काङ्केबुङ अनि दार्जीलिङको रोमाञ्चक जीत

रिम्बिक, सन्जय निरौला, 5 फरवरी।


युनाइटेड शेर्पा एसोसिएसन रिम्बिक लोधोमा क्षेत्रको आयोजनामा भइरहेको तेञ्जिङ नोर्गे स्मारक कपको पहिलो चरणको अन्तिम दिनको दुवै खेल अति रोमाञ्चक रह्यो।

दर्शकहरूको खचाखच भीडमाझ फेन्चेटार खेल मैदानमा भएको प्रथम म्याचको अन्तिम खेल अति उत्कृष्ट रह्यो।

काङ्केबुङ अनि खरसाङ माझमा भएको पहिलो खेलको तेह्रौँ मिनटमा खरसाङले असल प्रदर्शन गर्दै एक गोल गरी खेललाई बढ़त बनाएको थियो। खेललाई बराबर गर्नको निम्ति काङ्केबुङले धेरै प्रयास गरे पनि मध्यान्हसम्म गोल गर्न असफल रह्यो।

रोमाञ्चक खेलको मध्यान्हपछि काङ्केबुङले एक गोल गरेर खेललाई बराबरीमा ल्याएको थियो भने खेल समाप्तिको केही सेकेन्डअधि पुनः काङ्केबुङले एक गोल थप्दै खरसाङलाई पहिलो चरणबाटै बिदावारी गरायो।

अर्कोतिर आज भएको दोस्रो म्याच पनि उत्तिकै रोमाञ्चक रह्यो। भिजन फुटबल क्लब दार्जीलिङ बनाम बाँसबोटे फुटबल क्लबमाझ भएको खेलमा दार्जीलिङले पहिलो हाफमा उत्कृष्ट गोल गरेको मिनट बित्न नपाउँदै बाँसबोटेले पनि एक गोल गरेर खेल बराबरी बनाएको थियो। खेलको तीसौँ मिनटमा बाँसबोटेका दार्जीलिङले पेनल्टी सुटको मौका पाएपछि पुनः अर्को गोल गरेर म्याचमा अघि आयो भने खेलको निर्धारित समय पूरा हुनैलाग्दा बाँसबोटेले फेरि अर्को गोल थपेपछि खेल बराबरीमा समाप्त भयो। अतिरिक्त समय र टाइ ब्रेकरमा पनि गोल नभएपछि अन्तमा पेनल्टी सुटआउटमा दार्जीलिङले तीनको विरुद्ध चार गोल गरी रोमाञ्चक जीत हासिल गऱ्यो।

मार्च पहिलो हप्तासम्म हुने यस तेञ्जिङ नोर्गे स्मारक कपमा धेरै ठाउँका उत्कृष्ट फूटबल क्लबहरूले भाग लिएका छन्। क्षेत्रीय फूटबल क्लबहरू पनि विजयी खिताब हासिल गर्न बाहिरबाट उत्कृष्ट खेलाड़ीहरू ल्याउन उत्साहुत देखिन्छ। चिसो मौसममा भए तापनि खेल हेर्न दर्शकहरूको भीड़ खचाखच रहेको आयोजक सिमितिका पासाङ शेर्पा अनि लाक्पा शेर्पाले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares