कृष्ण धरावासीको निबन्ध/ म छु र त…

‘मर्न मन लाग्छ मलाई काल आउँदैन ।’ गणेश रसिकको स्वर र सङ्गीतमा यो गीत मैले खुबै सुनेको छु । जतिपल्ट सुने पनि सुनिरहन मन लाग्छ यो गीत । किन सुन्न मन लागेको होला । मर्न मन लाग्ने गीत किन सुन्नु ? सबै भन्दा अप्रिय, डर लाग्दो, र नकारात्मक अर्थबाहक शब्द हो यो ‘मर्नु’ । तै पनि हामी यसलाई किन मन पराउँछौ ? किन घरिघरि सम्झिरहन्छौं, दोहोऱ्याइरहन्छौं ?

मर्नु आफैंमा वियोगान्तक छ । एकपल्ट मरेपछि यस सृष्टिप्रलयको इतिहासमा फेरि कहिल्यै दोहोरिएर आउन नपाइने, प्रत्येक जीवको जीवनमा यो कति भयानक र पीडादायी घटना हो। यति सुन्दर छ यो संसार ! हरेक क्षण नाचिरहेको छ यो ।

यो निरन्तर गतिशील छ, चलायमान छ । प्रत्येक क्षण नयाँनयाँमा रूपान्तरण हुँदै गइरहने यसले झन्झन् बाँच्दै र बढ्दै जान प्रेरित गरिरहन्छ । आकाशमा प्रत्येक रात टिलपिलाइरहने ताराहरू दिनैपिच्छे घट्दैघट्दै गएर समाप्त हुँदै फेरि अलिअलि गर्दै हुर्किदै आएर आकाशै ढाक्ने चन्द्रमा, प्रत्येक विहान रातो लालिमा बोकेर पूर्वबाट उदाएर सारा संसारको अस्तित्वको बोध गराउने सूर्य,  रातदिन थाहै नहुने गरि निरन्तर फोक्सो भित्र–बाहिर गरिरहने अक्सिजन, बगैँचामा फूलिरहेका फूल, सुरिलो वोटमा पाकिरहेका मेवा, आँखा मै नअटाउने हात्ती र खाली आँखाले देख्नै नसकिने जीवाणु, ह्वेल माछादेखि अमिवासम्म ।

यी सबै यही जीवनसँग त जोडिएका छन् । म छु र त हात्ती छ, म छु त्यसै कारणले देश छ । म छु र त हिमाल छ, सिंहदरबार छ, चाइनाको पर्खाल र ताजमहल छ । म छु त्यसकारण संसारमा सबभन्दा सुन्दरसुन्दर बस्तुहरू छन्, मीठामीठा धुनहरू छन् र गीटारमा घोटिने कलाकारका औंलाहरू छन् । म नजन्मेको भए भ्यानगग कहाँ जन्मेको हुन्थ्यो ? इन्द्रबहादुर राई, माधव घिमिरे वा वी.पी. कोइराला कहाँ जन्मेका हुन्थे ? देवकोटाको मुनामदन मैले नपढेको भए त्यो कहाँ लेखिएको हुन्थ्यो ?

यी अग्लिएका हिमालहरू वा निहुरिएका पहाडहरू, उँधैतिर हान्निएर बगिरहने नदीहरू र आकाश छुन उठिरहेको आगोको धुँवाका मुस्लोहरू, यी कुनै पनि हुने थिएनन् म नभएको भए । म नभएको भए न दश वर्षे जनयुद्ध हुन्थ्यो, न गणतन्त्र आउँथ्यो । म थिइनँ त्यसबेला त्यसैले मलाई थाह छैन नब्बे सालको भूकम्पको कम्पन, २००७ सालमा थिरबम मल्लले पड्काएको बन्दुकको आवाज ।

मैले बुद्धको गेरू बस्त्र पनि देखिनँ, नाथुराम गोड्सेको नकामेको हात पनि देखिनँ । मैले सुनेको छैन आज पनि, अब पचास वर्ष पछि चिच्याउने कुनै नवयुवकको आवाज वा देखेको छैन मैले उसले उचाल्ने मुठ्ठीहरू ।

म छु, त्यसकारण यी सबै कुराहरू छन् । म छु त्यसैले इतिहासका अक्षरहरूमा उभिएका छन् सयौं महिलालाई लस्करै जिउँदै चितामा जलाउने भीमसेन थापा र चिताबाट आमाहरूलाई जिउँदै फर्काएर ल्याउने चन्द्र शमसेरहरू ।

म छु, त्यसकारण मैले देखिरहेछु दक्षिण एशियाका दुई अति पुराना राष्ट्रहरू एउटा भारतभित्र छ र अर्को चीनभित्र । मङ्गल ग्रहमा पानीको सङ्केत मैले नै भेटेको हु, हिरोसीमामा पड्किएको अणु बमको आवाज मैले नै सुनेको हुँ ।

यही धरती हो जहाँ म जन्मिँदा कसैले थाहा पाएन । रातभरि झरी परेर बिहान भएको ओसिलो उज्यालोमा मैले यस धरतीको माटोमा स्पर्ष गर्दा आकाशका ताराहरू र घामजून सबै निन्द्रामा थिए ।

मेरी आमा रगतको आहालमा डुबेको बेला पहिलो पल्ट मैले च्याँरर्र रोएर सूचना दिएको थिएँ । यो सृष्टिको निरन्तरतामा म एउटा अक्षर थपिएको थिएँ, एउटा संख्याको धर्को कोरिएको थिएँ । मलाई थाहा थिएन, म कुनै पहिरो मुनि जन्मेको छु, जसलाई यस संसारको बेथितिले जुनै बेला पनि पुर्न सक्छ । थाहा थिएन, मैले आफ्नै आन्द्राले आफ्नै घाँटी बटारेर कुनै दिन मर्न रहर गर्नु पर्ने छ ।

हुर्किदै र बढ्दै जाँदा थाहा पाउँदै गएँ, मैले त जन्म नै पर्ने रहेछ । मैले नजन्मी त यो सभ्यताको गति मै बाधा आउने रहेछ । म त समयको एउटा त्यो इकाइ नै पो रहेछु जो मेरो जन्मसँगै एकपाइलो अघि बढेछ । हिँड्दै जाँदा थाहा हुँदै गयो मैले टेकेका पाइलाहरू त ती अप्ठयारा डोबहरूमा पो टेकिँदै गए, जुन कुनै कालमा कृष्णले, बुद्धले, ईसुले, होमरले, हिटलरले, कसकसले टेकेर आकार दिएका रहेछन् । जतै तर्किन खोज्दा पनि कुनै न कुनै पाइतालाका डोबिल्कामा अल्झिदै अघि बढिरहे मेरा फुच्चे पाइलाहरू । अरे ! म त, म पो जन्मेको थिएँ त ! फेरि यी कसका पाइतालाका डोबहरू हुन् जो म हिँड्ने बाटोमा पहिल्यै कसैले टेकिसकेका छन् । खै त मेरो लागि टेक्ने धरती हिँड्ने मैदान, खेल्ने चौर । खै त मेरो लागि देखिनु पर्ने सपना, पुग्नु पर्ने ठाउँ, उभिनु पर्ने थुम्को ?

यहाँसम्म आइपुग्दा आज देखिरहेको छु, मेरा निम्ति सबैतिर खाली छ, रित्तो छ, सुनसान छ। मेरा निम्ति छुट्टिएका कुराहरू कसैले छोएका पनि रहेछन् । युगौं युगदेखि मेरै प्रतिक्षामा सभ्यताको एक कुनामा त्यत्तिकै थन्किएर बसिरहेका कैयौं कुराहरू रहेछन् । आज जब म आएँ, तिनीहरूमा कम्पन आइरहेछ, ती आफ्नै ठाउँमा हल्लिन थालेका छन्, बज्न थालेका छन्, ध्वनी प्रसारण गर्न लागेका छन् । सबै अरूले नै गरिसकेछन् भनी निराश भएका मेरा हिजोका दृष्टिहरू, सोचाइहरू, अहिले हरियाली भएका छन् । अरूले टेकिसकेको र हिँडिसकेको ठानेको दुरी त मेरा लागि पहिल्यै देखि नहल्लीकन बसिरहेको रहेछ । कत्ति वर्ष त मैले रोएर, टाउकोमा हात राखेर बिताएँछु । दिनभरि सुतेर, चुरोट तानेर, रक्सी पिएर, जुवाघरमा झोक्राएर, डान्सबारमा हल्लिएर बिताएँछु । सबै काम अरूले नै गरिसकेको ठानेर मैले त हिँड्नै भूलेछु कत्ति दिनसम्म ।

गुनगुनाइ बसेछु वर्षौसम्म नारायण गोपाल, तारादेवी, लता मङ्गेशकर र आशा भोषलेहरू, मोहम्मद रफि, मुकेश र रविन्द्र सङ्गीतहरू, बजाइ बसेछु हजारौं वर्ष पुराना शास्त्रीय सङ्गीतका धुनहरू, तबला र ढोलकहरू । भित्ताभरी रङ्गाएर मोनालिसा, हेलेन र मेनकाका पोट्रेटहरू, कागजभरि कोरेर शार्दुलविक्रिडित, शिखरीणी र बसन्ततिलकाहरू । म गजल, हाइकू, तान्का र छोकहरूमा हराएछु । हराएछु म होमर र कालिदासका प्रवाहहरूमा।

 

जब म बाइस वर्षको थिएँ, एउटी सुकुमारीले मेरो कानको छेउमा ल्याएर बजाइन तिनका नारीका चुराहरू, खुट्टामा बाँधेका घुँघुरूहरू, सुरिलो कण्ठबाट निस्केका ध्वनि र विस्तारै हिँडेको पदचापको आवाज । म एकछिन् टोलाएर एकाहोरिएछु तिनका ओठहरूमा, निधार, गाला, चिउँडो र छातीमा । तिनका केश सुनकेस्री रानीका जस्ता थिएनन् । तिनका दाँत हेलेन र पद्मीनीका जस्ता थिएनन् । तिनका खुट्टाका औंलाहरू चित्रलेखाका जस्ता थिएनन् । कसैका जस्ता पनि थिएनन् तिनका हातका औंलाहरू, कम्मरको नाप र परेलाको लम्बाई । हेरिरहें तिनलाई । ती सबै कुराहरू ठयाक्कै तिनकै जस्ता थिए, दुरूस्त तिनकै जस्ता ।

जब तिनी मेरो आँखा, कान, नाक, छाला र जिब्रो हुँदै मभित्र पसिन्, मलाई लाग्यो अब म सबै शक्तिहरूले पूर्ण भएँ । अब म आफैं हिँड्न सक्छु, उड्न सक्छु र पुग्न सक्छु । मेरो बाटोमा अब केवल बाटो मात्र छ, बाधा छैन । खोलामा अब पानी मात्र छ प्रवाह छैन । धरतीमा अब पुग्नु मात्र छ दुरी छैन । तिनले मलाई कानमा विस्तारै साउती गर्दै भन्थिन्–

– तिमी हिँडि मात्र राख म देखाउँछु बाटो । तिमी लेखिमात्र राख म लिपिनेछु मसी ।

भन्थिन्–

–तिम्रा हातका औंला, आँखाको रानी, ओठका गराहरू, घुम्रिएको कपाल र कण्ठध्वनि सबै मै हुँ । म छु नि तिमीसँग ।

अनि म आँखा अघि एउटा सपाट मैदान मात्र देख्थें । सबै कामहरू बाँकी थिए मैले गर्नु पर्ने, धेरै लामो दुरी थियो मैले काट्नु पर्ने, थुप्रै अरूले खनेका बेकामे खाल्डाहरू थिए मैले पुर्नु पर्ने।

घरभित्र छानो, घर बाहिर आकाश र आँखा अघि फैलिएको मैदान मात्र थियो मेरा लागि । मैले मेरो युगलाई बजाइरहेको थिएँ बाजा, हाँकिरहेको थिएँ यात्रा । पुग्न बाँकी कैयौं दिनहरू थिएँ, काट्न बाँकी कैयौं रातहरू थिएँ ।

मैले हिमालको चुचुरोमा टुक्रुक्क बसिरहेकी पासाङलाई सोधें– ‘बहिनी ! आउ तल, नबस त्यो ठिहिरोमा एक्लै ।’

तिनले भनिन्– ‘म जहाँ पुग्न हिँडेकी थिएँ त्यहाँ आइपुगेकी छु दाइ ! अब मलाई पुग्यो । तल आएर के गर्नु ! फेरि चढ्नु पर्छ हिमाल, आइपुग्न यहीं । बिसौं पल्ट चढिसकेर पनि हेर्नु त कति दुःखी छन् आप्पा दाइ ।’

मैले भने– ‘त्यसो भए त अब हिमाल चढ्नेले हिमाल मात्र चढेर नहुने भो नि त पासाङ ! तिनले त त्यस पछि तिमीमा पनि पो चढ्नु पर्ने भो । तिमीले त अझै छ फुट अग्लो पारिदिएछौं नि यात्रा ।’

तिनी गर्वले हाँसिन्, बोलिनन् ।

तेञ्जिङले हिमाल चढेर कहाँ बाटो टुङ्ग्याएका रहेछन् र ! पासाङले पुग्ने ठाउँ त त्यत्तिकै छोडिएकै रहेछ नि ।

छेकेको हुँदैन रहेछ कसैले कसैको बाटो । आफ्नो जन्मजत्तिकै स्वतन्त्र हुँदोरहेछ जीवनको यात्रा, पुग्ने ठाउँ र लक्ष्य ।

उनले एकदिन फेरि कानमा भनिन्– ‘तिमी किन अल्मलिएको अरू हिँडेको देखेर ? किन पच्छयाएको उनलाई ! उनी त उनको बाटो गइरहेछन्, तिमी चाहिँ कता लागेको ?’

म ठिङ्ग उभिएँ, हेरें । हो त रैछ । उनी आफ्नै धुनमा संसदतिर जाँदैरैछन्, तिनी बन्दुक बोकेर व्यारेक तिर र ऊ जङ्गलतिर । कोही डोरी बोकेर रूख चढिरहेथे घाँटी नाप्दै, कोही थोत्रा कागज र प्लाष्टिकका टुक्रा टिप्दै थिए एक्लै हाँस्दै । पेटमा एउटा, डँडेलामा एउटा र दुई हातमा दूईटा डोहोऱ्याएर गइरहेकी थिइन् एउटी ।

हातमा कसैको रक्तरञ्जित टाउको झुण्ड्याएर छिट्टै पुग्ने गरि दौडिँदै थियो कुनै । एकछिन उभिएर हेरें– यो भीडमा म कसलाई पच्छयाउँदै थिएँ ?

छेउमा आएर एउटाले भन्यो– ‘सर ! तपाई राधा किताबको लेखक । ठीकै छ किताब त, तर त्यसमा धेरै तथ्यहरू फरक छन् । यो किताब पढ्नोस् कृष्णलीलाको । यसबाट ज्ञान हुन्छ तपाईलाई ।’

अर्काले फुस्रो अनुहार लगाउँदै बोल्यो– ‘सरलाई कार्ल मार्क्सको ठेगाना थाहा होला ?

तेस्रो अघिदेखि उभिएको रहेछ पछाडि– ‘मलाई स्टेफेन हकिन्सको बाबुको नाम चाहिएको थियो । ’

‘सोचें यहाँ उभिनु हुन्न ।’ हिँडे खुरूखुरू । पर पुगेर फर्केर हेर्दा तिनीहरू आपसमा हात हालाहाल गरिरहेका थिए ।

उनले झर्किदै भनिन्–

– कसले भन्यो तिमीलाई हिँड्दाहिँड्दै उभिनु भनेर ?

– कसले भन्यो तिमीलाई तिम्रो बाटो कसैले छोकिदिएको छ भनेर ?

– कसले भन्यो तिमीलाई तिमी पनि उनीहरू जस्तै हुनु भनेर ?

तिनले थपिन् । फकाएको भाकामा–

– तिमी नजन्मेको भए म कहाँ हुन्थें तिमीसँग ? तिमी नभएको भए कहाँ हुन्थ्यो यो मुक्तिचोक, पुतलीसडक र त्रिचन्द्र कलेज ? कहाँ हुन्थ्यो बादी बस्ती, पूर्वराजा ज्ञानेन्द्र र संसद् पुनस्थार्पना ? कहाँ हुन्थ्यो गिरिजाप्रसादको हुँकार र प्रचण्डपथ । ख्यातिका हात खुट्टा र जीउ पनि त्यसरी छरिने थिएन्, ……….. ढकालको लास वीच सडकमा कुनै डिआईजी पतिले बाल्ने पनि थिएन । न कसैले खोस्न सक्थ्यो क्यान्टेनमेन्टका लडाकुहरूको चेक नै । हे आख्यानकार ! तिमी नभएको भए कसरी हुन्थ्यो दरवार हत्याकाण्ड, मेरो पेटको क्यान्सर र डायनाको कार दूर्घटना ।

तिमी छौ र त छन् यी सबै कुराहरू ।

उहिले एकपल्ट मनमा आएको थियो– ‘यो बालक हराएको सूचना भन्ने किताब छापिएपछि मरे पनि हुन्छ मैले । यो भन्दा ठूलो अरू के काम गर्न सकुँला र म ?’

अलिक पछि फेरि मनमा आएको थियो– ‘आधाबाटो किताब छापिए पछि मेरो बाँच्ने के काम छ र अब !’

अहिले सोचिरहेछु– ‘पाण्डुलिपि छापिए पछि अब मेरो यात्रा समाप्त भयो !’

किन लाग्छ घरिघरि मान्छेलाई मर्न मन तर, किन सक्दैन मर्न । मर्न मन लाग्ने साथ मर्ने भए यो संसारमा मान्छेको संख्या गैंडाको जत्ति पनि हुन्थेन होला । प्रत्येक मान्छेले हरेक दिन कुनै न कुनै क्षण मृत्युलाई सोचिरहन्छ । बाँच्नका लागि मात्र भए पनि ऊ मृत्युलाई सोच्दछ । घरिघरि मर्न मन लाग्ने म, कत्ति जतनले चलाखीपूर्वक र सतर्क हुँदै बाटो काटिरहन्छु सिंहदरबार अघिको व्यस्त जेब्राक्रसमा । बिस्तारै चपाएर निल्छु खानेकुरा, गाडी पुरै नरोकिएसम्म ओर्लिन्न भित्रबाट । म भीडमा जान्न, जुलुसमा पस्दिन, एक्लै खोलो तर्दिनँ । मैले कहिल्यै मुसाको दुलोमा हात हालिनँ, नाङ्गो बिजुलीको तार समातिनँ । मैले आफ्नै हातले घरमा आगो लगाएँ तर त्यसलाई निभाउन भित्र पसिनँ ।

सीताजीको लासमा आगो छोडिसकेपछि एकपल्ट मनमा झुलुक्क आयो– ‘अब के काम छ र मैले बाँच्ने पनि !’

अनि यसो टाउको घुमाएर हेरें, अलिक पर बगरमा छोरी प्रतिमा रोइरहेकी थिई, दुबै हातले मुख छोपेर । छोराहरू झोक्राइ रहेका थिएँ एक अर्काका हात समातेर । आकाशमा घाम लागेकै थियो, हावामा अक्सिजन बगेकै थियो, पानी उभिएको थिएन, राजमार्गमा गाडी कुदेकै थिएँ । सबथोक यथावत थिएँ तर ती अब केही पनि थिएनन् सीताजीलाई । उहाँको निम्ति प्रलय भइसकेको थियो सब शुन्य ।

अनि सोचें– ‘प्रतिमाको पढाइ पूरा हुनु पर्छ । छोराहरूले जागीर खानु पर्छ र यिनीहरूको विहे हुनु पर्छ । माइली बहिनी चन्द्रालाई डाइबेटिज भएको छ त्यसले परहेजमा बस्नु पर्छ । लेख्दै गरेको ‘गेष्टापो’ उपन्यास सक्नै बाँकी छ ।

कत्ति नयाँ साथीहरू आए होलान् फेसबुकमा तिनलाई एड गर्नु पर्छ । सीताजीको नाममा रहेका कैयौं कुराहरूको नामसारी गर्नु पर्छ । धेरै किताबहरू छन् पढ्नु पर्ने । लीलालेखन सम्बन्धि पुस्तक छाप्नै बाँकी छ । सञ्जीवले लेखिरहेको ‘हाँसको कथा’ कस्तो हुने हो त्यो पढ्नै बाँकी छ ।

थुप्रै पाठकहरू छन् जो मलाई भेट्न चाहन्छन् भेट्नै बाँकी छ । सीताजीले किनिदिएको पठानी कुर्ता लगाउनै पाएको छैन, कीराले खाएका दुइटा बङ्गारा फुकाल्नु पर्ने छ । उठाउन बाँकी केही सापटीहरू छन्, तिर्नै बाँकी छ अरूलाई पनि ।’

म छु र त छन् यी सबै कुराहरू । म हिँड्ने बाटोहरू, मेरा सोच र दृष्टिकोणहरू । मर्न मन लाग्ने यो मन नै नमरे पछि कसरी मर्न सकिन्छ यसरी । र म बाँचिरहेको छु, आफैंले नगरी नहुने धेरै कामहरू गर्न, धेरै नयाँ सोचहरू सोच्न र सभ्यतालाई परसम्म पुऱ्याउन । मेरो कारणले मात्र भए पनि समय बग्न बाध्य हुनेछ म बाँचिरहे । समयलाई बग्न दिनुपर्छ । बाँचेर, बाँचिरहेर ।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares