गोर्खाल्याण्डको निम्ति जीएसएसएसको उत्तराखण्डमा जनसभा,  मुद्दालाई राष्ट्रिय बनाउन देशभरि कार्यक्रम गर्ने

कालेबुङ, 29 जनवरी।

गोर्खाल्याण्ड राज्य गठनको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने उद्देश्य लिएर उत्तराखण्डको ऋषिकेश क्षेत्र अन्तर्गत छिद्दरवालामा जीएसएसएस (गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति)ले जनसभा सम्पन्न गरेको छ।

सङ्गठनका अध्यक्ष किरण बीकेले आज एउटा विज्ञप्ती जारी गरेर उक्त कुराको जानकारी दिएका छन्। उनले विज्ञप्तीमा उल्लेख गरेनुसार वर्तमानमा जीएसएसएसले देशको विभिन्न राज्यहरूमा पुगेर गोर्खाल्याण्ड राज्य गठनको निम्ति विभिन्न कार्यक्रमहरू गरिरहेको छ भने सोही कार्यक्रम अन्तर्गत उत्तराखण्डमा उक्त जनसभा सम्पन्न भएको थियो।

“भाषणमा मात्र सीमित रहेको गोर्खाल्याण्डको राष्ट्रिय मुद्दालाई साँचो रुपमा राष्ट्रियकरण गर्दै अब उसो भाषणमा मात्र नभएर कार्यक्रमले पनि गोर्खाल्याण्डको आन्दोलनलाई राष्ट्रिय मुद्दा बनाउने हेतुले जीएसएसएसद्वारा राष्ट्रब्यापी जनसम्पर्क अभियान देशको विभिन्न राज्यहरुतिर पुगिरहेको छ”- विज्ञप्तीमा किरण बीकेले उल्लेख गरेका छन्। उनले थप जानकारी गराएअनुसार गजेन्द्र साहीको पहलमा उक्त जनसभा सम्पन्न भएको थियो भने जनसभामा देहरादुनबाट एनजीसीका राष्ट्रिय अध्यक्ष ले. जेनेरल शक्ति गुरुङ, जीडीएफ का अध्यक्ष सुर्य बिक्रम साही, गोर्खाली सुधार सभाका उपाध्यक्ष धिरज थापा, गोर्खाली सुधार सभा केन्द्रिय समितिका गोपाल छेत्री,  उपाशना थापा,  रबि राणा,  शमसेर बमबहादुर आदि उपस्थित रहेका थिए। उनले थप जानकारी गराएअनुसार जनसभामा कार्यकारिणी अध्यक्ष सघन मोक्तान, महासचिव बिनिता लेप्चा, राष्ट्रिय प्रबक्ता अन्जनी शर्मा, कोशाष्यक्ष उत्तम कुमार छेत्री, अधिवक्ता याङजी पिनाशा,  भानु छेत्री  गरेर जम्मा ८ जनाको टोलीले सङ्गठनको पक्षबाट सहभागिता जनाएका थिए।

जनसभामा वक्ताहरूले गोर्खाल्याण्डको औचित्य, गोर्खाल्याण्ड मागको संवैधानिक तथा कानूनी बैध्यता आदि विभिन्न पक्षहरूबारे अवगत गराएका थिए भने उपस्थित जनसमूहको विभिन्न प्रश्न अनि जिज्ञासाहरूको जवाब पनि दिएको किरण बीकेले जनाएका छन्। गोर्खाल्याण्ड मागलाई फत्ते गराउन हरेक गोर्खाहरूको महत्त्वपूर्ण भूमिका आवश्यक रहेको कुरा पनि वक्ताहरूले जनसभामा राखेको पनि उनले बताएका छन्।

गोर्खाल्याण्ड आन्दोलनको निम्ति आगामी दिनहरूमा पनि सहयोग जुटाउन ऋषिकेश अनि हरिद्वारबाट सङ्गठनको निम्ति संयोजक चयन गरिएको जसमा ऋषिकेशबाट गजेन्द्र साही अनि धिरज थापा तथा हरिद्वारबाट शमसेर बमलाई चयन गरिएको किरण बीकेले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया