ओ क्याप्टन!, माई क्याप्टन!

भुइँकुरा


प्रवीण खालिङ


बाघचुलीबाट उदाएको यौटा प्रखर सूर्य अहिले अस्ताएको छ। घाम अस्ताइसकेर पनि त्यसको उज्यालोको न्यायो भने हिमालको सन्तानले बाचिञ्जेल गर्वबोध गरिरहनेछ।  एउटा  लिजेण्ड व्यक्तित्व अहिले इतिहास बनेको छ। हो, हिमालको सन्तानले आफ्नै माटोको बासना सुघ्न पाउनुपर्छ अनि अहिलेसम्म  एउटा मिथक कथा जस्तो लाग्ने  हिमालको सपनालाई विपनामा अनुवाद गर्ने एउटा बलियो आवाज, एउटा चेतना र एउटा सप्नद्रष्टा अहिले आफै लोककथा बनेको छ।

विश्व साहित्यले 1865 सालमा एकपल्ट आफ्नो कालको मनपर्ने व्यक्तित्व गुमाउनुपर्दा गहकिलो कविता प्राप्त गर्न सकेको थियो। लिजेन्ड व्यक्तित्वहरू आफू मरेर मात्र जॉंदैनन्‌ उनको मृत्यु  शोकले पनि समाज र विश्वलाई अमूल्य कृतिहरू दिएर जान्छन्‌। मर्न अघि सिजर्नामा समाजलाई विचार, नेतृत्व र सपना दिन्छन्‌ भने मृत्युमा पनि उनीमाथि सिर्जना हुन्छ विचारको प्रार्दुभाव गरिन्छ। त्यत्तिबेला वाल्ट ह्वाइटमेनले आफ्नो कालको सबैभन्दा प्रिय व्यक्तिको निधनमा सिर्जना गरे ओ क्याप्टन! ओ माई  क्याप्टन! केवल 6 पदवलीको यो कविता विश्व साहित्यमा  राम्रा शोक कविताहरूको लहरमा उभिन सक्षम छ।  एउटा इतिहासको अन्त पछि सिर्जित यो रचना अमर छ त्यो इतिहास व्यक्तित्व अब्राहम लिङ्‌कन जस्तै।

अहिले पहाड़ आफ्नो युगबोध गराउने विचार र सपना दिने माटोको सॉंचो छोरो अनि हिमालका सन्तानको अग्रज सप्नद्रष्टा कप्तानको मृत्युशोकमा छ। पहाड़ त्यसो त लिजेन्डहरूको, धरोहरहरूको सानो बस्ती हो। जहॉं बुढ़ो रेल कटुवाको धुवा फ्यॉंक्दै चिन्हारीको सुशेली हाली रहन्छ। गोरेटो जस्तो लिकबाट ओर्लिएर कहिले कॉंही आफ्नो पुरातनलाई सम्झाउने प्रयास गर्छ। त्यसैगरि फालेलुङको उकालो ढुङ्‌गे देउराली पार गर्दै हुन्छ पुरानो दुइ संख्या अङ्कित नम्बर प्लेट युक्त लिजेन्ड वाहन ल्याण्डरोभर। गुरॉंसे पाखा पार गर्दै जॉंदा उसले हिमालको सन्तानको कथा व्यथाको एउटा मोटो अध्यय लेखिराखेर जान्छ धुलाम्मे गोरेटोहरूमा।

कञ्चनजंघाको मुकुट लगाएर उभिएको महाकाल सधैं अस्तित्वको लोक कथा भनिबस्छ। पाहाड़मा आफ्नो सन्तानले बगाएको पसिना, रगतको हिसाब-किताब उसलाई राम्रो थाहा छ । त्यही हिसाब-किताब मिलाउनुपर्छ र आफ्नो बन्दकी आमाको मुक्तिको गीत गाउँदै पाखा पखेराबाट मुट्ठी कसिलो पार्ने आह्वानको नाम भएर झुल्किएको  पहाड़को छोरो गोर्खाको क्याप्टन  अस्ताएका छन्‌। उनी आज इतिहास भएका छन्‌।

महाकाल र कञ्चनजङ्घालाई थाहा भएको इतिहासको हिसाब उनलाई राम्रो ज्ञान थियो त्यसैले उनले भने, वीर गोर्खाको इतिहास छँदा छँदै अर्काको नंपुसक इतिहास तापेर हामी बॉंच्नु हुँदैन।  उनले आफ्नो इतिहास बनाए। इतिहास आफै रच्नु सिकाए। चिनारीको महत्व गाउँको गोरेटो र चियाबारीको मुना मुनालाई बुझाए। कुनै यस्तो ठाउँ रहेन जसले उनको विचारलाई स्वीकार गरेन । नागरिकता , चिन्हारी र परम्पराको सुरक्षा हुनुपर्छ भन्ने धारणालाई सधैं बलियो मुटु बोक्ने पहाड़को बाघको निधन देशभरिका गोर्खा समुदायको निम्ति एउटा महत्वपूर्ण अध्ययले इतिहास बनेको दिन शोकमय छ।

मायाको दाम कति हो त्यसको मूल्य पहाड़ले कही कतै बुझेनन्‌ कि आत्म चिन्तामा उनी  सोच्थे। पहाड़ र माटो भने पछि मरिमेट्‌ने उनी।  तर अहिले उनी अस्ताएका छन्‌। एउटा सिङ्‌गो विचार, चिन्हारी र माटोको आर्दश अहिले महाकाल, कञ्चनजङ्गा, ल्याण्डरोभर र पुरानो रेललाई छोडिराखेर अनन्त यात्रामा गइसकेका छन्‌।

उनी बाघ बॉंचे अनि आफूले गोर्खा समाजमा चिन्हारी र अस्तित्वको जुन अलख जगाए आज आएर यो जातिको निम्ति त्यही एउटा बॉंच्ने आधार बनेको छ। त्यसैले उनी लेख्थे, सोच्थे र गर्थे।

बरू मलाई त जङ्‌गली बाघकै मुटु

 एकै दिन भए पनि पैँचो मागेर

मूल सड़कबीचै मेरा पाइतालाका डामहरू

छाडिराख्न मन लाग्छ

ताकि नेपोलियनको घोडा तर्सियोस

हिटलरको हातबाट पिस्तोल खसोस्‌

चिहानभित्र सुतेका बलभद्रलाई 

फेरि तिर्खा लागोस्‌।- सुवास 

त्यसै पनि राजनैतिक र आध्यात्मिक दर्शन नभएको  यो समुदाय जहिले पनि अरूको पैँचो इतिहासमा बॉंच्नु पर्ने। अरूको आसेपासे भएर हिँड्‌नु पर्ने । यस्तो अवस्थाबाट केही उठ्‌ने प्रयास गऱ्यो यो जातिले त्यसको निम्ति जुन नेतृत्व र विचारकको आवश्ययकता थियो त्यसलाई एउटा मोडसम्म पुऱ्याउने कार्य गरे। उनले जॉंड-रक्सीको पक्षधर भएर यसको निम्ति वकालत गरे। खुकुरीको महत्व बुझाए भने मादल, मारूनी, सेलो, डम्बु, च्याब्रुङ , सिली र मुन्दुमलाई बचाउने जुन अवधारणा अघि सारे त्यसलाई अहिले आएर गम्भीरतासित अध्ययन गर्ने समय आएको छ। यस्ता आफ्नो मौलिक कुराहरू बिना कसरी चिन्हारीको सुरक्षा हुन्छ। आफ्नो संस्कार र परम्पराको अभावमा कुनै पनि समुदाय कसरी आफ्नो अस्तित्व उभ्याएर गर्व बोध गर्न सक्छ? राजनैतिक र आध्यात्मिक दर्शनको अभावमा हुर्किएको यो समुदायले एउटा मार्ग चित्र भने बल्ल फेला पारेको हो। तर यसलाई बॉंदरको हातमा नरिवल बनाउने दिशामा पुग्नु भएन्‌। राम्रोसित व्याख्यान गरेर प्राप्त भएको मुद्दालाई छिनोफानो गर्ने दिशमा लानुपऱ्यो।

पार्टी भन्दा जाति ठूलो, जाति भन्दा माटो।

अहिले आफ्नो माटोको टिका निधारमा लगाएर माटोको माया सधैं आत्मामा बोकेर जातीय चेतनाको शंखघोष गर्ने एउटा बलियो विचारको प्रतिपादको अन्त भइसकेको छ।  उनी गोर्खाल्याण्डका अगुवा थिए। उनी जातीय चेतनाको उज्यालो थिए। उऩको मृत्यु शोकले याे जातिलाई विथोलेको छ। अब यो जातिको क्याप्टन हामी बीच विचारमा मात्रै जिउँदो रहने छन्‌। जागरणको एउटा स्तम्भको रूपमा बॉंचिरहनेछन्‌।  उनले आफ्नो अन्तिम भाषण 9 अप्रेल 2011 मा गरेका थिए। त्यसै बेला उनले भनेका थिए पाहाड़बाट मेरो आत्मा कतै जॉंदैन। म यहॉं नहुँदा पनि मेरो आत्मा यही हुन्छ। म बाहिर जही भए पनि पाहाड़मै हुन्छु। आज उनी हामीबीच छैनन्‌। उनको मृत्यले क्याप्टनको कमी खटि्‌करहेकै छ। अनि त्यहीं 1865 सालमा वाल्ट ह्वाइमेनले लेखेको पुरानो कविता अहिले आएर महाकालको काखमा सुन्न मन लागेको छ। शोकको बेलामा प्रतिबद्धताको मुट्ठी अझ बलियो कस्नुपर्ने भएको छ। अनि यो पुरानो कविता गोर्खे क्याप्टनको विदाइमा

O Captain! My Captain! our fearful trip is done;

The ship has weather’d every rack, the prize we sought is won;

The port is near, the bells I hear, the people all exulting,

While follow eyes the steady keel, the vessel grim and daring:

But O heart! heart! heart!

O the bleeding drops of red,

Where on the deck my Captain lies,

Fallen cold and dead.

O Captain! My Captain! rise up and hear the bells;

Rise up—for you the flag is flung—for you the bugle trills;

For you bouquets and ribbon’d wreaths—for you the shores a-crowding;

For you they call, the swaying mass, their eager faces turning;

 

Here captain! dear father!

This arm beneath your head;

It is some dream that on the deck,

You’ve fallen cold and dead.

My Captain does not answer, his lips are pale and still;

My father does not feel my arm, he has no pulse nor will;

The ship is anchor’d safe and sound, its voyage closed and done;

From fearful trip, the victor ship, comes in with object won;

Exult, O shores, and ring, O bells!

But I, with mournful tread,

Walk the deck my captain lies,

Fallen cold and dead.

(An extended metaphor poem written in 1865 by Walt Whitman)

घिसिङको फोटोः इन्टरनेटबाट साभार


(गो़र्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अनि गोर्खाल्याण्ड आन्दोलनको प्रारम्भीक स्वरको निधनमा श्रद्धाञ्जलिस्वरूप लेखिएको यो रचना, पुनः उनकै  गोर्खे नेताको  स्मृतिमा समर्पित । – लेखक

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया