गीताञ्जली थापाको नयाँ हिन्दी फिल्म प्रदर्शनको तयारीमा

मुम्बई: भारतीय सिनेमाको जगतमा राष्ट्रिय पुरस्कार हत्याइसकेकी अञ्जली थापाको नयाँ हिन्दी चलचित्र कुछ भिगे अलफाज आगामी 16 फरवरीका दिन भ्यालेन्टाइन दिवसको छेकमा प्रदर्शन गरिने जानकारी पाइएको छ। युवाहरूको दिनचर्यालाई सँगालेर निर्माण गरिएको यस चलचित्रका निर्देशक ओनिर रहेका छन् भने चलचित्रमा मुख्य भूमिका गीताञ्जली थापाकै रहेको छ। यसरी नै सहनायक नायिकाहरूमा नयाँ हिरो जहिन खान दुर्रानी अनि मोना अम्बेगोकर, साहेब भट्टाचार्जी, श्रेय राई तिवारी आदि रहेका छन्। यसरी नै सिनेमाको निर्माण सिद्धार्थ आनन्द कुमारले गरेका छन् भने यसलाई सङ्गीतले सजाएका छन् शाश्वत श्रीवास्तवले।
दक्षिण सिक्किमको नाम्ची निवासी गीताञ्जली थापा अभिनित यो फिल्म युवा रोमांसमा आधारित छ भने यसमा आधुनिक सामाजिक सञ्जालहरूको प्रयोगसित प्रेम सम्बन्धको कथावस्तुलाई दर्शाइएको बताइएको छ।
उल्लेखनीय छ, गीताञ्जली थापाले 2013 -मा सर्वश्रेष्ठ नायिकाको राष्ट्रिय फिल्म पुरस्कार विजयी बनेर सम्पूर्ण सिनेजगतलाई चकित तुल्याइदिएकी थिइन्। किनभने यसअघि हिन्दी सिनेमाको राष्ट्रिय पुरस्कारका विजेताहरूको नामावलीमा नवोदित कलाकारहरू विजेता बन्नु त परै जाओस् उनीहरूको नाउँसम्म मनोनित हुन असम्भव थियो। सिने जगतका प्रसिद्ध नायिकाहरूले उछिट्याउन नसकेको राष्ट्रिय पुरस्कार यसरी गीताञ्जलीको झोलीमा पर्दा सम्पूर्ण सिनेसंसार आश्चर्यककित बनेको थियो अनि थापाले अभिनय गरेको उक्त चलचित्र द लायर्स डाइस रातारात चर्चाको विषय बनेको थियो।
उल्लेखनीय के छ भने सर्वश्रेष्ठ अभिनेत्रीका लागि राष्ट्रिय पुरस्कारले आजसम्म विभूषित नायिकाहरूमा नरगीस, शारदा, रेहना सुल्तान, शबाना आजमी, शर्मीला टैगोर, स्मिता पाटिल, रेखा, श्रीलेखा मुखर्जी, अर्चना, देबश्री रोय, सीमा विश्वास, तबु, इन्द्राणी हल्दार, रितुपर्णा सेनगुप्ता, कोंकणा सेनशर्मा, प्रियङ्का चोपड़ा, विद्या बालन अनि कङ्गणा रणावतजस्ता बेजोड़ कलाकारहरू मात्र छन्। सिने जगतका नामी हस्तीहरू ऐश्वर्य राय, दीपिका पादुकोण, करिणा कपुर, माधुरी दीक्षित तथा पुराना कलाकारहरूमा हेमा मालिनी, जया बच्चन, श्रीदेवीजस्ता अभिनेत्रीहरू पनि आजपर्यन्त यस प्रतिष्ठित पुरस्कारदेखि वञ्चित रहेका छन्।
आफ्नो झोलामा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरू बटुलिसकेकी थापाले फिल्मी जीवनको सुरूआत एक मोडलकी रुपमा गरेकी थिइन् भने उनको पहिलो चलचित्र सन् 2010-मा प्रदर्शित टिना की चाबी थियो। गीताञ्जली थापाले सुन्दरी प्रतियोगितामा पनि अंश ग्रहण गरेकी थिइन् भने उनी मिस नर्थइष्टको उपाधिले सन् 2007 -मा विभूषित भएकी थिइन्। सिक्किममै पढ़ी-बढ़ी हुर्केकी थापाले कलकत्ताबाट स्नातकीय परीक्षा पुरा गरेकी थिइन्।
आफ्नो स्कुले जीवनमै उनले प्रशान्त रसाइलीको लघु चलचित्र मिथ (2006)-मा काम गरेकी थिइन् भने अहिलेसम्मको उनका सिनेमाहरू हुन् – आईडी, मनसुन सुटआउट, द्याट डे आफ्टर एभरीडे, लायर्स डाइस, टाइगर्स, ट्र्याप्ड अनि आगामी चलचित्र कुछ भीगे अलफाज।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया