खिर दिएर बँधुवा मजदूर बनाउने खेल

विज्ञापन

मन्त्री इन्द्रनीलको मन्तव्यको भर्त्सना


  • खरसाङ खबरदाता, 7 मई/2017

दिल्लीमा राष्ट्रीय मिडियासित काम गर्दै आइरहेकी अनि सामाजिक सेविकाकोरूपमा अघि बढिरहेकी बन्दना राईलाई लाग्छ, तृणमूल नेता अनि राज्यका सूचना अनि सांस्कृति  मन्त्री  इन्द्रनील सेनको टिप्पणीले गोर्खाहरू आफ्नै राज्यसत्ताबाट असुरक्षित छ भन्ने कुरालाई पुष्टि गरेको छ।

विभिन्न राज्यहरूबाट गोर्खाहरूलाई खेद्ने जुन कुचक्र छ, कमसेकम दार्जीलिङका गोर्खाहरूलाई यसको उस्तो भय थिएन, तर मन्त्री इन्द्रनीलको मन्तव्यले दार्जीलिङका गोर्खाहरूको भविष्यको भयावह सङ्कटतिर इङ्गीत गरेको छ।

‘इन्द्रनील सेनको मन्तव्य एउटा सङ्केत मात्र हो,’ भन्छिन् बन्दना, ‘यसको प्रतिवाद बेलैमा गर्नु पर्छ।’ उनलाई लाग्छ, राजनीतिमा विपक्षलाई जसोभन्दा पनि भयो, तर पहाडमा आएर पहाडकै मानिसहरूलाई ( चाहे उ नेता होस् वा कोही) खेदुवा लाउँछु र त्यसको बन्दोबस्त भइसकेको छ भन्नुले धेरै राजनैतिक अर्थ बोक्छ। राज्यको पार्टी तृणमूल काङ्ग्रेसले पहाडलाई कसरी हेर्छ भन्ने कुराको सङ्केत पनि मन्त्रीको मन्तव्यबाट थाहा पाइने उनको मत छ।

‘एक निर्वाचित मन्त्रीले अर्को निर्वाचित जीटीए प्रमुखसित गर्ने व्यवहार यस्तो हुनु दुर्भाग्यपूर्ण कुरा हो,’ उनी भन्छिन्, ‘यो गोर्खा जातिको निम्ति अपमानको कुरा हो।’

यस्तै तरिकाले हो भने उप्रान्त कुनै पनि मन्त्री पहाड पस्न नसक्ने स्थिति मन्त्री इन्द्रनीलले उपार्जन गर्न सक्ने सन्देह गर्दै राज्यका नेताहरूले पहाडका मानिसहरूलाई आज खिर दिँदै भोलि बँधुवा मजदूरमा रुपान्तर गर्ने कुटनीति चालिसकेको पनि बताउँछिन्।

उनलाई लाग्छ, बङ्गालले पहाड गुमाउन चाहँदैन, किन भने बङ्गालको मुख्य आयश्रोत भनेकै पहाडको पर्यटन, चिया, वन्यभूमि, विद्युत अनि अरू कुरा हुन्।  पहाडसित संलग्न यी कुराहरू छैन भने बङ्गालको अर्थनीति नै धराशयी बन्छ।

‘यसै कारण बङ्गालले जहिल्यै गोर्खाल्याण्डको विरोध गरेको हो, विकासको नाममा पैसा दिएर आज मानिसहरूलाई मूल मुद्दाबाट पर पार्ने खेल भइरहेको छ,’  बन्दना भन्छिन्,   ‘तर जति नै गरे पनि पहाडको जनताको मनबाट छुट्टै राज्य हटाउन सकिने कुरा होइन। नत्र आज उनकै पार्टीका मानिसहरू, पहाडका विभिन्न विपक्षका नेताहरूले मन्त्रीको मन्तव्यको भर्त्सना किन गरे त?’

दिल्ली र पहाडमा उनी लगायत उनका सहयोगी संस्था र व्यक्तिहरूले मन्त्रीको जातिविरोधी टिप्पणीको भर्त्सना जनाइरहेको उनले बताएकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया