‘मलाई आख्यानमा आउन सुऱ्याउनु न’

Girl in a jacket

सञ्जीव छेत्री ‘साँचोजस्तै कथा’ कथा सङ्ग्रहको निम्ति 2016 को साहित्य अकादमी युवा पुरस्कार प्रापक कथाकार हुन्

कथा किन लेख्नुहुन्छ?

कोहीबेला पात्र-पात्राले कर लगाउँछन्। कोहीबेला घटना र स्थितिले। कोहीबेला विचारले। तर मैले खास कथा लेख्न सकेको छैन।

समकालीन कथाको मूल स्वर के हो?

कला र विचारको सामञ्जस्यमा समाजलाई हेरिँदै गरिएको जस्तो लाग्छ।

कुनै कथा लेख्दाका रमाइलो र बेरमाइलो घटना छ?

कथा फटाफट लेख्न सक्दिनँ। प्रायै कथा अधुरै छन्। बेरमाइलो त्यसैमा लाग्छ। रमाइलो त सधैँ छ।

एउटा प्रतिक्रिया जो तपाईँको कथा पढेर पाठकले दिएको, जो तपाईँको मन छोएको होस्।

धेरै प्रतिक्रियाहरुमध्ये सबैभन्दा पहिलो चाहिँ मेरा आदरणीय शिक्षक अनि स्रष्टा मोहन ठकुरीले भन्नुभएको – “तिमी कथा लेख्न सक्ने रहेछौ । कथा लेख।” म एघारमा पढ्थेँ।  त्यसैले सबभन्दा बढी छोइएछु र कथा लेख्ने भएँछु।

सञ्जीव कस्तो खाले कथा लेख्ने मानिस हुन्? उ कथा लेख्दा के सोच्छ?

लेख्दा अलि फरक प्रस्तुति दिन चाहने औ विभिन्न सामाजिक, आर्थिक, वैयक्तिक पक्ष र समस्याहरुलाई लेख्न चाहने मानिस हो। आफुले थोरै कुरा लेखेर पाठकलाई आफै कथा बनाउने ठाउँ दिने बारेमा सोच्छ।

कथाकारको लेखकीय दायित्व हुन्छ कि हुँदैन?

अवस्यै हुन्छ। कथाकारको कला, समाज अनि जीवनप्रति त्यत्तिकै दायित्व हुन्छ जति अरुको।

तपाईँको शैली राम्रो छ कथा भन्ने, त्यो शैलीको आख्यान (उपन्यास)  पनि आउँछ होला?

कथा लेखिसिध्याउनै हम्मे हम्मे पर्छ। उपन्यास सोचे पनि आँट गरिहालेको छैन। तर ठेगान छैन। सुरिन पनि सक्छु। सुऱ्याउनु न।

हाम्रा कथाहरू अरू भाषामा जानुपर्ने त है? किन नगको होला?

जानु एकदमै जरुरी छ। स्तरीय अनुवाद कार्यलाई अलि बढी ध्यान दिनुपर्ने हो कि!

मनोवैज्ञानिक एप्रोच तपाईँको मूल धारजस्तो लाग्छ कथामा। किन यस्तो भाको?

मनोविज्ञान मलाई मन पर्ने कुरा हो। व्यक्ति आफैमा बढो मजाको कुरा हो। त्यसैले होला।

तपाईँको कथाको एकल वाचन पनि भो? यस्तो दुर्लभ घटना आफ्नो जीवनमा हुँदा कस्तो अनुभूति भो?

अलि अल्छे हुँदै थिएँ त्यतिबेला। अचानक सृजनशील युवा जमात, बिजनबारीबाट एकल कथावाचनको निम्तो आयो। यो हाम्रो निम्ति निक्कै दुर्लभ कुरा हो। त्यहींदेखि फर्केपछि ‘साँचोजस्तै कथाहरु’ प्रकाशित भयो। सृजनशील युवा जमातका सबै दाजु/साथीहरुमा धन्यवादी छु ।

कथाविधा कविता विधाभन्दा निक्कै पछाडियो भन्छ, हो त?

संख्यात्मक रुपमा कि गुणात्मक हिसाबले?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया