत प्रकाशित डा. गोमा देवी शर्मा (अधिकारी) लिखित भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास 21 जनवरी 2018, आइतबार बिहान 10 बजी प्रेसक्लब, गुवाहाटीमा ख्यातिप्राप्त आख्यानकार एवं साहित्य अकादमी पुरस्कारले विभुषित लीलबहादुर छत्री एवं असम नेपाली साहित्य सभा, कामरूप शाखाकी अध्यक्षा डा. इन्दुप्रभा देवीको करकमलबाट लोकार्पण भयो।

डा. गोमा देवी शर्मा (अधिकारी) लिखित ग्रन्थ भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास भारतेली नेपाली साहित्यको एउटा वृहत कोश एवं कोशेढुङ्गा हो भन्न सकिन्छ। यसमा प्रारम्भ देखि वर्तमानसम्म भारत भूमिमा लेखिएको नेपाली साहित्यको विश्लेषण गर्ने प्रयास लेखिकाले गरेकी छिन्।

यो ग्रन्थ मुख्य रूपमा आठवटा अध्यायहरूमा बाँड़िएको छ। पहिलो अध्यायमा इतिहासको सैद्धान्तिक परिचय दोस्रो अध्यायमा नेपाली भाषाको उद्भव र विकास साथै भारतमा गोर्खालीहरू आएका भन्ने प्रश्नमाथि विचार नेपाली समाज र भारत,  अहिलेसम्म गरिएका कार्यको विवरण आदि प्रदान गरिएको छ भने तेस्रो अध्यायमा भारतीय नेपाली साहित्यको काल विभाजन र नामकरण  चौथो अध्यायमा प्रारम्भिक काल, पाँचौं अध्यायमा भक्तिकाल, छैठौं अध्यायमा मोतीराम युग, सातौं अध्यायमा आधुनिक काल अन्तर्गत नवजागरण काल, स्वच्छन्दतावादी युग, आयामिक आन्दोलन कालनवलेखन कालमा विभाजित गरिएको छ।

 

प्रत्येक कालखण्डमा तत्कालीन साहित्यलाई प्रभावित पार्ने देशका सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक आदि परिस्थितिहरूको विश्लेषण, अन्य भारतीय साहित्यसँग तुलना, गद्य पद्य दुवै साहित्यका प्रमुख प्रवृत्तिको विश्लेषण र कालविशेषको साहित्यको विकास गर्ने पत्रपत्रिकाहरूको परिचय प्रदान गरिएको छ।

अन्तमा निष्कर्ष र उपलब्धि, सन्दर्भग्रन्थको विशाल सूची र आजसम्म साहित्य अकादमी पुरस्कारले पुरस्कृत लेखक र कृतिको परिचय परिशिष्टको रूपमा प्रदान गरिएको छ।

यस कृतिले साहित्य पिपासु, शोधार्थी र नेपाली साहित्यका विद्यार्थीहरूलाई ठूलो सघाउ पुर्याउनका साथै भारतीय नेपाली साहित्यको वैशिष्ट्यलाई विश्व साहित्य अघि छर्लंग पार्छ भन्ने कुराप्रति विश्वास गर्न सकिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया