चियाबगान मालिकपक्षले शोषण गर्दैछ : भरत ठकुरी

दार्जीलिङ, 30 जनवरी।


चियाबारी श्रमिकहरूको अवस्था दिनदिनै सोंचनीय बन्दै जाँदैछ। इङ्ग्ल्याण्डकी महारानीदेखि भारतका प्रधानमन्त्रीसम्मको दिनको शुरूआत पहाड़कै चियाको चुस्कीबाट हुन्छ भने यहीँ चियापत्ती टिप्ने चियाश्रमिकहरू बँधुवा मजदुरसरह बनेका छन्। चियाबारी मालिकहरूले एकदेखि अर्को चियाबगान थप्दै गए, तर श्रमिकहरू घरदेखि डेरामा बस्ने अवस्थामा पुगिसके। चियाबगान मालिकपक्षले चियाबगानवासी जनता वा श्रमिकहरूको घर बनाउन बन्द गरिसके, तर ती श्रमिकहरूले उत्पादन गरेकै चिया विदेशमा बिक्री गरेर धेरै आय गरिरहेका छन्। तर यी चियाश्रमिकहरूको अवस्था सोंचनीय बनिसकेको छ।

गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका महासचिव भरत ठकुरीले वर्तमान चियाश्रमिकहरूको अवस्थामाथि चिन्ता व्यक्त गर्दै अझै अघि भने, आज एफएलओबाट चियाश्रमिकहरूलाई दिइने रूपियाँ सोझै श्रमिकहरूले पाउन सकेका छैनन्। शोषण, दमन र अत्याचारमा परेका श्रमिकहरूले न्याय पाउनैपर्छ, ऋषिहाट शाखामा संयोजक प्रवीन लामाको अध्यक्षतामा भएको एक सभामा दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका केन्द्रिय समिति महासचिव भरत ठकुरीले उक्त कुरा भनेका हुन्।

सङ्गठनका महासचिव भरत ठकुरीले उत्तरकन्यामा भएको सभामा सङ्गठनको पक्षबाट अध्यक्षा करूणा गुरूङ अनि उनी स्वयंले चियाश्रमिकहरूको रोज वृद्धिको कुरा गर्दा अन्य राजनैतिक दलका श्रमिक नेताहरू चुँई नबोलेको अनि गोजमुमोको पक्षबाट बार-बार श्रमिकहरूको हितमा कुरा उठाइरहेको सभामा बताए।

उनले भने, यदि अब पनि मालिकपक्षले कानमा तेल हालेर बस्छ भने दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन आउने दिनमा श्रमिकहरूको हितमा सड़कमा ओर्लिन बाध्य हुनेछ। मालिकहरूले डर देखाएर हाम्रो अधिकार खोस्दैछ। चियाकमान बन्द हुन्छ भन्ने डर छ, हामी डराउँछौ र नै मालिकपक्षले मनपेट पाएको हो, अब डराउनु हुँदैन जे पर्छ, त्यहीँ टर्छ, मालिकहरूको मनमानी बेसी भयो, ठकुरीले भने।

हालै चियाबगानका श्रमिकहरूले 104 दिनको राशिन पाए, अब 104 दिनको बन्दमा श्रमिकहरूले गुमाएका अन्य कुराहरू दिलाउन सङ्गठन प्रयासरत छ। यसैले कसैको बहकाईमा नपरिदिने उनले श्रमिकहरूअघि अपील गरे। यसै सभामा ऋषिहाट शाखा श्रमिक सङ्गठनको पनि पुनर्गठन गरियो, जसमा सभापति बीआर सोताङ, उपाध्यक्ष कुन्दन सुब्बा, सचिव अवकाश तामाङ, सहसचिव विमल तामाङ, कोषाध्यक्ष सोना राईलगायत अन्यलाई चयन गरियो।

सभामा पार्टीका समष्टि सभापति योञ्जित राई, प्रवक्ता सन्दीप छेत्री, गोजमुमो श्रमिक सङ्गठनका साङ्गठानिक सचिव बालम तामाङ आदिले सम्बोधन गरे भने दार्जीलिङ महकुमा प्रवक्ता दावा तामाङको पनि सभामा उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया