टिस्टा-रङ्गीतको महत्त्व अनि लेप्चा जातिमाझ रहेको सम्बन्ध दर्शाउँदै इल्टाद्वारा पूजा सम्पन्न

कालेबुङ, 31 जनवरी।

इण्डिजिनियस लेप्चा ट्राईबल एसोसिएशन(इल्टा)-को आयोजनामा आज टिस्टा-रङ्गीतको दोभानमा पूजा सम्पन्न भयो। लेप्चा जातिमा टिस्टा अनि रङ्गीतको महत्त्व छुट्टै रहेको अनि धार्मिक दृष्टिकोणले उक्त स्थान अनि नदीलाई लेप्चाहरूले पौराणिक कालदेखि नै महत्त्वपूर्ण मानिलिँदै आएको कारण सोही परम्परालाई कायम राख्दै आजको पूजा सम्पन्न गरिएको थियो।

यस अवसरमा विभिन्न स्थानका लगभग सयजना पुरूष साथै महिला लेप्चा मुन-बुङथिङहरूले एकघण्टासम्म पूजा अर्चना गरेका थिए। यसअघि मायलल्याङ लेप्चा डेभलोपमेन्ट बोर्डका अध्यक्ष एल एस तामसाङले पूजा गरेर कार्यक्रमको शुरूवात गरेका थिए। कार्यक्रममा पद्मश्री प्रापक सोनाम छिरीङ लेप्चा, दोजी टी लेप्चा लगायत विभिन्न स्थानका लेप्चाहरूको उपस्थिति रहेको थियो।

“यो स्थानलाई हामी पवित्र स्थानहरूमध्ये एक मान्ने गर्छौं। लेप्चा जाति अनि जातिको सृष्टिसित यस स्थान अनि टिस्टा-रङ्गीतको सम्बन्ध प्रगाड मात्र होइन महत्त्वपूर्ण पनि रहेको छ। सोही कारण आज हामीले पूजा सम्पन्न गरेका हौं”-पूजा आयोजनाबारे इल्टाका सचिव रूम्देन सिमिकले बताए। उनले बताएअनुसार प्रत्येक वर्ष नै इल्टाले यसरी टिस्टा-रङ्गीतको दोभानमा पूजा गर्दै आइरहेको छ। यसले लेप्चा जाति अनि धर्मसितको महत्त्व मात्र उजागर नगरेर लेप्चाहरू यहाँको आदिम  वासी रहेको कुरा प्रष्ट पार्ने गरेको दाबी पनि उनले गरे।

पूजा समापन पछि त्रिवेणी गेष्ट हाउस प्राङ्गणमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रमअवधि लेप्चा कलाकारहरूले विविध मनोरञ्जनात्मक प्रस्तुतीहरू दिएका थिए भने सङ्गठनका पदाधिकारीवर्गले कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया