हुँदैन गेटसभा, दिइनेछ पत्र, बोनस नदिए रोकिनेछ चियाको बिक्री

दार्जीलिङ, 31 जनवरी।


गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले चिया श्रमिकहरूको बाँकी 50 प्रतिशत बोनस भुक्तानको लागि भोलिदेखि गेटसभा र साङ्केतिक हड्ताल गर्नेछैन। यसको साटो सङ्गठनका युनिट स्तरका कार्यकर्ताहरूले चियाबगान प्रबन्धन वा मालिकपक्षलाई पत्र दिएर बाँकी बोनस दिने कि नदिने भन्ने प्रश्‍न मात्रै गर्ने भएका छन्। यसका साथै सङ्गठनले चियापत्ती टिप्न दिने, तर बनिएको चिया बेच्नको लागि बाहिर लान नदिने निर्णय लिएको पनि सङ्गठनका केन्द्रिय समिति महासचिव भरत ठकुरी र सङ्गठनका दार्जीलिङ महकुमा समितिका साङ्गठानिक सचिव बालम तामाङले बताए।

उनीहरूले भने, गोजमुमोको श्रमिक सङ्गठनले चियाबगानमा गेटसभा, साङ्केतिक हड्ताल आदि गर्नेछैन। किनभने, दार्जीलिङ पहाड़को चिया उद्योगलाई पनि बँचाउन पर्छ। यसैले दार्जीलिङ पहाड़का श्रमिक सङ्गठनहरूले 50 प्रतिशत बाँकी बोनसको लागि भोलि 1 फरवरीदेखि पहाड़का सम्पूर्ण चियाबगानहरूमा गेटसभा गर्ने, हल्ला मच्चाउने निर्णय लिएका थिए, तर गोजमुमोको श्रमिक सङ्गठनले अलग्गै आफ्नो निर्णय लिएको छ, जसअनुसार भोलिदेखि युनियनको युनिटस्तरका श्रमिक नेतृत्वहरूले चियाबगान प्रबन्धन वा मालिकपक्षलाई पत्र दिएर बोनस दिने कि नदिने भन्ने प्रश्‍न मात्रै राख्नेछन्। यसका साथै सङ्गठनले चियाबगान मालिकपक्षलाई बाँकी बोनस भुक्तानको लागि 1 सप्ताहको पनि समय दिएको छ।

यसबारे सङ्गठनका महासचिव ठकुरीले भने, यदि आगामी 1 सप्ताहसम्म पनि दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई उनीहरूको बाँकी बोनस दिने काम नभए, सङ्गठन कठोर पदक्षेप ग्रहण गर्न बाध्य हुनेछ। उनले भने, अब चियाबगानहरूमा काम हुन्छ, चियाश्रमिकहरूले आफ्नो काम गर्नेछन्, चियापत्ती टिप्नेछन्, तर टिपिएको चियाबाट बनिएको चिया बाहिर बेच्नको लागि लैजान दिइनेछैन।

श्रमिक सङ्गठनका नेतृत्वद्वयले भने, यसबारे सङ्गठनले जीटीएका अध्यक्ष विनय तामाङ र उपाध्यक्ष अनित थापासित पनि भेट गरेर यसको विस्तृत जानकारी दिने योजना बनाइएको छ, ताकि यसमाथि उनीहरूले हस्तक्षेप गर्नैपर्ने अवस्था आएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया