मराठीहरूको भाषामोह…

भाषा »


  • हीरा छेत्री, एन्टप हिल, मुम्बई-37

 

हामीलाई चाहिँ अचानक भाषाको मोह जाग्छ। त्यसका लागि पनि कसैले हामीलाई मज्जाले गाली गर्नुपर्छ कि चैं ‘तेरो भाषा विदेशी हो’ भनेर कि चैं ‘नेपाली पढ़्ने हो भने नेपाल जा’ भनेर हैन भने ‘तेरो ठाउँमा मेरो भाषा अनिवार्य रुपमा पढ़्नैपर्छ’ भनेर। तब हाम्रो स्वाभिमानको बाघ बिच्केर जुर्मुराउँदै उठ्छ अनि आँखा नहेरी, अघि-पछि केही नबुझी आफ्नोअघिल्तिर आएको हर कसैमाथि जाइलाग्छ। यो आक्रमणमा धेर त आफ्नैहरू घाइते हुन्छन् अनि सम्पत्ती पनि आफ्नै नष्ट हुन्छ। हुलमुलमा हामी पुस्तकालयसम्म जलाउँछौँ। त्यसपछि फेरि अचानक हामीलाई सन्तोक लाग्छ – ‘लु खा साला’ भनेर ढुक्कै हुन्छौँ। भन्छन् नि भन्नेहरू –  हाम्रो रिस र आवेग चैं टिनको च्याप्ला तातिएको जस्तै अरे। एकैछिनमा सेलाएर चिस्सिने।

यता मुम्बई आएदेखि गत आठ महिनामा यसो तुलना गर्दै जाँदैछु…. गर्ने क्रम जारी नै छ। लेखिहाल्ने समय त हैन होला तर भूमिकाजस्तो बाँध्दै गर्दा हुन्छ कि भनेर अनि फेरि यो साताको खुराक पनि पुऱ्याउने बेला भइगयो भनेर कोट्याइराख्दा हुन्छ भनी यति काम गरिराखेको नि….

म प्रायः एक्लै हुने गर्छु यो भारतको सबैभन्दा व्यस्त सहर मुम्बईमा। त्यो समयलाई म यताउति घुमेर बिताउने गर्छु। कोठाबाट बाहिरिएपछि मात्रै मेरो गन्तव्य तय हुन्छ सधैँ फुर्सतको समय। बाहिर निस्केपछि दाहिने जाऊँ कि देब्रे हुन्छ अनि खुट्टा जता तन्किन्छ त्यतै लागिपठाउँछु। अलि पर पुगेपछि चौबाटो भेटिन्छ – हामी यस्ता बाटालाई चारदोबाटे भन्छौँ। कालेबुङमा यौटा ठाउँको त नामै छ सातदोबाटे। जनजिब्राले ग्रहण गरिसकेको छ भने अनि चल्ती चलनमा कुनै बाधा-व्यवधान छैन भने मान्य बन्दै जान्छन् विसङ्गतिहरू पनि। टिस्टा र रङ्गीतको सङ्गमलाई हामी त्रिवेणी भन्छौँ अनि तीनवटा खोलाको जमघटलाई दोभान भन्छौँ…। चलिरहेको छ।

यसरी पैदल लाग्दै गर्दा म प्रायः दोकानपाटका नाउँहरू याद गर्ने कोसिस गर्छु किनभने ऐले फेरि फर्किनुपर्दा आधा बाटामा अलमल्ल परिन्छ कि भन्ने डर हुन्छ। हुनत जति नै अलमल्लमा परिए पनि मुम्बईका निवासीहरू धेरै सहयोगी भावका हुन्छन् – सोधेको कुरा झिँझट नमानी बताइदिन्छन्। यहाँसम्मन् कि समय मिल्यो भने त आफै साथ लागेर बाटो भुलेको यात्रीलाई टुङ्गामा पुऱ्याइ पनि दिन्छन्। यस्ता  घटनाहरू अर्को रचनामा साझा गरौँला…..।

दोकानपाटका नाउँहरू हेर्दै जाँदा मेरो नजर एकदिन यौटा ठुलो बोर्डमा पऱ्यो जहाँ लेखिएको थियो – झेरक्ष। टाढ़ैबाट देखिएको यो ‘झेरक्ष’ बुझ्न मलाई मन लाग्यो र म त्यै बोर्डतिर चुम्बकले तानेजस्तै तानिइन थालेँ। दोकानमा पुगेर यसो नियालेको जेरक्सको दोकान रैछ।

मराठीहरू अङ्ग्रेजीको जेड -लाई ‘झ’ लेख्छन् प्रायः। यसरी नै ‘एक्स’ -लाई क्ष लेखेका होलान्। अनि जेरक्सलाई उनीहरूले झेरक्ष लेखेका हुनन्। अधिकतर बोर्ड नै मराठीमा लेखिएका हुन्छन्। धेरै कम्ती यस्ता साइनबोर्डहरू अङ्ग्रेजीमा पाइन्छ। कम्पनी आफैले तयार गरेको हो भने अङ्ग्रेजीमा लेखिएको पाइन्छ बोर्ड तर स्थानीय दोकानेहरूले नै बनाएका हुन् भने अङ्ग्रेजीमा लेख्दै-लेख्दैनन्। स्कुल-कलेजहरू पनि मराठी भाषाकै माध्यमका धेर छन्।

गत 27 दिसम्बर, 2017 तारिखका दिन निजी काम परेको कारण वड़ाला नामक ठाउँ जानुपर्ने भयो। वड़ालामा बेस्टको अफिस छ। बेस्ट भनेपछि मुम्बईमा सार्वजनिक बसगाड़ी र बिजुली आपूर्तिको दायित्व लिएको अर्ध-सरकारी निकाय हो। भनौँ भने मुम्बईको परिचय नै बेस्ट हो। आँखा चिम्म गरेर मुम्बईको चित्र सोच्नु हो भने बेस्टको बस नै पैला देखिन्छ। वड़ालामा अवस्थित बेस्टको बिजुली दफ्तरमा आफ्नो काम परेको कारण म त्यहाँ पुगेँ। औपचारिकताअनुसार यौटा फारम भर्नुपर्ने रहेछ। मेरो हातमा फारम थमाइदिइन् एक कर्मचारीले। यसो हेरेको त मराठी भाषामा रहेछ। म काउन्टरमा पुगेर भनेँ, ‘मलाई त मराठी आउँदैन। म यो फारम भर्न सक्तिनँ।’ यो सुनेर मेरो अनुहारमा एकपल्ट राम्रोसित हेरेर कर्मचारी महोदयाले भनिन्, ‘जति बुझ्नुहुन्छ त्यति भर्नुहोस्। उब्रेको हामी भरिदिन्छौँ।’ मैले भनेँ, ‘किन अङ्ग्रेजीमा यो फारम उपलब्ध छैन?’ उनले भनिन्, ‘छैन, तपाईँलाई मराठीमा लेख्न अप्ठेरो हुन्छ भने देवनागरीमा लेख्नुहोस् न हिन्दी जस्तै त हो….। हिन्दी त आउँछ होला नि…’

‘हैन त्यस्तो हैन, सोधिहेरेको नि अङ्ग्रेजीमा ठ्याम्मै छैन कि अलिअलि चैं छ, के हो बुझ्नलाई नि…।’

‘छैन, अङ्ग्रेजीमा यौटा पनि छैन। यहाँ मात्रै हैन अरू अफिसतिर पनि तपाईँले अङ्ग्रेजीमा फारम पाउन सारै पर्छ। तपाईँलाई लेख्न असुबिधा हुँदैछ भने अङ्ग्रेजीमै लेख्नुहोस् न…। केई छैन… कुनै प्रश्न बुझ्नुभएन भने सोध्नुहोस् अथवा त्यो कलम रित्तै छोड़िदिनुहोस्…।’

मैले त्यसै गरेँ। हुनत मलाई त्यति गारो परेन त्यो फारम भर्न किनभने नेपाली र मराठीको साझा लिपि देवनागरी नै हो। उनीहरूले सम्झे होलान् मैले सायद हिन्दीमा लेखिरहेको छु भन्ने तर वास्तवमा म मातृभाषामा लेखिरहेको थिएँ। जेहोस्….

हाम्रातिर चाहिँ 20 अगस्त आउनेआउने बेलामा यस्तै हुन्छ – अंशकालिक भाषामोह जाग्छ हामीमाझ। भाषा हाम्रो प्राण हो भनेर हामी छेरुन्जेल चिच्याउँछौँ। 21 अगस्तदेखि फेरि घुम्दैफिर्दै रुम्जाटार। पश्चिम बङ्गाल सरकारले राज्यको दोस्रो सरकारी भाषा भनेर मान्यता प्रदान गरेको नेपालीको प्रयोग गर्न हामी धेरै पिछाड़िएका छौँ। नेपालीमा साधारण आवेदन गर्न भनेपछि हामीलाई लाज लाग्छ। हीनभावनाको सिकार बन्छौँ हामी नेपाली प्रयोग गर्न। जुन भाषामा हामी आइया र आत्था गर्छौँ त्यो भाषालाई लत्याउनमा खुप मज्जा मान्छौँ। कोसिस पनि गर्दैनौँ नेपाली प्रयोग गर्ने। अनि अर्को विडम्बना के छ भने हाम्रा संस्थाहरू, गुरूहरू, गुरामाहरू कोही पनि अघि सरेर व्यावहारिक रुपमा नेपाली भाषाको प्रयोग कसरी गर्नुपर्ने भन्ने विषयमा आफ्ना अनुजहरूलाई बाटो देखाउने काममा देखा पर्दैनन्। साथै हाम्रो भाषाको सरकारी अभिभावक पनि छैन जसले नेपाली प्रयोगलाई अनिवार्य बनाइदियोस्। यहाँसम्म कि हामी 80 प्रतिशतमा उपस्थित रहेको राज्य सिक्किममा पनि नेपाली भाषाको प्रयोगलाई अनिवार्य त के ऐच्छिकधरि बनाइएको उदाहरण छैन। जुन राज्यका मुख्यमन्त्री नेपाली भाषाका कवि हुन् भनिन्छ, जुन राज्यको भूमिकाकै कारण नेपाली भाषाले देशको संविधानमा मान्यता प्राप्त गरेको कुरा गरेर आज पनि नाक घोक्र्याइन्छ। त्यहाँ पनि मातृभाषा नेपालीको अवस्था चिन्ताग्रस्त छ। रोगी छ त्यहाँ पनि नेपाली भाषा आईसीयु-मा भर्ती भएजस्तै।

अर्कोतिर हामीमाझ कतिजना जबर्जस्ती सचेत पनि छौँ तर। भाषाप्रति सचेत हुनु भनेको चाहिँ सिटिङ रुममा नेपाली पत्रिका राख्नु र पुसिङ सेलमा आएका कितापहरू किनिदिनु नै हो भन्ने ठान्छन्। लेखक-कविहरूलाई त ‘बिचारा’ पो भन्छन्। ‘बिचारा हाम्रो फलाना भाइले लेखेको रैछ कि एक कपी किनिदिएको नि। हामीले किनेन भने कसले किन्छ?’ भन्छन्। अनि त्यो किताप र पत्रिका पढ़्छन् कि पढ़्दैनन् कुन्नि तर त्यसका लेखक र सम्पादकलाई बधाई दिएर, फेरिफेरि यस्तै लेख्नुपर्छ है भनेर फुस्रो उत्साहसित उचालेर अक्कास पुऱ्याउँछन्। यस्तै आधारबिनाको उत्साह, प्रेरणा, हौसलाको युरियामा हलक्कै बढ़ेका हाम्रा लेखक-लेखिकाहरूले नेपाली साहित्यमा कस्तो खालको फल-फूल फलाइ-फुलाइरहेका छन् त्यो देक्खी नै छ। हाम्रो त भाषाप्रेम पनि भावनाको आधारमा पो हुन्छ। नेपाली सिनेमा पनि हामी हेरिदिन्छौँ, हेर्दैनौँ। कितापहरू किनिदिन्छौँ, किन्दैनौँ। पढ़िदिन्छौँ, पढ़्दैनौँ।

अझै अर्को कुरा हामी भाषा अलिअलि जान्नेहरूको बेउरा कस्तो छ भने कसैले यदि नेपालीमा लेख्ने प्रयास गर्दैछ भने सबैभन्दा पैला उसको भाषाको हिज्जेमा खोट खुट्याउन थाल्छौँ। यस्तो भएन र त्यस्तो भएनमै हामी आफ्नो ध्यान केन्द्रित गर्छौं जान्नेहरू। फेरि कुन हिज्जे सही त भन्ने कुरामा आफै पनि एकमतमा हामी छैनौँ। एकपट्टिबाट प्रयास हुन्छ एकनासे बनाउने, अर्कोपट्टिबाट छुरी चल्दै आउँछ। यसमा पनि समूहवाद चल्छ हाम्रो भाषामा – ग्रुपिज्म। यति गरेर पनि त हामी यस्तै हो, यस्तै हुनुपर्छ भनेर कुनै नियमनीति जारी गर्नसक्ने स्थितिमा छैनौँ। त्यसको तुलनामा मराठी धेरै अघि छ।

हामी शक्ति लेख्छौँ। किन शक्ति लेख्यौँ त्यसको कारण बताउनमा हामी उस्ताद छौँ। ‘संस्कृतको तत्सम शब्द हुनाले’ भन्ने जवाफ मुखैमा झुन्निएको हुन्छ। तत्समको हिज्जे परिवर्तन नगरौँ भनेर हामीले मान्यता दिएका छौँ। यो प्रथा चलिरहेको पनि छ, कसैलाई बिराएको छैन यसले। मराठीहरू ढुक्कैले ‘शक्ती’ लेख्छन् किनभने यो तद्भव हो भन्छन्। यसरी तद्भवीकरण गर्नुपर्छ भन्ने यिनीहरूको मान्यता छ। यो मान्यतालाई सरकारी मोहर लागेको छ। अब के चाहियो? यिनीहरू जतिसक्दो तद्भवीकरण वा मराठीकरणमा अभ्यस्त छन्। हामी ‘रूप’-लाई ‘रुप’ लेख्न सक्तैनौँ। चलनअनुसार नेपालीमा पहिलो वर्णमा आउने इकार र उकार सानु अथवा ह्रस्व हुनुपर्छ भन्ने मान्यता छ। यही रितले हामीले लेख्दै गरेको ‘दूध’ -लाई ‘दुध’ बनायौँ। हुनत दुइटै तद्भव हुन्। तर मराठीहरूले जस्तो ‘रूप’-लाई ‘रुप’ लेख्न चाहिँ गलत मान्यौँ। ‘रुप’-लाई तद्भव भनेर स्विकारै गरेनौँ अनि तत्समप्रेममा धेर आकृष्ट भयौँ।

हाम्रो आधिकारिक मोहर ठोक्ने बलियो हातै छैन। कुनै संस्था छैन जसमाथि भर पर्न सकियोस्। फरमान जारी गर्नसक्नेहरू पनि मौन छन्। डराइरहेका हुन्छन्। सिक्किमको नेपाली साहित्य अकादमीले यो काम गर्नसक्ने हो, तर कुन्नि के बाध्यता छ यसबारे केही सोचेजस्तो लाग्दैन यो संस्थानले पनि। दार्जीलिङ पहाड़मा अस्थायी रुपमा देखा पर्ने दागोपाप र गोक्षेप्र-हरू पनि निकम्मा छन् यस दिशामा। भाषाको उन्नति चाहिँ पुरस्कार वितरणले पुरा हुन्छ भन्ने ठानेर सुरूदेखि नै भव्यतापूर्वक पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्ने परम्परा स्थापित भयो। तर सार्थकतापूर्वक कुनै काम गरेनौँ। सार्थकतामाथि भव्यता हाबी भयो। भाषा प्रयोगको तुलनात्मक प्रगति-पत्र तयार गरेकै छैनौँ हामीले। नेपाली भाषाको व्यावहारिक प्रयोगको दिशामा तालिम केन्द्र स्थापित गर्ने काम भएन, नेपाली भाषालाई पनि रोजगारको माध्यम बनाउन सकिन्छ भन्ने सचेतना जगाउने कामै भएन। नेपाली भाषामा सरकारी दूरदर्शनको स्थापना राष्ट्रिय तहमा हुनुपर्ने दिशामा भनेजस्तो कामै भएन, अनुवादको क्षेत्रमा कुनै कामै भएन, इन्टरप्रिटरको त्यस्तै हालत छ। यहाँसम्मन् कि पश्चिम बङ्गाल सरकारको सूचना विभागतिर पनि न नेपाली अनुवादकको भर्ती भएको छ, न दुइभासेकै। यदि भएको छ भने पनि व्यावहारिक काम भएको जानकारी खुबै कम्ती छ। जीटीए क्षेत्रमा सय प्रतिशत नेपाली भाषाको प्रयोग हुनुपर्ने हो सरकारी दफ्तरहरूमा। न्यायालयको प्रक्रिया नेपालीमा हुनुपर्ने हो।

नेपाली भाषाको संरक्षण र श्रीवृद्धिका लागि गत सय वर्षदेखिन् स्थापित भन्ने, पचहत्तर उक्लिसकेको भन्ने, नेपाली भाषाको मान्यताको पहिलो आवाज हाम्रो संस्थाले उठाएको हो भन्ने, भारतमा एकमात्र नेपाली राज्य भन्ने, नेपाली भाषाका विभागहरू रहेका महा र विश्वविद्यालयहरू भनेर ठोकुवा गर्ने कतैबाट पनि आधिकारिक तौरले नेपाली भाषाको व्यावहारिक प्रयोगको दिशामा काम भएको देखिएको छैन।

मुम्बईको अन्तर्राष्ट्रिय विमानअड्डाको आगमन कक्षमा जहाँ प्रति दिन 30 हजारभन्दा धेरै यात्रीहरू विदेशबाट भारत भित्रिन्छन्, त्यहाँ ठुलो अक्षरमा लेखिएको छ – मुंबई मध्ये आपले स्वागत आहे। अब त्यो भाषा जर्मनेलीले बुझोस् कि नबुझोस्, स्पेनीले जानोस् कि नजानोस्, चिनियाँले सम्झोस् कि नसम्झोस्। त्यहाँ अङ्ग्रेजीमा ‘वेलकम टु इन्डिया’ लेखिएको कतै पाइँदैन। बरू भारतका अन्य भाषाहरू त्यहाँ देखिन्छन् गुजराती, तमिल, तेलगू, कन्नड़ इत्यादि।

मराठी भाषाको प्रयोग गरेर यो भाषा बोल्नेहरूले व्यवसाय चलाइरहेका छन्, सरकारी जागिर पाइरहेका छन्, निजी बेपार धन्दा गरिरहेका छन्। यो भाषा महाराष्ट्मा मात्रै सीमित छ तर हाम्रो नेपाली भाषा भने सिक्किम, बङ्गाल, आसाम, उत्तराखण्ड विभिन्न ठाउँमा अधिकतर मानिसहरूले बोल्ने बोली हो। यसलाई अझ धेर व्यापक रुपमा चलाउन सकिइने हो। नभनेको पनि हामीले यसलाई बङ्गाल, सिक्किम र आसाममा त सहजै आधिकारिक रुपमा व्यवहारमा ल्याउन सक्नुपर्ने हो। तर त्यसो हुनसकिरहेको छैन अनि हामीले यसबारे केही गर्ने पहल पनि गरिरहेका छैनौँ……

यसैले भन्न मन लाग्छ जय मराठा….

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया