व्यक्तिगत स्वार्थ गोर्खाल्याण्डमा बाधा : विमल

विज्ञापन

  •  निर्माण थापा, खरसाङ, 7 मई/2017

भारत सरकारले गोर्खाल्याण्ड गठनलाई लिएर काम गर्दैछ। तर यसलाई रोक्न राज्य सरकारले षड़्यन्त्र गर्दैछ-विमल


पहाड़का कतिपय मानिसहरूमा देखिएको व्यक्तिगत स्वार्थपूर्तिले गोर्खाल्याण्ड राज्यप्राप्तिका लागि गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –ले गरिरहेको आन्दोलनलाई बाधा पुगिरहेको यसका सुप्रिमो विमल गुरूङले बताएका छन्।

जनसभामा उपस्थित मोर्चा समर्थकः फोटोः खबरम्यागजिन

यसका साथै उनले आफ्नो दलको एउटै एजेण्डा गोर्खाल्याण्ड रहेको दावी पुनः गर्दै देशका जुन कुनै कुनामा गएपनि यो दावी नछोड़्ने कुरा आफू प्रतिबद्ध रहेको पनि खुलाए। गुरूङले यहाँको मोटर स्ट्याण्डमा सम्पन्न दलको चुनावी जनसभालाई सम्बोधन गर्दै यस आशयको वक्तव्य दिएका हुन्।

‘‘ गोर्खा जातिसमेत पहाड़मा बस्दै आएका सबै सम्प्रदायका मानिसहरूका लागि गोर्खाल्याण्ड हुन आवश्यक छ। यो लड़ाइँमा सबैको सहयोग प्राप्त हुन अत्यावश्यक छ’’, गुरूङले भने। गोजमुमो सुप्रिमोले जातीय हितका लागि शरीरमा एक थोपा रगत भएसम्म लड़्ने थप दावी गरे। ‘‘म इमान र इज्जतले केही समय बाँच्नेछु तर कायरपूर्ण लामो बँचाई बाँच्नु चाहन्न’’, गुरूङले भने।

आज मोटर स्ट्याण्डमा बाक्लो संख्यामा मोर्चा समर्थकहरू भेला भएका थिए। यी समर्थकहरू विश्वास्त पार्दै उनले भने, चारै नगरपालिका हामी जित्नेछौं। उनले सबै नगरपालिकामा मोर्चा प्रार्थीहरूलाई विजयी बनाई तृणमूल कङ्ग्रेसविरुद्ध जातीय एकता देखाइदिने जनतालाई आह्वान गरे। गुरुङले बङ्गालका सूचना एवं सांस्कृतिक विभागका मन्त्री इन्द्रनील सेनले शुक्रवार दार्जीलिङमा मोर्चा नेताहरूविरुद्ध दिएको बयानलाई गैरजिम्मेवारीपूर्ण बताउँदै मन्त्री सेनलाई पक्राउ गर्नुपर्ने माग दोहोऱ्याए।

‘‘भारत सरकारले गोर्खाल्याण्ड गठनलाई लिएर काम गर्दैछ। तर यसलाई रोक्न राज्य सरकारले षड़्यन्त्र गर्दैछ। जीटीए एग्रिमेन्ट कुल्चिएर जात जातको बोर्ड बनाएर भोट माग्दैछ’’, मोर्चा सुप्रिमोले भने। उनले नोकरी र पैसाको लोभ देखाएर भोट बटुल्ने कार्य गरिरहेको पनि आरोप लगाए। सभालाई सभासद् योगेन्द्र राईलगायत बलराम छेत्री, दीपा छेत्री, करूणा गुरुङ तथा अन्यले पनि सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया