सिटोङमा दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम, जिल्ला शासकद्वारा सडक र खेल मैदान मरमत्तिको घोषणा

 

खरसाङ, २९ जनवरी।


खरसाङ महकुमाअन्तर्गत सिटोङ-1 मा सिटोङ ट्राभल्स वेलफेयर सोसाइटीको आयोजनामा गत वर्षहरू झै यस वर्ष पनि दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। सिटोङ १ को डायरी गाउँ खेल मैदानमा आयोजित उक्त वार्षिक खेलकुद कार्यक्रमको दोस्रो दिन प्रमुख अतिथिको रुपमा दार्जिलिङको जिल्ला शासक जयोसी दासगुप्त उपस्थित थिइन्।

तिनले आफ्नो सम्बोधनमा उक्त वार्षिक खेलकुद कार्यक्रमको खुलेर प्रशंसा गरिन्। उनले स्थानीय मानिसहरूको सुविधाको लागि मूल सडकदेखि छलमक्योंङ लज हुँदै डायरी गाउँ खेल मैदानमा पुग्ने कच्चा सडकको पक्का सडक बनाइदिने घोषणा गरिन्। जिल्ला शासकद्वारा डायरी गाउँ खेल मैदानलाई पनि बढाएर ७ साइड बनाउने अनि यस खेल मैदानलाई स्टेडियमको ढाँचामा मरमत्ति गर्न पनि आश्वासन दिइन्। तिनले यी दुवै कुराको लागि विभागीय पहल गरिदिने भएको छ।

जिल्ला शासक फर्कने क्रममा सिटोङ १ क्षेत्रको प्राचीन र महत्त्वपूर्ण ठाउँहरूको पनि भ्रमण गरेको साथै सिटोङको पर्यटकीय क्षेत्रप्रति खुशी भएको भनी सिटोङ ट्राभल्स वेलफेयर सोसाइटीको सचिव तितस लेप्चाले जनाएका छन्।

यस वार्षिक खेलकुद कार्यक्रमको दोस्रो एवं समापनको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक देवाशिष चट्टोपाध्याय अनि संयुक्त खरसाङ खण्ड विकास अधिकारी पनि उपस्थित थिए। कार्यक्रममा विभिन्न प्रतियोगितामूलक एवं मनोरञ्जनात्मक खेलहरू पनि आयोजना गरिएको थियो।

दोस्रो दिनको मुख्य आकर्षण केटाहरूको लागि ६ किलोमिटरको म्याराथन थियो। यसमा म्याराथनमा बडा सिटोङको प्रज्ज्वल थापा प्रथम, कालेबुङको रिवाज छेत्री दोस्रो अनि समीर भुजेल तेस्रो भए। कार्यक्रमअन्तर्गत लोक प्रसार प्रकल्प सिटोङ युनिटको तर्फबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। यस वार्षिक खेलकुद कार्यक्रमको पहिलो दिन युवतीहरूको निम्ति २.५ किलोमिटरको म्याराथन दौडको आयोजना गरिएको थियो।

पहिलो दिनको कार्यक्रममा मुख्य अतिथिको रुपमा सिलगढी महकुमा परिषद्को सचिव अरूपरतन शाह उपस्थित थिए। यस वार्षिक खेलकुद कार्यक्रमको सभापतित्व डोनाल्ड सादाले गरेका थिए। कार्यक्रमलाई आरके छेत्री, अरुण राई, युनस लेप्चाले सञ्चालन गरेका थिए।

कार्यक्रममा विन्डोज सिलगढी र स्थानीय अमर ज्योति ग्राम सुधार समितिको विशेष सहभागिता रहेको थियो भने सिटोङ ट्राभल्स वेलफेयर सोसाइटीका सल्लाहकार देवाशिष चक्रवर्ती र सभापति युनस लेप्चाको पनि विशेष सहयोग रहेको जानकारी सोसाइटीका सचिव तितस लेप्चाले दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया