त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्छ-विष्णु छेत्री

कालेबुङ, 29 जनवरी।


संविधान संशोधन गराएर दार्जीलिङ अनि कालेबुङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्ने कालेबुङ कृषक कल्याण सङ्गठनले माग गेरको छ। राज्यका पञ्चायत मन्त्री सुब्रत मुखर्जीको पश्चिम बङ्गाल राज्यमा सम्भवतः आगामी मई-जून महीनामा पञ्चायत चुनाउ हुने वयान प्रकाशमा आएपछि सङ्गठनका महासचिव विष्णु छेत्रीले उक्त निर्णयलाई स्वागत जनाउँदै पहाडमा दुईस्तरीय होइन तर त्रिस्तरीय चुनाउ हुनुपर्ने माग गरेका हुन्।

छेत्रीअनुसार सङ्गठनले 2015 मा दार्जीलिङ पहाडमा दुईस्तरीय पञ्चायत चुनाउ हुनुपर्ने मागमा उच्च न्यायालयमा मुद्दा दर्ता गरेको थियो। त्यसबेला तक्निकीय अनि कानूनी रूपमा पनि दुईस्तरीय पञ्चायत चुनाउ मात्र सम्भव थियो। यसैले उच्च न्यायालयले पहाडमा दुई स्तरीय चुनाउ गराउन निर्देश दिएको थियो जसलाई राज्यले पनि मानिलिएको थियो। तरै पनि राज्यले चुनाउ गराएन।

त्यसपछि कालेबुङ अलग्गै जिल्ला भयो। यसैले अहिले पुनः सङ्गठनले कालेबुङ र दार्जीलिङ छुट्टिसकेको भन्दै त्रिस्तरीय चुनाउ गराउनुपर्ने आवेदन उच्च न्यायालयमा गरेको छ। यस सम्बन्धमा गृहमन्त्री राजनाथ सिंह एवं पञ्चायत साथै कानून मन्त्रीलाई पनि पत्राचार गरेको छेत्रीले बताए।

दागोपाप र जीटीएसित पञ्चायत चुनाउको कुनै लेनदेन नभए पनि बङ्गाल सरकारले ह्याकुला मिचाइ गरेर 17 वर्षदेखि पञ्चायत चुनाउ नगराएको छेत्रीले आरोप लगाए। उनले अब फेरि पनि राज्यमा चुनाउ हुँदा दार्जीलिङ-कालेबुङमा त्रिस्तरीय पञ्चायत चुनाउ नभए सर्वोच्च न्यायालय जाने चेताउनी दिएका छन्।

जीटीए सम्झौतापछि राज्यले संविधान संसोधन गराएर गर्नुपर्ने पञ्चायत चुनाउ आजसम्म नगराएको अनि कालेबुङ अलग्गै जिल्ला भएपछि पनि राज्यले संविधान संसोधन गराउने दिशामा कुनै पहल नगरेकोमा छेत्रीले आपत्ति जनाएका छन्।

उनले सङ्गठनले आगामी फरवरीदेखि कृषक पञ्चायत गरेर यसबारे सचेतना जगाउँदै आन्दोलन गर्ने चेताउनी पनि दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया