गोरामुमोलाई चुनौती दिन गोजयुमोले पनि देखाउने भयो शक्ति

 

दार्जीलिङ, 29 जनवरी।


गोर्खा जनमुक्ति युवा मोर्चाले पनि दार्जीलिङको मोटर स्ट्याण्डमा शक्ति प्रदर्शन गर्ने निर्णय लियो। जसको लागि आगामी बुधबार युवा मोर्चाले एक सभा गर्ने भएको छ भने यो शक्ति प्रदर्शन फरवरी वा मार्च महीनाभित्र हुनसक्ने युवा मोर्चा प्रवक्ता अरूण छेत्रीले आज जानकारी गराए।

उनले हिजो दार्जीलिङमा गोरामुमोको जनसभामा गोरामुमो अध्यक्ष मन घिसिङ, प्रवक्ता निरज जिम्बा आदिले दिएको वक्तव्यमाथि कटाक्ष प्रहार गर्दै भने- दार्जीलिङ पहाड़मा सबैभन्दा बेसी गुण्डागर्दी गर्ने पार्टी नै गोरामुमो हो। गोरामुमोको कार्यकालमा दार्जीलिङ पहाड़मा जनतामाथि सबैभन्दा राजनैतिक प्रताड़ना भएको छ। त्यसैले गोरामुमोले पहाड़मा राजनैतिक प्रताड़नाको कुरा गर्नु उचित होइन। पहाड़मा गणतान्त्रिक परिवेश फर्काउने पार्टी नै गोर्खा जनमुक्ति मोर्चा हो, जसको प्रत्यक्ष प्रमाण हिजो गोरामुमोले आयोजना गरेको जनसभा हो।

यति मात्रै होइन, गत केही दिनअघि जीटीए अध्यक्ष विनय तामाङले दार्जीलिङ पहाड़का 429 जना शिक्षक-शिक्षिकाहरूको नियुक्तिलाई डीआईमार्फत अनुमोदन दिने कार्य गरेका थिए, जुन शिक्षक-शिक्षिकाहरूमा गोरामुमो, जाप साथै अन्य पार्टीका समर्थकहरू पनि थिए। यदि गोरामुमो जीटीएमा हुँदो हो भने यस पार्टीले यी शिक्षक-शिक्षिकाहरूलाई राजनैतिकरूपमा प्रताड़ित बनाउने थियो। जुन कुरो 1986-देखि 2007-सम्म गोरामुमोको कार्यकालमा नै छर्लङ्गै भएको छ। आज त्यसै पार्टीले पहाड़मा गुण्डागिरी चल्दैन भन्छ, छेत्रीले भने।

गोजमुमो अध्यक्ष विनय तामाङले रोहिणी रोडको नाम सुवास घिसिङको नाममा समर्पित गर्ने उदारता देखाएका छन्, जुन उदारता गोरामुमो पार्टीका नेताहरूमा कहिले देखिएन। जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरलाई खारेजको माग उठाउने अधिकार मन घिसिङलाई कसले दियो? कुन अधिकारमा उनले जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटर खारेज गर्ने माग गरेका हुन्? गोरामुमो अध्यक्ष मन घिसिङले यो सोझै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई धम्की दिएका हुन्। किनभने, राज्यकी मुख्यमन्त्रीले नै पहाड़ समस्या समाधानको लागि त्रिपक्षीय वार्ता नभएसम्मको लागि जीटीए सञ्चालन गर्ने दायित्व गोजमुमो अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापाहरूलाई दिएकी हुन्, जसलाई मन घिसिङले खारेज गर्ने माग गरेका छन्।

उनले दार्जीलिङ पहाड़मा गोजमुमोको नै जनाधार छ भन्ने बताउँदै आगामी फरवरी वा मार्च महीनामा युवा मोर्चाले दार्जीलिङमा शक्ति प्रदर्शन गर्ने निर्णय लिएको पनि जनाए। उनले भने- हिजो गोरामुमोको जनसभामा जति जनता भेला भएको थियो, त्यसको 4 गुणा बेसी जनता युवा मोर्चाको जनसभामा भेला हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया