भीषण आगोले 17 जनाको लियो ज्यान

नयाँदिल्ली, 21 जनवरी


देशको आर्थिक राजधानी मुम्बईपछि दिल्लीको बभानामा शनिवार लागेको भीषण आगोले 17 जनाको ज्यान लिएको छ। यसभन्दा अघि 29 दिसम्बर 2017 -मा मुम्बईको पबमा लागेको आगोमा जलेर 14 जनाको मृत्यु भएको थियो, जबकि 55 जना घाइते भएका थिए। त्यहीं दिल्लीमा घटेको यो भीषण अग्निकाण्डपछि दिल्ली पुलिसले कारबाही गर्दै फ्याट्री मालिक मनोजलाई पक्राउ गरेको छ। दिल्ली सरकारले घटनाको जाँचको आदेश दिएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिजनलाई पाँच-पाँच लाख रुपियाँ, जबकि घाइतेहरूलाई 1-1 लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। यता, प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी घटनाप्रति दुःख प्रकट गरेका छन्। जानकारीअनुसार दिल्लीका बभानामा पहिला एउटा प्लास्टिकको फ्याक्ट्रीमा आगो लाग्यो र फेरि आगो अर्को फ्याक्ट्री र छेवैमा रहेको पटेकाको अर्को फ्याक्ट्रीमा फैलियो। यी तीन फ्याक्ट्रीमा आगो लाग्दा क्षेत्रमा सनसनी फैलियो। फ्याक्ट्रीभित्र रहेका मजदुरहरू यताउता भाग्न शुरु गरे। केही मजदुरले फ्याक्ट्रीको छतबाट फाल हाने। जानकारीअनुसार यो दुर्घटनाको कारण 13 जना पहिलो तला, 3 जना भुइँतला र एकजनाको मृत्यु बेसमेण्टमा भयो। घटनास्थलबाट बेसमेण्टमा एउटा शव प्राप्त भयो, जबकि पहिलो तलामा 13 र भुइँतलामा 3 शव प्राप्त भयो।

मृतकहरूमा 10 महिला छन्। फ्याक्ट्रीभित्र व्यापक मात्रामा पटेकाको प्याकेट प्राप्त भएको छ। यसैकारण पनि आगोले केहीक्षणमै भीषण रूप लिएको हो। बभानामा आगो लागेपछि तत्काल घटनास्थलमा पुगेको उत्तरी दिल्ली नगर निगमकी मेयर प्रीति अग्रवालले दिल्ली सरकारको निन्दा गरिन्। प्रीति अग्रवालले भनिन्, ‘अन्यन्त दुःखको कुरा हो, यति ठूलो घटनापछि पनि दिल्ली सरकारका कुनै पनि प्रतिनिधि यहाँ उपस्थित भएनन्। न त डीएम अपस्थित छन् न त दिल्ली सरकारका कुनै प्रतिनिधि नै।’ अग्रवालले दिल्ली सरकार कहाँ छ भनी मुख्यमन्त्री केजरीवालले जवाफ दिनुपर्ने बताइन्। ‘के यो दिल्लीको क्षेत्र होइन्’, उनले भनिन्।

बाक्लो भीड़ रहेको बभाना औद्योगिक क्षेत्रको सेक्टर पाँचस्थित पटेका फ्याक्ट्रीमा लागेको यो आगोको कारण ठूलो लापरवाही रहेको तथ्य खुलिँदैछ। यहाँ प्लास्टिक सामग्रीको फ्याक्ट्रीको नाममा बिनालाइसेन्सको पटेका फ्याक्ट्री चलाइरहेको थियो। फ्याक्ट्रीमा सुरक्षा मानकलाई पनि किञ्चित पालन गरिएको थिएन। पुलिसअनुसार फ्याक्ट्रीका मालिक मनोज जैनमा कठोर कारबाही गरिनेछ। यतिदिनदेखि बिना लाइलेन्स अवैध रूपमा चलाइरहँदा पनि सम्बन्धिक विभागका अधिकारीहरूले किन यसतर्फबाट ध्यान दिएन जाँच पड़ताल गरेनन् भन्ने प्रश्न पनि चुलिएको छ। सूत्रअनुसार बभाना औद्योगिक क्षेत्रमा यस्ता धेरै फ्याक्ट्री छन्, जसमा लाइसेन्स एउटा नामको तर काम अर्कै हुनेगर्छ। पहिला दमकल विभागलाई प्लास्टिक फ्याक्ट्रीमा आगो लागेको सूचना प्राप्त भयो तर पछि यो फ्याक्ट्रीमा पटेका बनाउने कुरा प्रकाशमा आयो।

शनिवार सामान्यतः बभाना औद्योगिक क्षेत्रका फ्याक्ट्रीहरू बन्द रहन्छन् र यी फ्याक्ट्रीमा काम गर्ने कर्मचारीहरूको साप्ताहिक विदा हुन्छ। यद्यपि शनिवार भएरै पनि यो फ्याक्ट्रीमा काम भइरहेको थियो। स्थानीय मानिसहरूको भनाइ छ, उनीहरूलाई यहाँ पटेका बनाउनेबारे जानकारी थिएन। उनीहरूले बताएअनुसार यहाँ राति पनि काम हुन्थ्यो। फ्याक्ट्रीमा आगोजस्तो दुर्घटनाबाट बाँच्नका लागि यहाँ कुनै उपकरण राखिएको थिएन। यो दुर्घटनाले जहाँ ज्यानमालको ठूलो क्षति भएको छ, त्यहीं अग्निशमन विभाग एवं स्थानीय प्रशासनिक अधिकारीहरूको कार्यशैलीमाथि पनि प्रश्न तेर्सिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया