विपन्न परिवारहरूलाई नगरपालिकाद्वारा घर निर्माणको निम्ति चेक प्रदान

कालेबुङ, 31 जनवरी।

आर्थिक रूपले विपन्न 18 वटा परिवारलाई आज कालेबुङ नगरपालिकाद्वारा प्रत्येकलाई एक लाख 24 हजार तीनसय रूपियाँको चेक प्रदान गरियो। स्टेट अर्बन डेभलोपमेन्ट एजेन्सी अन्तर्गत घर निर्माणको निम्ति उक्त चेक प्रदान गरिएको थियो।

आज नगरपालिका कार्यालयमा सम्पन्न एउटा कार्यक्रमबीच नगरपालिका अध्यक्ष रबि प्रधानको बाहुलीबाट उक्त चेक वितरण गरिएको थियो। नगरपालिकाका विभिन्न वार्डहरूका आर्थिक रूपले विपन्न परिवारहरूलाई उक्त चेक प्रदान गरिएपछि अध्यक्ष रबि प्रधानले कूल 30 जनालाई घर निर्माणको निम्ति उक्त राशि प्रदान गरिने तय भएको जनाएका छन्।

“हामीले गत 20 दिसम्बरमा बोर्ड गठन गरेपश्चातदेखि नै विपन्न परिवारलाई घर निर्माण गरिदिने वचन दिएका थियौं। हामीले 37 जनाको नाम पठाएका थियौं यद्यपि 30 जनाको घर निर्माण गर्ने मञ्जुरी प्राप्त भएको छ”-चेक वितरण गरेपश्चात अध्यक्ष रबि प्रधानले बताए। निर्माणाधिन घरहरूको विभागीय अभियन्ताहरूले निरीक्षण गरेपश्चात नै चेक प्रदान गरिएको जानकारी पनि उनले दिए।

अर्कोतिर सहुलियत प्राप्त मानिसहरूले नगरपालिका अध्यक्ष अनि सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन्। वर्तमान अध्यक्ष रबि प्रधान, वार्ड पार्षद्हरू लगायत कर्मचारीहरूले सहि जाँचबुझ गरेर आफूहरूको अवस्थालाई विचारेर नै घर निर्माणको निम्ति पहल गरिदिएको अनि रकम प्राप्त भएको लाभान्वित परिवारका सदस्यहरूले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया