21 मई घूमदेखि दार्जीलिङसम्म मनोरञ्जनात्मक दौड़

विज्ञापन

टोय ट्रेनसित कुद्नेछ दार्जीलिङ


  • मोहन लामा, दार्जीलिङ, 7 मई/2017

साइँली-माइली दार्जीलिङ कस्तो छ, बत्तीको लहर बैकुण्ठ जस्तो छ…भनेर सबैले चिन्ने दार्जीलिङले अहिले आ-आफ्नो व्यस्तताको कारण हाँस्न अनि खुशी हुन भुलिसकेको छ। त्यो पुरानो सपनाको दार्जीलिङको गरिमालाई पुनः फर्काउनको लागिनै आगामी 21 मईको दिन दार्जीलिङले यहाँको घूम रेलवे स्टेशनदेखि दार्जीलिङको टोय ट्रेनसितै दार्जीलिङ रेलवे स्टेशनसम्मको दौड़ लगाउनेछ।


लिम्का बुक अफ् रेकर्डमा नाम दर्ता गर्ने उद्देश्य राखेर आगामी 21 मई दार्जीलिङले यहाँको विश्‍वविख्यात दार्जीलिङको टोय ट्रेनसितै लगभग 8 किलोमिटरको मनोरञ्जनात्मक दौड़ लगाउनेछ। यति मात्रै होइन, यस मनोरञ्जनात्मक दौड़को आयोजना गर्ने दार्जीलिङका सचेत नागरिक अनि संस्थाहरुले यस कार्यक्रमलाई विश्‍वकै अन्य रेकर्डहरुमानै दर्ता गर्ने लक्ष्य राखेको छ, जसमा एशिया बुक अफ् रेकर्ड, वर्ल्ड रेकर्ड युनिभर्सिटी, इन्डो-भियतनाम मेडिकल बोर्ड, भियतनाम बुक अफ् रेकर्ड आदि सामेल छन्।

यसरी कुद्नेछ टोय ट्रेनसित दार्जीलिङः दुवै फोटोको श्रोतः इन्टरनेट

यद्यपि, यस दौड़को लिम्का बुक अफ् रेकर्डमा नाम दर्ता गराउने प्रथम लक्ष्य 1000 धावकहरुले भाग लिए मात्रै पूर्ण हुनेछ।

जसको लागि दार्जीलिङको एक गैर सरकारी संगठन रिह्याविलिटेशन सर्भिस को-ओपरेटिव सोसाइटी लिमिटेडले महाकाल पूजा कमिटी अनि वेलफेयर सोसाइटी, सन्त रोबर्टस् भूतपूर्व विद्यार्थी संगठन आदिको विशेष सहयोगमा जोड़तोड़को प्रयास गरिरहेको छ। यसैको जानकारी गराउँदै संगठनका चीफ प्रमोटर प्रवेश ठटालले भने-विश्‍वविख्यात दार्जीलिङ हिमालयन रेलवेको गरिमालाई बँचाएर राख्ने विषयलाई ध्यानमा राखेर आयोजना गरिने भएको 21 मईको फन रन् वीथ दार्जीलिङ हिमालयन रेलमा सम्पूर्ण दार्जीलिङवासी जनताले आफ्नो इच्छाअनुसार, लुगा लगाएर मनोरञ्जात्मक दौड़ लगाउन सक्नेछन्।

यसमा सहभागी हुने मानिसहरूले प्रथम हुनैपर्छ भनेर दौड़ लगाइरहने कुनै आवश्यकता छैन। नाँच्दै-हाँस्दै, मस्ती गर्दै आरामसित दौड़ लगाउन सकिने यस कार्यक्रममा उत्कृष्ट पोसाक लगाउने धावकलाई पुरस्कृत गरिनेछ। उनले यसपाली प्रथमपल्ट आयोजना गरिने भएको यस मनोरञ्जनात्मक दौड़मा 1000 भन्दा अधिक धावक सहभागी बन्नसके यसले निश्‍चितरूपमा लिम्का बुक अफ् रेकर्डमा स्थान पाउन सक्ने आशा गरिएको बताए।

यसै दौड़ कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउँदै आएको महाकाल पूजा कमिटी एवं वेलफेयर सोसाइटीका कार्यकारी सदस्य ध्रुब मुखियाले पनि भने-साइँली-माइली दार्जीलिङ कस्तो छ, बत्तीको लहर बैकुण्ठ जस्तो छ…भनेर सबैले चिन्ने दार्जीलिङले अहिले आ-आफ्नो व्यस्तताको कारण हाँस्न अनि खुशी हुन भुलिसकेको छ। त्यो पुरानो सपनाको दार्जीलिङको गरिमालाई पुनः फर्काउनको लागिनै आगामी 21 मईको दिन दार्जीलिङले यहाँको घूम रेलवे स्टेशनदेखि दार्जीलिङको टोय ट्रेनसितै दार्जीलिङ रेलवे स्टेशनसम्मको दौड़ लगाउनेछ।

जसमा दार्जीलिङले हाँस्न पाउनेछ अनि खुशी हुने सुनौलो अवसर पाउनेछ। उनले रिह्याविलिटेशन सर्भिस को-ओपरेटिव सोसाइटी लिमिटेडको सामाजिक कार्यहरुको मुग्धकण्ठले प्रशंसा गर्दै भने-आज दार्जीलिङमा यस संगठनले धूप घुमाउने हातभन्दा सेवा गर्ने हात महान हुन्छ भन्ने उदाहरण दिएको छ। यस संगठनले दार्जीलिङ शहरलाई सफा राख्नुपर्छ भन्ने मात्रै होइन, यहाँको विश्‍व धरोहरको रूपमा रहेको टोय ट्रेनको गौरवशाली गरिमालाई पनि संरक्षण गर्ने दिशामा पहल गरेको छ।

जसलाई सम्पूर्ण दार्जीलिङले सफल बनाउन आवश्यक छ। यसरीनै यस संगठनका अध्यक्ष अब्दुल्ला आजमी, सन्त रोबर्टस् भूतपूर्व विद्यार्थी संगठनका सदस्य फैयाद सफीक अन्सारीले पनि यस कार्यक्रमलाई सबैले साथ दिएर सफल बनाउने आह्वान गरेका छन्। यसका साथै अन्सारीले सन्त रोबर्टस् स्कूलका सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई पनि यसमा सहयोगको हात बढ़ाइदिने अपील गरेका छन्। एक प्रश्‍नको उत्तरमा संगठनका चीफ प्रमोटर ठटालले भने-यस दौड़को लागि अहिलेसम्म विभिन्न स्थानका 650 जना धावकहरुले पञ्जीकरण गरिसकेका छन्। यसैले आगामी 20 मईसम्म 1000 भन्दा अधिकलेनै पञ्जीकरण गर्नसक्ने आशा गरिएको छ। विशेष दार्जीलिङमा अधिकाधिक पर्यटकहरुको आगमन होस् अनि यस दौड़मा अर्को वर्षदेखि पर्यटकहरुले पनि सहभागिता जनाउन सकोस् भन्ने पनि हाम्रो लक्ष्य छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया