लेबोङ इलाकामा पर्यटन विकासको सम्भावना : तृणमूल

विज्ञापन

  • मोहन लामा, दार्जीलिङ, 7 मई/2017

यहाँ धेरै शिक्षित युवा-युवतीहरु पनि बेरोजगार छन्, उनीहरुका लागि जीटीएले रोजगारको कुनै सुविधा प्रदान गरेको छैन- गौतम


राज्यका पर्यटन मन्त्री गौतम देवले आज चुनाउ प्रचार अभियानकै क्रममा गोजमुमो अध्यक्ष विमल गुरूङको गौड़ा मानिएको सिंहमारीदेखि 32 नम्बर वार्डअन्तर्गत पर्ने लेबोङको छेउछाउका इलाकासम्मनै पर्यटनलाई राम्रोसित विकास गरेर लान सकिने सम्भावना रहेको बताए।

उनले आज दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 32 बाट खड़ा भएकी पार्टी उम्मेद्वार शारदा राई सुब्बाको समर्थनमा चुनाउ प्रचार गरेका थिए। जुन समय उनले लेबोङ नजिक लामागाउँ साथै अन्य क्षेत्रहरुको पनि भ्रमण गरे। यसै अवधि पत्रकारहरुसित कुराकानी गर्दै मन्त्री देवले जीटीएबाट यस क्षेत्रमा कुनै विकासको कार्य नभएको आरोप लगाउँदै विकास र पहाड़मा परिवर्तनको लागि यसपाली पहाड़का चारैवटा नगरपालिका क्षेत्रका जनताले तृणमूल कंग्रेसका प्रार्थीहरुलाई मत दिएर विजय बनाउने दावी गरे। उनले भने-दार्जीलिङ नगरपालिकाको 32 नम्बर वार्डमा लगभग 2400 मतदाता भए पनि यो इलाका व्यापकरूपमा फैलिएको छ। यति मात्रै होइन, यो इलाका प्राकृतिकरूपले पनि अतिनै सुन्दर भएको कारण यहाँ पर्यटनको विकास गर्न सकिने प्रशस्त सम्भावना छ।

तर यस इलाकामा जीटीए अनि पुरानो नगरपालिकाको बोर्डले कुनै विकासको काम गरेन। जसको फलस्वरूप अहिले पनि यस इलाकावासी जनता पानी, सड़क, स्ट्रीट लाइट आदिको समस्याबाट पीड़ित बनिरहेका छन्। यति मात्रै होइन, यहाँ धेरै शिक्षित युवा-युवतीहरु पनि बेरोजगार छन्, उनीहरुका लागि जीटीएले रोजगारको कुनै सुविधा प्रदान गरेको छैन। यसैले यस इलाकाका साथै सम्पूर्ण दार्जीलिङ पहाड़को विकास, रोजगार आदिको व्यवस्थाको लागि राज्य सरकारले ठोस कार्यहरु गर्नेछ। उनले लेबोङको यस क्षेत्रमा आज आफू प्रथमपल्ट आएको बताउँदै यस क्षेत्रमा पर्यटन विकासको प्रशस्त सम्भावनाहरु रहेको बताए। उनले भने-यस इलाकालाई पर्यटनको मानचित्रमा ल्याउनका साथै यहाँ पोल्ट्री, जैविक कृषि आदि पनि गर्नुपर्छ। उनले अझै अघि भने-दार्जीलिङमा तृणमूल कंग्रेसको सांसद, विधायक आदि छैन, नगरपालिकाहरुमा पनि तृणमूल कंग्रेस थिएन।

तरै पनि राज्य सरकारले पहाड़मा विकास गर्न कुनै कसर बाँकी राखेको छैन, विकासकै लागि राज्य सरकारले पहाड़मा 15 वटा विकास बोर्डहरुको गठन गर्यो भने विभिन्न स्थानहरुमा सार्वजनिक भवनहरुको पनि निर्माण गरिरहेको छ। यसैले पहाड़का जनतामाथि तृणमूल कंग्रेसले पूर्ण आस्था राखेको छ र पहाड़का जनताले यसपाली तृणमूल कंग्रेसकै पक्षमा मतदान गर्ने निश्‍चित छ। यसरीनै पार्टी उम्मेद्वार शारदा राई सुब्बाले आफूलाई पार्टीले यस वार्डबाट उम्मेद्वार बनाएपछि प्रायःनै यस वार्डमा आइरहेको अनि जनतासित भेट गर्ने कार्य गरिरहेको बताउँदै यस इलाकाका जनताले विकास र सुशासनको लागि उनलाईनै जिताएर नगरपार्षदिका बनाउने तय गरिसकेको पनि बताइन्।

उनले पनि विगतको नगरपालिका बोर्डले वार्ड नम्बर 32-मा कुनै विकासको कार्य नगरेको आरोप लगाउँदै यहाँका झोड़ा-नाला आदिलाई व्यवस्थित बनाउनसम्म ध्यान नदिएको बताइन्। यसैकारण यस वार्डमा परिवर्तनका साथै विकास ल्याउन यस वार्डका जनताले आफूलाईनै भोट दिने भएको बताइन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया