काव्यसंवादमा जानुका दाहाल

संवाद

विचारधारात्मक अभिव्यक्ति हो कविता


वास्तवमा कविता कसरी लेखिन्छ, कविता लेख्दा के-के नियममा बाँधिनु पर्छ या पर्दैन मलाई खासै केही पनि ज्ञान छैन। म जहाँ जान्छु त्यहीँ असाहय, गरिब, निमुखा, तल्लो तप्काका मानिसहरूसित अमानवीय व्यवहार, अन्याय, भइरहेको देख्छु।

‘अनि त्यत्रो वलवान सत्ता, क्रमैसित माथिदेखी तल्लोतहसम्म बसेका भ्रष्टचारी, कसैसित लड्न नसकेपनि साक्षरताको धेरै प्रतिशत ओगटिसकेको समाजले उसका चिन्तकहरूले लेखेको कुरा बुझ्ने क्षमता राख्छ अब’ भनेर कविता लेख्छु।

केही शब्दहरू, कम्ति हरफहरूमा धेरै कुरा अटाएका वैचारिक रचना, जसमा कविका आफू वरिपरिको समाज परिवेश देखि लिएर देश दुनियाँप्रतिको दृष्टिकोणको विचारधारात्मक अभिव्यक्ति हो कविता।

कविताले सबै पाठकले बुझ्ने सरल शब्द बोकेर पाठकको मनभित्र पुगेर मस्तिष्कलाई ब्युँझाउने शक्ति बोकेको हुनुपर्छ। अन्धविश्वासलाई पन्साउदै सामाजिक, राजनैतिक, भौगोलिक, संवैधानिक इत्यादि सबै-सबै क्षेत्रलाई पारदर्शितापूर्वक सही सन्देश, विचारलाई मार्गदर्शन गर्नु, छोटा लाइनहरूमा समाजको आँखा अगाडीका अदृष्य पक्षलाई छर्लङ्ग चित्रण गर्नु कविता हो जस्तो लाग्छ मलाई।


आमा दिवस

आमा दिवस मनाउन

365 दिन पार गर्नु पर्छ र?

 

मैले त हिजो पनि आमा दिवस मनाएँ

मेरो निम्ति त्यो असह्य पीडालाई साथी बनाउने

मेरा हरेक तीर्खाको निम्ति

अमृतधारा तयार राख्ने

 

निदाउन नसकेका

प्रत्येक रात

अनिँदोहरूसित संवाद गरिरहने

मेरो मुस्कानलाई

बिहानको घामजस्तै बनाएर

आफू उज्यालो भइबस्ने

 

कोही थिए भने तिनी मेरी आमा हुन्।

 

मेरालागि शब्दहरू सिर्जना गर्ने

र संसारलाई वाचन गर्न सिकाउने

मेरा पाइलाका निम्ति बाटो खन्ने

र कलिला औंलीहरू समातेर बलिया यात्राको सपना देखाउने

कोही थिए भने उनी मेरी आमा हुन्।

 

 

जसको दिवस मनाउन कुनै दिवस पर्खिन पर्दैन

मैले त आज पनि आमा दिवस मनाएँ।

 

जीवनको अर्थ भनेकै उनको अपूर्ण सपना हुन्

जो मेरो हत्केलामा राखेकी हुन्

उनले देखाएको दिशातिर

म जो हिँडिरहेकी छु

त्यो बाटोमा

उनका लर्खरिएका पाइलाहरू मैले सोझो पार्नु छ

मैले हिँड्नु छ

साहसको बाटो।

 

 

हरेर अहसासमा

हरेक सासमा

कोही स्पर्षित छन् भने उनी मेरी आमा हुन्

जसको दिवस मनाउन कुनै दिवस पर्खिनु पर्दैन।

म त अहिले पनि आमा दिवस मनाइरहेको छु।


 

14 नोभेम्बर

मलाई क्यालेण्डरका

कुनै तारिकहरू मन पर्दैन

14 नोभेम्बर बाहेक।

 

किनभने

त्यही दिन त हो

हामी निस्फिक्री खेल्न पाउँछौँ

सर गुरुआमाहरू चक्लेट दिन्छन्

होमवर्क पनि छैन

क्लास वर्क पनि छैन।

 

अरु तारिक त

होमवर्कहरूको थाक खाता बोक्न नसक्ने व्यागले थिच्छ

सर, गुरुआको सिर्कुनाले हत्केला पोल्छ

आमा बाबा

दुशमन बन्छन्।

 

स्कूलबाट घर पुग्न मन लाग्दैन

घरबाट स्कूल पुग्न मन लाग्दैन

 

खाजा खाइसकेपछि किताब खान सकिन्न

खाता खान सकिन्न

खान त गाली मात्र सकिन्छ

अरू तारिकहरू

गाली फुल्ने फुलबारीहरू हुन्।

 

मलाई अलिकति आफैबारे सोच्न मन लाग्छ

अलिकति घरबारे

अलिकति सरबारे

अलिकति रुखपात, माटो र पानीबारे

अलिकति मरद्, तरुणी र नानीबारे

खेलौनाबारे

साथीबारे

हातीबारे।

 

न त स्कूलले

न त होमवर्कले

न त आमाले

न त बाबाले

कसैले पनि मैले चाहेको गर्न दिँदैनन्

मैले चाहेको सोच्न दिँदैनन्।

 

यसै कारण

मलाई क्यालेण्डरका

कुनै तारिकहरू मन पर्दैन

14 नोभेम्बर बाहेक।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया