काव्यम्/ स्याङ्बो ज्योज्यो-का पाँच कविता : तारमित लेप्चाको केरकार : महेश पौ़ड्यालको काव्यम् टिप्पणी

समराहरूको उडान

बर्षौं अघि पौषको बिहानी

भुइँभरि खसेका मेपलका

सुख्खा पातहरू टेक्दै

त्यो बुढो रूखको फेदबाट

आकाश हेर्थ्यो एउटा बालक।

 

चिसो हावाको सप्कोले

हल्लिन्थ्यो हाँगाहरू

अनि

खस्थ्यो अल्झिरहेका

केही पहेंला पातहरू

र उडान भर्न आतुर

केही समराहरू।

 

अहो ! समराहरूको मनमोहक उडान

खस्दा खस्दै नाँच्थ्यो

एउटा उन्मुक्तिको अद्भुत नाच

कुनै सुफी दरवेशले

मस्त ध्यानमा घुमेको

एउटा चक्करदार फकिरी फिर्की

एउटा सुफी वर्लिग जस्तो

कुनै निपुण आइस स्केटरको

शानदार लो ब्याक स्पिन जस्तो

फिरिरि फिरिरि फिरिरि

खस्थ्यो

चञ्चले हावा मदमस्त बन्थे सायद

त्यो उडानमा

र त थामिबस्थे

एयर लिफ्ट बनाएर

आकाश र धरती माझमा

अनि

उडाई बस्थे केही बेर

पर परसम्म।

 

हेलिकप्टर उड्यो

हेलिकप्टर उड्यो

भन्दै कराउँथ्यो, उफ्रिन्थ्यो

पछ्याउथ्यो, रमाउँथ्यो

अनि

दुवै हात फैलाएर

त्यसरी नै घुमिबस्थ्यो

समराहरूसँगै उ पनि धेरै बेर।

 

आज,

घरको बरन्डाभरि

चुपचाप खसेका छन्

केही सुख्खा समराहरू

छैन त केवल

त्यसलाई पछ्याउने

र फनफनी घुमिबस्ने

त्यो केटो र उसको

हलुङ्गो मन।

 

बाहिर फेरि हावा चल्यो

समराहरूले उडान भरे

बुढो नजरले हेरिरह्यो

चिउँडोमा हात

व्हिलचियरमा कुहिना टेकेर

समराहरूको त्यो विस्मयकारी उडान।


 

कार्बन डेटिङ्ग

सुन्यौ साथी

मैले बखानेको इतिहास

र टेबलको दस्तावेजहरू

मनगङ्न्ते, वाहियात,

दन्ते कथा नै लाग्छ भने

पहाडको डाँडातिर

फरूवा र गैंतिले गहिरो खनि हेर्नु

नत्र

प्रत्येक बर्खा धस्किरहने

पहिराहरूमा राम्ररी नियाल्नु

भेट्नेछौ

माटोमा दबिएको कुनै

आदिम खोपडी

र केही पुराना अस्थिका टुक्राहरू

 

इलेक्ट्रोनिक माईक्रोस्कपको

धारिलो आँखाहरूमा राखेर

धित मरून्जेल

शुक्ष्मतम् परीक्षण गर्नु

सक्यौ भने

तिमै प्रयोगशालामा,

कार्बन डेटिङ्ग गराउनु

अनि खुट्याउनु, यसका हरेक

रेडियो एक्टिभ कार्बनका परमाणुहरू

तब थाहा लाग्नेछ तिमीलाई

मेरो अस्तित्वको उमेर ।

 

थमाई दिनु त्यो बुढो खोपडी

तिम्रो अनुभवी कारिगरको हातमा

अनि

मिहिन फरेन्सिक रीकन्स्ट्रकशन गराउनु

ठिङ्ग उभिनेछ

एउटा चिम्से पहाडी अनुहार

तब पत्तो पाउँनेछौ तिमीले

माटो र मेरो सम्बन्धको

अपरिमेय गहिराइ।

 

सन्धि र त्यसको अनुच्छेदहरूको

बुई चडेर, नाघेको कहाँ हो र

सिमानाका रेखाहरू मेरा पुर्वजहरूले

यो देश भन्दा जेठो छ

तिमीले देख्ने

चियाका बुट्टाहरू

टाउन हलका भित्ताहरू

यदि

अझै चित्त बुझेन भने

बोलाउनु कञ्चनजङ्गालाई

उभ्याउनु महाकाललाई

तिम्रो कठघरामा

अनि तेरस्याउनु

शंकाका तिम्रा प्रश्नहरू

सत्ते होला साथी

झुट बोल्दैन कञ्चनजङ्गा

झुट बोल्नै जान्दैन महाकाल पनि।।


 

क्रचेट क्वेभर सेमीक्वेभर

कविज्यु

कुनै धुरन्धर संगीतज्ञले कोरेको

फिल्हार्मोनिक ओर्केष्ट्राका स्कोरहरुबाट निस्किने

सुमधुर सुरहरु जस्तै

अबिबादित हरफहरु पनि फु रु रु उडेर आवोस

अनि बनोस 

हाम्रो युगको एउटा कर्णप्रिय कविता

 

यहुदि मेनुहिनको  सिद्धहस्त औलाहरु

स्ट्रेडिभेरियसको चम्किलो कालो नेक माथि

स ल ल बाधारहित दौडदा उत्पन्न हुने

कम्पन अनि जादुई धुनहरु जस्तै

मलिन होस् एउटा कविता

 

सिम्फोनीको पहिलो मुभमेण्टले

चट्ट छोए जस्तै

यसका शब्दहरुको पनि

गजबको सम्मोहन होस्

एन्टोनियो भिभाल्डीको

एफ माईनरमा कुद्ने विन्टरले

चिसो सप्को हाने झै

पियानोको हल्का प्रहारसगै

फर्फराउदै जाग्ने

एडवर्ड ग्रेगको पुतलिहरु एक साथ   भु रु रु रु उडे जस्तै

आभास  जन्माउन सक्षम होस्

एउटा कविता

 

चुनिएका क्रचेट क्वेभर सेमीक्वेभरहरुका

सुनियोजित संयोजन जस्तै

खिप्ती गरि कुदिएको होस्

बेजोड बिम्बहरु यसको छातीभरि

अनि बनिएको होस्

एउटा ओजोस्वी कविता

 

अन्तिम मुभमेण्ट जस्तै

रोमान्चित पार्ने  तत्वहरु 

लछप्रै उमारिएको होस्

रस होस्, रोमैन्स होस्

जोश होस् , आक्रोश होस्

शब्दहरु उम्लियोस

अनि 

अक्षरहरु नाँचोस् आँखैभरी

आरोह र अवरोहको मिठो

उतार चडाउमा बग्दै

आवाजहरु अग्लियोस

सबै पराकाष्ठाहरु नाघ्दै

दिमाग हल्लियोस

जोरदार धमाका होस्

अनि

टक्क अडियोस

बनोस मस्तिष्कभरि  

हरेक शब्द पाइलाका अमेट डोबहरु

कविज्यु

म यस्तै एउटा कविता खोज्दैछु

एउटा म्युजिकल कविता ।।


 

आँखाहरू

घरमा आँखाहरू गाँउमा आँखाहरू

गल्ली सडक हाटघर मेलापात

शहर बजार समारोह महोत्सवहरूमा

आँखाहरू आँखाहरू आँखाहरू

हरपल चारैतिर छन् आँखाहरू

 

निर्जन ठानिने ठाउँहरूमा पनि

चिहाइरहेका हुन्छन्

टाढाबाट केहि  डिजिटल आँखाहरू

आँखाहरू आँखाहरू आँखाहरू

 

मन हर्न आउँछन् केहि

लाम्चिला आँखाहरू

सम्मोहित पार्दै जान्छन् केहि

गोला गोला आँखाहरू

आँखैमा विलाउँन आउँछन् केहि

लजालु चिम्सा आँखाहरू

जुझ्न बाध्य बनाउँदै आउँछन् केहि

बदामी आँखाहरू

आँखाहरू आँखाहरू आँखाहरू

थरिथरिका आँखाहरू

 

सडकभरि दौडिन्छन् केहि

बैशालु आँखाहरू

गोरेटोभरि कुरी रहन्छन् केहि

प्रतिक्षारत आँखाहरू

नवजात शिशुलाई एकोहोरो हेरिरहने

आमाका ममतामय आँखाहरू

खाली खुट्टा स्कुल हिडेको

अबोध छोरालाई हेरिरहने

बाबाका विवश आँखाहरू

केहि निर्दोष आँखाहरू

केहि निष्कपट आँखाहरू

रंगिन सपनाहरू बोकि हिडने

जोशिला युवा आँखाहरू

मोबाइलमा मेसेज पढिरहेका

व्याकुल आँखाहरू

खलिमट्टि खेलाउदै कमजोर बनेका

केहि धुमिल आँखाहरू

कविताका हरफहरूमा झुम्दै गरेका

केहि भावुक आँखाहरू

वृद्धाश्रममा छटपटाइ रहेका

अवहेलित  रसिला आँखाहरू

आँखाहरू आँखाहरू आँखाहरू

वारिपारि छन् धेरै आँखाहरू

 

जिन्दगीको मोडहरूमा भेटिन्छन्

केहि निख्खुर काला आँखाहरू

केहि हल्का निला आँखाहरू

केहि खैरा आँखाहरू

केहि झिल झै हरिया आँखाहरू

आँखाहरू आँखाहरू आँखाहरू।

 

हसिला आँखाहरू रसिला आँखाहरू

मायालु आँखाहरू प्रेमिल आँखाहरू

चञ्चल आँखाहरू गम्भीर आँखाहरू

चम्किला आँखाहरू निदौरा आँखाहरू

उत्साहित आँखाहरू हतोत्साहित आँखाहरू

नशालु आँखाहरू कामुक आँखाहरू

ईष्यालु आँखाहरू लोभी आँखाहरू

हर्षित आँखाहरू शोषित आँखाहरू

केहि रंगिन आँखाहरू केहि बेरंग फिक्का आँखाहरू

आँखाहरू आँखाहरू आँखाहरू

वारिपारि मडारिरहन्छन्

आँखाहरू आँखाहरू आँखाहरू

 

केहि आँखाहरू माया छर्दै आए

केहि आँखाहरू आँखा तर्दै गए

केहि आँखाहरू मुटुमै गढे

केहि आँखाहरू नचाहदा नचाहदै

आँखाबाट झरे

म यस्तै आँखाहरू सम्झँदैछु यो पल

जो आँखाहरू निशब्द रस्सिएर टाढिए

आँखाहरू आँखाहरू आँखाहरू

 

प्रार्थनामा बन्द भएका आँखाहरू

उत्पीडित लाटो आँखाहरू

मृत्युसंग युद्ध हारेका निष्प्राण आँखाहरू

भोका आँखाहरू नाङ्गा आँखाहरू

व्यथित आँखाहरू असन्तुष्ट आँखाहरू

आक्रोशित आँखाहरू विद्रोही आँखाहरू

शहरभरि भेटिन्छन् केहि

विभाजित आँखाहरू

धूलो हाल्ने आँखाहरू

शंकास्पद आँखाहरू

हजारौ छन् थरिथरिका छन्

आँखाहरू आँखाहरू आँखाहरू

म चौबाटोमा उभिएर  नियाल्ने गर्छु

प्रत्येक बटुवाको आँखाहरूमा

म खोजीरहन्छु यो आँखाहरूको भिडमा

एउटा सौम्य शान्त करूणामय

हो हजुर

म बुद्धको आँखाहरू खोज्दैछु।।


 

टाईम मसिन

यदि,

प्रकाशको गति भन्दा छिटो कुद्न सक्ने भए

प्रकृतिको नियमहरु उछिन्दै

अनि

समयको साङ्लोहरु तोडदै

घडीका काँटाहरु फनफन्ति उल्टो घुमाएर

एउटा वर्म होल बनाउने थिए

अनि

त्यँहि बाट फुत्त छिरेर

विचरण गर्न पुग्थे

त्यो समय

जहाँ झवाम्म फुटेको थियो

एउटा संसार

अचानक छुटिएका थिए

एउटा मायालु हात

 

हो 

त्यहि समयमा मलाई पुग्नु छ

अनि भेट्नुछ उनलाई

 

बर्षौ देखि ओभानो मेरो अंगालोमा

छप्प बाँधेर

मनै बाट सुन्नु छ

मुटुका हरेक स्पन्दनहरु

धेरै बेर चुपचाप

 

हिंड्नु छ केही पाइलाहरु फेरी 

औंलाहरु कसिलो समातेर

 

विसाउनुछ जिन्दगीका हजारौ ब्याथाहरु एकै साथ

न्यानो काखमा अढेसिएर

 

लुटपुटिनु छ विन्दास काखैभरि

त्यसरि नै जसरि लुटपुटिन्थे एक समय

अनि

हेर्नु छ उनको हसिलो अनुहार

एकै पल्ट भए पनि

 

चुम्नु छ उनका हातहरु

अनि

दुवै हात समतेर

भन्नु छ एकै श्वासमा नै

एक घुट्की गंगाजल पिलाउनु

नपाएका पिडाहरु

दुई पाइला अबेर हिंड्दा

गुमाएका अभागि पलहरु

 

हो हजुर मलाई एउटा टाईम मसिन चाहिएको छ

 

सुनाउनु छ  टाढा गएकी मेरी आमालाई

छाहारी बिनाको  टुहुरो  कथाहरु

अनि

त्यस पछिका अनेकन कुराहरु ।।


केरकार

म सँधै सम्यक दृष्टि राख्छु-स्याङ्बो ज्योज्यो

तारमित लेप्चा


समराहरुको उडान कवितामा हजुरले भन्नु चाहानु भएको कुरा के हो ? मान्छेलाई बूढो हुदैनहुनु  या त  उमेरले जिन्दगीलाई जितेपछि जिउनु गार्हो हुन्छ भन्ने भय देखाउनु भा हो ?

समराहरूका उडान कविता जिन्दगीको यथार्थलाई लिएर लेखिएको कविता हो। जीवनलाई चित्रण गर्ने प्रयास हो। समयले परिवर्तन ल्याउँछ। आज जन्मेका बालक समयअनुसार बढ्छ अनि बुढो पनि हुन्छ। जन्मेपछि मृत्यु पनि निश्चित छ। यदि यो सत्यलाई बुझेर पनि कसैले मृत्युसँग सधै डराउँछ भने मेरो भन्नु केही छैन तर मेरो कविताले कसैलाई भय देखाएको चै पक्कै होइन। वास्तवमा समराहरू नयाँ जीवनका बाहकहरू पनि हुन। यी समराहरू नै भविष्यमा नयाँ जीवन बन्नेछन् भन्ने सकारात्मक सोच र संदेश पनि छ यस कवितामा।

एउटा जिम्मेवार कविले दिउँसै निदाउन बाध्य भएको समाजलाई जीवनको मोह दिने कि भयमात्र?

भयलाई राम्ररी बुझ्न आवश्यक लाग्छ मलाई । अनावश्यक र अत्याधिक भय अवश्य नै हानिकारक हुन्छन् तर कुनै कुरोको भय नहुनु पनि खतरनाक हुन्छ भन्ने धारणा छ मेरो।

सन्दर्भ कार्बन डेटिङ: तपाईं  वैज्ञानिक हो या कवि?   नेपाली साहित्यमा कविता रुचाउने पाठक जसलाई विज्ञान विषय केही ज्ञान हुँदैन, उसले तपाइँको कविता अङ्गीकार गर्न गाह्रो पर्दैन त?

विज्ञानको छात्र भएको कारणले विज्ञान मेरो चासोको विषय हो। वैज्ञानिक चैं म होइन अनि कवि बन्ने प्रयासमा छु।

विज्ञानको जटिल विषयहरूले निश्चय नै पाठकहरूलाई गाह्रो पर्न सक्छ यसैले यस विषयमा म सधै सजग भएर नै लेख्ने प्रयास गर्छु। सबैले जानेको अथवा दैनिक जीवनमा हामीले बुझिरहेका, चर्चा गरिरहेका बिषयहरूलाई नै मेरो लेखनीमा समावेश गरिरहेको छु।

वास्तवमा भन्ने हो भने आजका पाठकहरू हामीले सोचे भन्दा धेरै विज्ञ र जानकार भएको मेरो अनुभव छ।

कविहरूले आआफ्नो बिषयहरू माथि कलम चलाई रहेका छन्। कसैले प्रेम कसैले प्राकृति इत्यादि इत्यादि म विज्ञानका कुराहरूमाथि कविता कोर्दैछु जसको मुख्य उद्देश्य विज्ञानका विद्यार्थीहरूलाई पनि साहित्य प्रति आकृष्ट गराउनु हो।

हाम्रो समाजमा विज्ञान र साहित्यलाई नदीको दुई किनार जस्तै ठान्ने जमात भएकोले एउटा साघु तयार गर्ने जमर्को गरेको मात्र हो। आफूले पढेको जानेको अनि उनीहरूको रूचीका कुराहरू साहित्यिमा भेटे निश्चय नै विज्ञानका विद्यार्थीहरूले पनि साहित्य रुचाउँनेछन् र हाम्रो साहित्य अझ सम्बृद्ध बन्नेछन् भन्ने लाग्छ।

सन्दर्भ क्रचेट क्वेभर सेमीक्वेभर: हजुरलाई  नेपाली साहित्यप्रेमी कवि भन्नु कि सङ्गीतप्रेमी कवि भन्नु?

जिन्दगीको धेरै वर्षहरू मैले सङ्गीतमा बिताएको हुनाले सङ्गीत प्रिय छ मलाई।

मलाई साहित्य र सङ्गीत दुवै मन पर्छ।

सन्दर्भ क्रचेट क्वेभर सेमीक्वेभर: एउटा कविता सङ्ग्रह प्रकाशित भइसकेपछि पनि आफैलाई मन पर्ने कविता लेख्न नसकेको पीडा पोख्नु भएको हो?

एउटा उत्कृष्ट कविता रचना गर्नु सबै कविको चाहना हुन्छ । म पनि प्रयत्नरत छु। उम्दा कविता लेख्न नसक्नुको पिडा हरदम रहन्छ नै अनि यहि पिडाले एउटा कविलाई लेखिरहने आवश्यक  उर्जा र हौसला दिन्छ भन्ने मेरो विचार छ।

सन्दर्भ आँखाहरु: वर्तमान व्यथित पहाडको अवस्थाबारे सबै कविहरुले  आगोको कविता लेखिरहेको बेला तपाईंले चाहिँ आँखाको कविता लेख्नु भएछ।  त्यो पनि  बुद्धको आँखा खोज्दै। यो के पागलपन हो?

क्षेत्रीय व्यवस्था, अवस्था र स्थानीय समस्याहरू बारे मैले पनि केही कलम चलाएको छु। क्षेत्रीय बिषयहरूदेखि अलिक उठेर पनि केही लेख्निनु पर्छ भन्ने मेरो पनि विचार हो। यसको अर्थ क्षेत्रीय बिषयमा लेख्दै लेखिनु हुन्न भन्ने पनि कदाचित् होइन।

कवितामा आगो बोक्न सक्ने क्षमता भएका धेरै मित्रहरू छन्। मलाई राम्रो लाग्छ पनि तर सबैको बेग्लाबेग्लै शैली र विचार पोख्ने तरिका हुन्छन्। मेरो कसैलाई होच्याउने र कसैलाई माथि उचाल्ने प्रवृत्ति छैन। म सँधै सम्यक दृष्टि विकास गर्ने प्रयासमा छु। यसैले बुद्धको आँखाको खोजी हो। यदि कसैलाई यो मेरो पागलपन लाग्छ भने सबै कविहरू कुनै रूपमा पागल त हुन्छन् नै होइन र?

यदि तपाईंको सामु कोही आएर हजुर त अचम्मै सुन्दर हुनुहुन्छ भन्यो भने   हजुरलाई सुन्दर देख्ने आँखालाई कस्तो आँखा देख्नुहुन्छ?

Beauty lies in the eyes of the beholder.  सुन्दर मन हुन्छन् र त सुन्दर देखिन्छन् भन्ने विचार छ मेरो।

सन्दर्भ टाइम मसिन: आमा बिना जीवनमा अरुको कुनै कुराको मूल्य नै छैन। आमाको माया बिना हाम्रा सबै सफलताका कथाहरू टुहुरा हुन्छन्।  तपाईंको निम्ति आमा नै सबैभन्दा महानअनि बाबा चाहिँ के त?

टाइम मसिन निश्चय नै आमा माथि लेखिएको कविता हो। एउटा घरमा आमा र बाबाको समान योगदान बलिदान र सङ्घर्ष रहेको हुन्छ। बाबा पनि उतिकै महत्वपूर्ण हुन्छन् अनि बाबा सँधै ओझेलमा परेको मलाई पनि भान हुन्छ। बाबाबारे पनि लेखिनु पर्छ भन्ने अडान छ मेरो पनि।

नारीको स्थान पुरुषभन्दा माथि हुनुपर्छ। कतिपय कारणले शारीरिक अवस्थामा नारी कम्जोर हुन्छ तर वैचारिक तुलनामा नारी पुरुषभन्दा हजार गुणा शक्तिशाली हुन्छ। के यो सही हो?

एक्काईसौ शताब्दीमा नारी र पुरुष एक समान छन भन्ने मलाई लाग्छ। नारीहरू पनि सबै क्षेत्रमा सबल र सशक्त छन्। अहिलेका नारीहरूलाई कमजोर ठान्नु सही नहुन सक्छ।

समग्रमा हजुरका कविताहरू सशक्त छन्। हजुरले कविको उत्तरदायित्वलाई कसरी व्याख्या गर्नुहुन्छ?

कविले कविता मार्फत समाजलाई मार्गदर्शन गरिरहेका हुन्छन्। समाजमा भइरहेको बिसङ्गतीहरू अनि समस्याहरू बारे सबैलाई सचेत गराउनु अनि साहित्यको संरक्षण र संवर्द्धनमा कविको मुख्य भूमिका रहेको हुन्छ। यसैले कविहरूले उत्तरदायित्वपूर्वक लेख्नुपर्छ भन्ने मेरो बुझाई छ।


 

काव्यम् टिप्पणी

सूक्ष्म मानवीय भावका हृदयस्पर्शी कविता

महेश पौड्याल


अज्ञात एक कविका पाँच कविताहरूको एउटा अत्यन्त प्रारम्भिक तहको सिंहावलोकन गर्दा लाग्छ, उनी विषयको विविधीकरणमा विश्वास राख्छन् र आफ्नै कविताभित्रै विषयहरूको पट्टेरलाग्दो पुनरावृत्तिदोषबाट आफूलाई पूर्ण सचेतताका साथ पृथक राख्ने निरन्तर कोशिस गरिरहन्छन्। उनका कविताले समेटेको भावको रेञ्ज ठूलो छ, भूगोल पूर्व र पश्चिमका विविध क्षेत्र हुन्, समय प्राचिन र अर्वाचिन दुवै हुन्, चिन्तन् पद्धति वैज्ञानिक छ, र चिन्ता मान्छेका सूक्ष्म भावनाहरूको सम्यक् सम्वोधन र मनका ससाना घाउहरूको एउटा प्रेमपूर्ण उपचारको अभीष्टका वरिपरि केन्द्रित ती कविता केन्द्रित छन्।

कविता कुनै ठूलो दार्शनिक मान्यताको व्यतिरेकमा, अथवा कुनै स्थापित मान्यताको विरोध, सन्सोधन अथवा पुनरव्र्याख्यामा केन्द्रित छैनन्। परिवर्तनको कुनै ठूलो आँधीबेहेरीको वकालत पनि यी कविताले गर्दैनन्। मान्छेभित्रको संसार, विशेष गरी सम्झनाको तरेलीमा अल्झिबसेको अतीतका मृदु यादहरूको बाडुल्की, आफ्नो स्वको खोजी, इतिहासका भासहरूले पुरेको पहिचानको उत्खनन् तथा शान्तिको खोजी यी कविताका मूल अभीष्ट रहेको प्रतीत हुन्छ। स्थानीय, वैश्विक, वैज्ञानिक, पश्चिमा सङ्गीतका तथा गाम्बेसीका बिम्ब, उद्धरण र उपकरणहरूको प्रयोग यी कविताहरूमा पाइन्छ।

यस समीक्षाका लागि लिइएका कविताहरू हुन्, “समराहरूको उडान”, “कार्बन डेटिङ्ग”, “क्रचेट क्वेभर सेमीक्वेभर”, “आँखाहरू” तथा “टाइम मसिन” ।

समराहरूको उडान

यो कविता बितेको समयप्रतिको एउटा विषदपूर्ण संवाद हो र केही हदसम्म  वाल्यकालको नोस्टाल्जिया तथा वृद्धावस्थाको विलाप हो। कवितामा एउटा व्यक्तिका दुई फरक फरक समयको चित्रण छः वाल्यावस्थाको र बुढेसकालको। वाल्यावस्थामा मेपलको समरा अर्थात् वीउयुक्त भुवाको उडानको चित्रण गरिएको छ।

कवितामा उल्लिखित बालक, वाल्यावस्थामा मेपलको रुखमुनि जान्थ्यो, मेपलका समराहरूको उडान हेर्थ्यो र हेलिकप्टरले जस्तै उन्मुक्त त्यो उडान हेरेर आफ्ना स्वतन्त्र रहरहरूको उन्मुक्त उडानको कल्पना गर्थ्यो। तर समयसँगसँगै चिउँडोमा हात तथा ह्विलचियरमा कुहिनो टेकेर बूढो नजरले समराको उडान हेर्न विवश एक वृद्धसँग अब समरासँगै नाच्ने र रमाउने जोश छैन।

अर्थात्, ऊ बूढेसकालको समयको बन्धनमा छ। यस अर्थमा, यस कविताले एउटा शाश्वत मानीवय यथार्थलाई सम्बोधन गरेको छ र उमेरका कारणले मान्छेका रहरहरूमाथि बलात बज्रने शिथिलताहरूको स्मरण गराएको छ, यसरीः

बाहिर फेरि हावा चल्यो

समराहरूले उडान भरे

बूढो नजरले हेरिरह्यो

चिउँडोमा हात

ह्विलचियरमा कुहिना टेकेर

समराहरूको त्यो विस्मयकारी उडान ।।

तर, यस कविताले केही प्रश्नहरू पनि जन्माएको छ । पहिलो, यो कविताको कथ्य त्यो विषय हो, जसका बारेमा लेखेरै विलियम बटलर यिट्सले प्रसिद्धि कमाए । खोसिएको समय र बलात आइलागेको बूढेसकालका कुरा र गुमेको वाल्यकालको मृदुलता उनका धेरै कविताको विषय हो ।

उनको “द लेमेन्टेशन आफ द ओल्ड पोन्शसनर” शीर्षकको कविता तथा यहाँ चर्चा गरिएको कविताका कथ्य एकै हुन् । यस अर्थमा, यस कविताले कथ्यको पृथकताका सम्बन्धमा प्रश्नहरूको सामना गर्नुपर्ने देखिन्छ । दोस्रो, यस कविताको शीर्षकमा र कविताभित्र पनि प्रयोग गरिएको “समरा” ठेट नेपाली पनि होइन, र आम पाठकको सक्रिय शब्दशक्तिभित्रको शब्द पनि होइन । र अर्को कुरा, हावाको चालसँग घुम्दै भुइँतिर खसेका समराको चाललाई प्रतिबिम्बन गर्न कविले निकै क्लिष्ट उपमाहरूको प्रयोग गरेका छन्, जसले कवितालाई निकै दु्रूह तुल्याएको छ । उदाहरणका लागि तल दिइएका हरफहरूमा प्रयुक्त दरवेश, फिर्की,  वर्लिग, लो ब्याक स्पिनजस्ता सुफी परम्पराका तथा खेलकुदका पनि अन्तर्यका शब्दहरूको प्रयोगले कविताको यो अंशलाई शब्दभीरू, कम सम्प्रेष्य तथा साधारण पाठकको पहुँचभन्दा बाहिर पुऱ्याएको छ :

एउटा उन्मुक्तिको अद्भुत नाच

कुनै सुफी दरवेशले

मस्त ध्यानमा घुमेको

एउटा चक्करदार फकिरी फिर्की

एउटा सुफी वर्लिग जस्तो

कुनै निपुण आइस स्केटरको

शानदार लो ब्याक स्पिन जस्तो

फिरिरि फिरिरि फिरिरि

खस्थ्यो

कार्बन डेटिङ्ग

“कार्बन डेटिङ” एउटा छोपिएको पहिचान, झड्कारिएको इतिहास र पुरिएको यथार्थको उत्खननको पक्षका लेखिएको कविता हो । यस कवितामा एउटा “चिम्से पहाडी” मान्छेको हाँक समेटिएको छ, जसले आफू उल्लिखित भूमिका श्रृष्टिको सुरुवातदेखि नै बस्तै आएको दावी गरिरहेको छ । उसले आफ्नो बसोबासको प्रचीनताको साक्षीका रूपमा कन्चनजंघा हिमाल र भगवान महाकाललाई उभ्याएको छ । यी दुई साक्षी—कन्चन्जङ्घा हिमाल र भगवान् महाकाल—दार्जीलिङका पहाड वरिपरिका बिम्ब भएकोले कविताको रचनाको भूगोल पनि दार्जीलिङ नै भएको ठम्याउन सकिन्छ । कवितामा, उक्त “चिम्से पहाडी” को उत्पत्ति, आगमन र पहिचानको सम्बन्धमा धेरै भ्रामक सङ्कथनहरू फैलाइएकोले उसको राज्यको इतिहासको पुनरपठन जरुरी रहेको तर्क कविताको समाख्यताको छ । यी हरफहरू हेरौँ:

सन्धि र त्यसको अनुच्छेदहरूको

बुई चडेर, नाघेको कहाँ हो र

सिमानाका रेखाहरू मेरा पुर्वजहरूले

ऊ सायद सन् १८१४ को सुगौली सन्धीको कुरा गरिरहेको छ, जसअन्तर्गत, प्रविधिक कारणले दार्जीलिङ नेपालबाट भारतका पर्न गयो । यस ऐतिहासिक परिघटनामा टेकेर दार्जीलिङका रैथाने नेपालीलाई सन्धीपछि नेपालबाट भारत पसेका आप्रवासी भन्ने तुच्छ लान्छना पनि लगाइयो र दोस्रो दर्जाका नागरिकको रूपमा हेरिने प्रचेष्टा पनि गरियो । सम्भवतः कविले त्यसप्रति विद्रोह गरेका हुन्, र आफ्नो उत्पत्तिकथा यसै माटोमा आदिमकालमा भएको तर्क गरेका हुन् ।

यस कवितामा कविले कार्बन डेटिङ भनिने, कुनै पनि वस्तुको उमेर मापन गर्ने वैज्ञानिक विधिको उल्लेख गरेका छन् । कुनै पनि जैविक वस्तुमा, कुनै न कुनै परिमाणमा कार्बन १४ विद्यमान हुन्छ र विकिरणको रेडियोधर्मी क्षयीकरणका कारण उक्त कार्बनको परिमाण क्रमशः घट्दै जान्छ । घटेको परिमाणका आधारमा उक्त जैविक वस्तुको मोटामोटी आयु निर्ख्यौल गर्न सकिन्छ । कविले यस ज्ञानमा टेकेर आफ्नो नश्लको आयुको मापन गर्न इतिहास बिगार्नेहरूलाई चुनौती दिएका छन् ।

यस कविताले, समाज वा देशमा प्रभुत्वशाली वर्गले अल्पसङ्ख्यकबारेका सत्यतथ्य र इतिहासलाई सधैँ केरमेट गर्ने गरेको, तोडमरोड गर्ने गरेको अथवा बङ्ग्याउने गरेको कुरा स्वीकार गरेको छ । त्यस कपोलकल्पित इतिहासको विपठन तथा सत्यको सम्यक् निरुपणका लागि वैज्ञानिक ढङ्गबाट पुनर्अनुसन्धान जरुरी भएको तर्क गरेको छ । तर, कविताले दुईवटा प्रश्न भने फेरि पनि जन्माएको छ । पहिलो, वैज्ञानिक अनुसन्धानमा विश्वास राख्ने कविले आफ्नो आदिमताको दलिल प्रस्तुत गर्न किन महाकाललाई खडा गरेका होलान्, जोसँग कुनै अन्धविश्वास जोडिएको छ? दोस्रो, कुनै “चिम्से पहाडे” को विरादरीलाई सम्बोधन गर्ने यस कविताले वैज्ञानिक बिम्बको प्रयोगका नाममा इलेक्ट्रोनिक माईक्रोस्कप तथा फरेन्सिक रिकन्स्ट्रकशनजस्ता क्लिष्ट वैज्ञानिक कुरालाई समाविष्ट गरेर साधारण पाठकमाथि यो दुरुहताको बोझ किन थोपरेका होलान्?

क्रचेट क्वेभर, सेमीक्वेभर

यो कविता एउटा अधिकवितात्मक कविता हो । यसले सायद कवितामा साङ्गितिकता, लालित्य र माधुर्य दिनदिन ह्रास हुँदैगरेको यथार्थलाई विषयवस्तु बनाएको छ । कविको कल्पनामा एउटा आदर्श कविता सङ्गीतका हृदयस्पर्शी मूच्र्छनाहरूजस्तै कोमल र लालित्यपूर्ण हुनुपर्छ भन्ने मान्यता छ । अविछिन्न सङ्गीत प्रवाहले उत्पन्न गरेको कम्पन र जादुई धुनजस्तै होस् कविता भन्ने कविको मान्यता रहेको देखिन्छ । गजबको सम्मोहन भएका शब्दहरूको तरङ्गबाट उठोस् कविता, रोमाञ्चित पर्ने तत्वहरूले भरिएको, रस रोमान्स, जोश र आक्रोशले भरिएका शब्दहरूमा मस्ष्कि हल्लाउने ल्याकत होस्, जस्तो एउटा उच्चकोटिको सङ्गीतमा हुन्छ । कवि लेख्छन्ः

अक्षरहरू नाचोस् आँखैभरि

आरोह र अवरोहको मीठो

उतार चडाउमा बग्दै

आवाजहरू अग्लियोस्

सबै पराकाष्ठाहरू नाघ्दै

दिमाग हल्लियोस

जोरदार धमाका होस्

अनि

टक्क अडियोस्

बनोस् मस्तिष्कभरि

हरेक शब्द पाइलाका अमेट डोबहरू

कविज्यू

म यस्तै एउटा कविता खोज्दैछु

एउटा म्युजिकल कविता ।

कविता मस्तिष्कविलासी र हृदयविलासीको दुई अतिवादी कित्ताहरूको तानातानमा परेर दुर्घटित हुँदैगरेका बेला कविलाई एउटा सन्तुलनको आवश्यकताले झक्झक्याएको प्रतीत हुन्छ । उनले कविता सङ्गीतजस्तो होस् भनिरहँदा कविताको स्वरूप र निनादको कुरा गरेका जरुर हुन्, तर उनले कविताको कथ्यको बारेमा पनि केही भन्न छुटाएका छैनन् । सङ्गीतको झंकारमा घोलिएर आउने, उनको कल्पनाको कविताले “दिमाग हल्लियोस्, जोरदार धमाका होस्, बनोस मस्तिष्कभरि हरेक शब्द पाइलाका अमेट डोबहरू” भन्ने आशय राख्नु नै कवितामा रूप र कथ्यको संतुलनको वकालत हो ।

कुरा मनासिप हो, र भाव सुन्दर । कविता शब्दलालित्य र भावको शक्तिको सन्तुलित स्वरूप नै हो । तर, कविताका बारेमा चल्दै आएको यो एउटा आदिम बहस हो, र एउटा औसत निचोड पनि हो । त्यसैले, कथ्यैकै तहमा यस कविताले कुनै नयाँ कुरा गरेको ठहर्दैन । हो, यस कविताले पाश्चात्य सङ्गीतका कतिपय पक्षलाई जसरी टेकेको छ, त्यसले कथ्यको सम्प्रेषणलाई नवीन कलेवर अवश्य दिन्छ । तरै पनि, पाश्चात्य सङ्गीतसँग खासै परिचित नरहेको एउटा पाठकका लागि क्रचेट क्वेभर, सेमीक्वेभर, फिल्हार्मोनिक अर्केष्ट्रा, यहुदि मेनुहिन, स्ट्रेडिभेरियस, एन्टोनियो भिभाल्डीका एफ माईनर, एडवर्ड ग्रेगको बटरफ्लाई, क्रचेट क्वेभर सेमीक्वेभर आदि शब्दहरूको भारी त्यति उचित देखिँदैन । कविले नेपाली लोकसङ्गीत अथवा पूर्वीय शास्त्रीय सङ्गीतलाई पनि त आधार बनाउने सक्थे !

आँखाहरू

“आँखाहरू” सम्यक् दृष्टि र शान्तिको खोजीको कविता हो । आँखा मानवीय भावहरूको दर्पण पनि भएको हुनाले कवि ती भावहरूको विविध रूप र विस्तारको आधारविन्दु मानिसहरूका आँखालाई बनाउँछन् । कविताभित्र उनी धेरै खाले आँखको चर्चा गर्छन्, र तिनमा देखिएको विविध भावको पनि चर्चा गर्छन् । त्यस चर्चामार्फत उनले मानव वस्तीको आयतन घर, गाउँ, सहर, बस्ती, निर्जन बगरहरू तथा नजिक र टाढाका मुलुकहरूलाई समेटेका छन् । ती विविध थरीका, विविध आकारका, र विविध रङ्गका आँखाहरूमा उनी मानवीय स्वभाव, दोष, माया, बास्ना, महात्वाकांक्षा, चंचलता, आशा, निराशा, कुण्ठा, प्रेम आदि गुण र अवगुणहरू देख्छन्, तर उनले खोजेको आँखा यस्तो छः

म चौबाटोमा उभिएर  नियाल्ने गर्छु

प्रत्येक बटुवाको आँखाहरूमा

म खोजिरहन्छु यो आँखाहरूको भीडमा

एउटा सौम्य शान्त करूणामय

हो हजुर

म बुद्धको आँखाहरू खोज्दैछु ।

यो कविता निकै सरल छ, र सलल बगेको छ । आँखालाई बिम्ब बनाएर सम्पूर्ण मानवीय स्वभाव, गुण र दोषहरूलाई सम्प्रेष्य भाषामा प्रस्तुत गरिएको पनि छ । तर, यो कविता यति लामो हुनुपर्ने जरुरी देखिँदैन । शब्दहरूको लामो सूची, र पुनरावृतिको दोष यस कविताका सीमा हुन् । र कविले जुन उपक्रमद्वारा बुद्धका आँखाहरूको खोजी गरेका छन्, त्यो उपक्रम आफैँमा त्यति न्यायसङ्गत देखिँदैन । “चौबाटोमा उभिएर” नियाल्दा कहाँ भेटिएला बुद्धका आँखा? नियालेरै बुद्धका आँखाको प्राप्तिको कामना जसरी यस कवितामा गरिएको छ, त्यसले बुद्धत्व र चीर शान्तिका लागि आवश्यक तप, संयम, योग, ध्यान र साधनाको मार्गलाई उपेक्षा गरेको छ, तर यस कठोर तपको प्राप्तिलाई एउटा सरल उपलब्धिको रूपमा चित्रित गरेको छ । यस कविताको यो गम्भीर तथ्यतग दोष हो । यसले बुद्धको अष्टाङ्गिक मार्गको अवमूल्यन गरेको छ ।

टाइम मसिन

यस समीक्षाका लागि उठाइएको यो पाँचौँ कविता हो । यस कवितामा पनि सुदूर अतीतको मृदु सम्झना गरिएको छ, र आमाको अभावलाई उठाइएको छ । आमाविहीन संसारमा बाँचेर, अनेकौँ हण्डर खाएर विरक्तिएका कविले एउटा टाइम मसिनको कल्पना गरेका छन्, जसमार्फत उनी त्यस समयमा पुग्न चाहान्छन्, जुन बेला उनी आमाको काखमा थिए, र पूर्णतः सुरक्षित थिए । कविताको शीर्षक “टाइम मसिन” राखिए तापनि कविताको मूल भाव आमाको सामीप्य र त्यसले दिने सुरक्षा र भरोसाको भाव नै हो । कवि भन्छन्ः

हो हजुर मलाई एउटा टाइम मसिन चाहिएको छ

सुनाउनु छ  टाढा गएकी मेरी आमालाई

छाहारी बिनाको  टुहुरो  कथाहरू

अनि

त्यसपछिका अनेकन कुराहरू

 यस कवितामा कविले सटिक मान्यता राखेका छन्, कि आमा गुमाएको एउटा वयश्कका लागि जिन्दगी निकै दुष्कर हुन्छ । हजारौँ व्यथाहरूले किचेको जिन्दगीका सुस्केरा बिसाउने ठाउँ आमाको काखभन्दा पर कहीँ पनि पाइँदैन । यो पनि सत्य हो । र सत्य हो, आमालाई अत्यन्त बढी सन्तानको आवश्यकता परेका बखत उक्त सन्तान घरमा नहुनु, नजिकै पनि नहुनु र एकमुठी पानी पिलाउन नसक्नुको ग्लानिबोध निकै तीतो हुन्छ । त्यसबेला, सायद मान्छेले कविलेजस्तो कुनै टाइम मेसिनको कल्पना गर्छ, र त्यस अतीतमा फर्कने कामना गर्छ, जहाँ आमा छिन्, उनको मायालु काख छ, मनको बह बिसाउने ठाउँ छ, र आमाको सेवा गर्ने मौका सन्तानका हातमा पनि छ ।

तर कविताको कथ्यमा नवीनता तथा पृथकताको प्रश्न फेरि पनि उभिन्छ । आमाको अभाव र यसको पीडा पुरानो विषय हो, यद्यपि यसको स्पर्शशक्ति विश्वजनीन्, समयातीत र सर्वस्पर्शी हुन्छ । र अर्को प्रश्न पनि छ, यति मृदु र भावनात्मक विषयको कविताको बीचमा कविले “वर्महल” को कुरा गरेर किन पाठकलाई अल्मल्याएका होलान्? यसै पनि वर्महल सामान्य वैज्ञानिक अवधारणा होइन । दोस्रो, समयको प्रतिगणनासँग यसको कुनै पनि सम्बन्ध हुन सक्दैन ।

निष्कर्श

यस समीक्षाले समेटेका कवि मान्छेको सूक्ष्म भावतरङ्गसँग परिचित छन्, र कवितामा तिनै भावतरङ्गहरूलाई विषय बनाउन रुचाउँछन् । मूलतः समय, उमेर, वालापन, मातृप्रेम, आफ्नो पहिचान र इतिहासको पुनरपठन यहाँ भेटिएका उनका विषय हुन् । उनी कविताको स्वरूप र कथ्यसँग पनि परिचित छन्, तथा रुमानी र यथार्थवादी दुवै प्रकारका कविता लेख्न सक्तछन् । उनका कवितामा भावपक्ष र कथ्यपक्षको राम्रो सन्तुलन पाइन्छ । समयसँग पनि संवाद गर्छ सक्तछन्, र समयातीत शाश्वत मानवीय मूल्य र भावसँग पनि उनको अनुराग छ । यत्ति हो, कुनै दर्शनको जगमा कविता उभ्याउँदा उक्त दर्शनको मूल भावलाई अझ बलियोसँग उतार्नु जरुरी देखिन्छ । दोस्रो, आयातीत पश्चिमा शब्द तथा सङ्गीत र विज्ञानको अन्तर्यका क्लिष्ट शब्दको अतिशय मोहबाट कविले उन्मुक्ति लिनु नितान्त जरुरी छ । ती शब्दको प्रयोगले कविको ज्ञानको आयतन ठूलो छ भन्ने त देखाउँछ, तर आम पाठकसम्म कविता सम्प्रेष्य भएन भने कविताले लक्ष्य गुमाउने सम्भावना पनि त्यतिकै रहन्छ । त्यसैले, बरु आफूले र आफ्ना पाठकले चिनेजानेको परिवेश र भूगोलबाटै शब्द र बिम्ब सङ्कल गरियो भने कविताले थप गतिशीलता प्राप्त गर्दछ । सरल भएर पनि गहन हुनसकेको खण्डमा कविताको प्रभावक्षेत्र र आयु बढी हुन्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया