मिरिक खण्ड स्वास्थ्य केन्द्रमा डाक्टरको कमीले समस्या

मिरिक, 27 जनवरी


मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरूको कमीले गर्दा धेरै असुविधाको भइरहेको जानकारी पाइएको छ। तीनजना रोगी जाँच्ने डाक्टर र एकजना प्रशासनिक इञ्चार्ज गरी जम्मा चारजना डाक्टर हुनुपर्नेमा यहाँ दुइजना मात्र डाक्टर छन। जसमा एकजना प्रशासनिक इञ्चार्ज रहेको मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका अधिकारी टाँसी लामाले जनाएका छन्।

गत वर्ष आन्दोलनकालदेखि नै यहाँ डाक्टरको कमी रहेको बताउँदै यसबारे सम्बन्धित निकायमा उजुरी गर्दा पनि हालसम्म सुनवाई नभएको उनको भनाइ छ। डाक्टरको कमी भएको कारण हाल दाँतको डाक्टरले सबै रोगीहरूलाई जाँच गर्न परिरहेको जनगुनासो छ भने गर्भवती महिलाहरूलाई पनि अन्य डाक्टरले हेर्नु परेकोले आम मानिसहरूमा असन्तुष्टि बढेको अधिकारी लामाले जनाएका छन्। ‘मैले त कामको अधिक चापले  बीएमओएच पदबाट राजिनामा समेत दिइसकेको छु, हाल ७२ घण्टासम्म काम गर्नु परिरहेको छ,’ उनले भने। हाल मिरिकको तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा एकैजना पनि डाक्टर नभएको उनको भनाई छ।

मिरिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गराउने रोगीहरू ओपीडीमा दैनिक एकसय बीस जनासम्म आउने गर्छन भने डाक्टरको कमीले अधिक असुविधाको सामना गर्नु परिरहेको उनी बताउँछन् । डाक्टरको कमीले रोगीहरूलाई रेफर गर्नु पनि परिरहेको उनको भनाइ छ । यो समस्याको समाधान सरकारले शीघ्र गरिदिनुपर्ने उनको माग छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया