तृणमूलको लागि प्रतिष्ठाको लड़ाईं बन्यो पहाड़को चुनाउ

विज्ञापन

  • मोहन लामा, दार्जीलिङ, 7 मई/2017

मन्त्री विश्‍वास दार्जीलिङ पहाड़को नगरपालिका चुनाउ समाप्त भएपछि मात्रै कलकत्ता फर्किनेछन्। जसले कालेबुङ, दार्जीलिङ, खरसाङ अनि मिरिकमा तृणमूल कंग्रेस उम्मेद्वारहरुको पक्षमा चुनाउ प्रचार गर्ने कार्यक्रम बनाएका छन्।


पहाड आउनेक्रममा अरुप विश्वास

तृणमूल कंग्रेसको लागि दार्जीलिङ पहाड़को नगरपालिका चुनाउ जित्न प्रतिष्ठाको लड़ाईंनै बनेको छ। यसैले दार्जीलिङ पहाड़का नगरपालिका चुनाउको लागि मैदानमा खड़ा भएका तृणमूल कंग्रेस उम्मेद्वारहरुका प्रचारको लागि राज्यका मन्त्री अनि तृणमूल कंग्रेसका शीर्ष नेतृत्ववर्गको पहाड़ भ्रमण एकाएक बढेको छ।

चाहे कुनै पनि स्थितिमा होस्, दार्जीलिङ पहाड़का नगरपालिकाहरुमा यसपाली तृणमूल कंग्रेसकै बोर्ड गठन हुनपर्छ अनि बिस्तारै दार्जीलिङ पहाड़मा रहेको गोजमुमोको राजनैतिक धरातल ध्वस्त पार्नुपर्छ भन्ने तृणमूल कंग्रेसको सोंच रहेको स्पष्ट छ।

यसैकारण राज्यका पर्यटन मन्त्री गौतम देव गत केही दिनदेखि दार्जीलिङमा अड्डा जमाएर बसिरहेका छन् भने उनले दार्जीलिङका विभिन्न वार्डहरुमा लगातार भ्रमण गरेर मतदाताहरुलाई रिझाउने कार्य गरिरहेका छन्। यसै क्रममा आज साँझपख नगरपालिका चुनाउको लागि प्रचार गर्ने उद्देश्यलेनै अनि यहाँको चुनाउ समाप्त भएपछि मात्रै कलकत्ता फर्किने हिसाबले राज्यका पीडब्लुडी मन्त्री एवं तृणमूल कंग्रेस नेता अरूप विश्‍वास कालेबुङ आउँदैछन्। जसले दार्जीलिङ पहाड़का चारैवटा नगरपालिका क्षेत्रमा लगातार चुनाउ प्रचार गर्ने साथै पार्टी उम्मेद्वार तथा समर्थकहरुको हौसला बढाउने लक्ष्य राखेका छन्।

मन्त्री विश्‍वासको पहाड़ भ्रमण कार्यक्रमअनुसार, उनी दार्जीलिङ पहाड़को नगरपालिका चुनाउ समाप्त भएपछि मात्रै कलकत्ता फर्किनेछन्। जसले कालेबुङ, दार्जीलिङ, खरसाङ अनि मिरिकमा तृणमूल कंग्रेस उम्मेद्वारहरुको पक्षमा चुनाउ प्रचार गर्ने कार्यक्रम बनाएका छन्। मन्त्री विश्‍वास कालेबुङमा तीन दिन बस्नेछन् अनि तीनै दिन चुनाउ प्रचार गर्नेछन् भने 9 मईको दिन उनी दार्जीलिङ आउनेछन्। जहाँ उनले केवल एक दिन 10 मईको दिन चुनाउ प्रचार गरेर खरसाङ जाने कार्यक्रम बनाएका छन्।

यसपछि उनले खरसाङ र मिरिकमा पनि चुनाउ प्रचार गर्ने कार्यक्रम बनाएका छन् भने सिलगढीमा तीन दिन बसी 15 मईको दिन कलकत्ता फर्किने भएका छन्। यति मात्रै होइन, तृणमूल कंग्रेसका दुइ नम्बरका नेता मानिएका एवं राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीका भदै अभिषेक व्यानर्जी, मन्त्री इन्द्रनील सेन आदिले पनि दार्जीलिङको भ्रमण गरिसकेका छन् अनि उनीहरु दार्जीलिङ र खरसाङमा लगातार चुनावी जनसभामा भाग लिएर कलकत्ता फर्किएका छन्। तर मन्त्री इन्द्रनील सेनले गोजमुमो अध्यक्ष विमल गुरूङ, रोशन गिरी अनि दार्जीलिङका 32 वटा वार्डबाट खड़ा भएका गोजमुमोका उम्मेद्वारहरुलाई चुनाउपछि स्टीलको बाकसमा हालेर दार्जीलिङ जिल्लाबाटै बाहिर कटाउने वक्तव्य दिएपछि यसमाथि चौतर्फी विरोध शुरू भएको छ।

जसको लाभ गोजमुमोले यस नगरपालिका चुनाउमा गतिलै पाउने पहाड़का धेरै राजनैतिक पर्यवेक्षकहरुको अनुमान छ। यस मौकालाई गोजमुमोले पनि चुकाउन चाहेको छैन। यसै क्रममा आज गोजमुमो अध्यक्ष विमल गुरूङले खरसाङमा एक चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यक्रम बनाएका छन्। जहाँ 6 मईको दिन मात्रै तृणमूल कंग्रेस नेता अभिषेक व्यानर्जी, इन्द्रनील सेन आदिले जनसभा गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया