बाइकमा सब्जी

  • कालेबुङ खबरदाता, 7 मई/2017

सुन्तलाको सिजन सकिएपछि पूर्ण तामाङ पूर्णरूपले वेरोजगार बन्यो। सिन्देबुङका अजय दाहाललाई आफ्नो बारीको सुन्तला बेच्नु थियो, आफ्नै ठाउँमा फलेको सुन्तला आफ्नै ठाउँका मानिसहरूले खाइदिउन्, र स्वरोजगारको बाटो पनि निस्किउन्, सोच्थे।

उनको भेट पूर्ण तामाङसित भयो। दाहालसित एउटा बाइक थियो, त्यही बाइकलाई सुन्तला बेच्ने माध्यम बनाउने विचार आयो। पूर्णले बाइक कुदाउँथ्यो।

पूर्ण सामालबोङबाट सिन्देबुङमा आफ्नी स्वास्नीसित भाडामा बसिराखेका वेरोजगार हुन्। उनलाई रोजगार चाहिएको, दाहाललाई कर्मचारी।

त्यसपछि बजार, गाउँ बाइकमा सुन्तला बेच्ने जिम्मा पूर्णको। पूर्णले निक्कै सुन्तला बेचे। दाहालले पनि नाफा पाए, आफूले पनि पारिश्रमिक। तर सुन्तलाको सिजन सकियो। र फेरि पूर्ण पूर्णरूपले वेरोजगार नै बन्यो।

‘त्यतिखेर निक्कै तनावमा थिएँ,’ भन्छन् पूर्ण, ‘तर खटिखानेलाई खट्नको निम्ति केही न केही उपाय त आइहाल्दोरहेछ।’

पूर्णको उपाय थियो, बाइक। हो, बाइक। दाहाललाई आफ्नो काम गर्न बाइक माग्ने कुरै आएन। आफूसित सुन्तला बेचेको नाफा थिँदैथियो। त्यही बोकेर बाइकको खोजीमा निस्किए पूर्ण।

एभेन्जर, कलेजी रङको बाइक मनपऱ्यो, सेकेण्डह्याण्ड।

14 हजारमा दामकाम मिल्यो।

‘अरू मानिसहरू बाइक किन किन्छन्, मलाई थाहा छैन,’ पूर्ण सुनाउँछन्, ‘मलाई त बारीको सब्जी बेच्नु थियो र किनेँ।’

छिमेकी डीएन प्रधानको 2 ऐकर जमिन लिजमा लिएको छ। पूर्णले त्यहीँ गर्छन् सब्जी खेती। बारीमा सिमी छ, करेला छ, टमाटर छ, भेण्डी छ, निगुरो छ, आलू छ…अरू पनि छ। जुन जुन सिजनको  सब्जी लाउनुपर्ने हो उनी जान्दछन्। उनी सब्जी पनि यसरी लगाउँछन् कि बिक्री गर्नलाई हर्ज नहोस्।

बिहानै उठ्छन्, कुन कुन सब्जी बेच्न योग्य छ, टिप्छन् र प्लास्टिकमा तौलिएर प्याक गर्छन्। प्लास्टिकको दुइवटा क्यारेट छ, त्यहाँ सब्जी भर्छन्। नअँटेको सानोसानो जोलामा हाल्छन् र लोड गर्छन् बाइकमा।

मानिसहरू अचम्म मान्छन्, -बाइकमा सब्जी?

‘विचरा बाइकको बद्नामै भो,’ केटौलेहरू खिसी/आह्रिस दुवै गर्छन्, ‘हामीलाई गर्लफ्रेण्ड घुमाउने बाइक छैन, उसलाई सब्जी घुमाउने बाइक।’

उनीहरू भुल्छन् कि बाइकमा रमाइलो गर्ने आआफ्नै शैली हुन्छ। पूर्णको रमाइलो नै सब्जी बेच्नु हो।

‘पहिले त बाइकमा सब्जी देखेर मानिसहरू छक्क पर्थे, हेर्थे र किन्न हिच्किचाउँथे,’ पूर्ण सुनाउँछन्, ‘अहिले त बाइकको हर्न सुनेपछि घरघरबाट उनीहरू निस्किन्छन् र सब्जी किन्न हारालुछ गर्छन्।’

दिनमा बाइकको तेल काटेर 5/6 सय त हातमा बस्छ नै। महिनामा 15/18 हजार बाइकमा सब्जी बेचेरै कमाउनु त ठट्ठा होइन नै। तर धेरैलाई उनको काम ठट्ठा नै लाग्छ। ठट्ठै पनि त हो, विशाल विशाल बारी/खेत बाँझो छ, घरभरि पढेका छोरा छोरी छन् तर सबै बेरोजगार। सबै नै सरकारी नोकरी पर्खिएर बसिरहेका छन्। ती नै पढेलेखेका तर बारी बाँझो राखेर वेरोजगारीले डिप्रेसनमा डुबेका अल्छेहरूको लागि त ठट्ठै हुन् पूर्ण।

धेरैले उनलाई सोधेको एउटै प्रश्न रहेछ,- किन बाइकमा? बजारमा किन दोकान नथापेको?

‘बजारमा हामीजस्ता इलमीहरूको निम्ति जग्गा नै कहाँ छ र?,’ पूर्णको जवाब यस्तो रहेछ, ‘दोकानै थापे पनि हाम्रा मानिसहरूलाई मधेशको अनेकौँ रसायन हालेको सब्जी खाने बानी छ। गाई, बाख्रा, पातहरूको मल हालेर उमारेको सब्जी खाने परम्परा नै कहाँ छ र?’

बाइकमा चढेर घर घर सब्जी पुऱ्याउने पूर्णको दिमागले भन्छ, ‘घरैमा पुगेको सब्जी, नकार्ने त कुनै आँउदैन, त्यो पनि जैविक सब्जी।’

अहिले पूर्णलाई भ्याइनभ्याइ छ, सबै ठाउँ सब्जी पुऱ्याउन त सक्दैनन्, तरै पनि जतिलाई सकिन्छ, त्यसको निम्ति उनले बार छुट्याएका छन्। आइतबार नगरपालिका…सोमबार…भालुखोप…मङ्गलबार…8 माइल…

सलोमी तामाङ पनि खुशी छन्, आफ्नो लोग्नेले कमसेकम नयाँ रोजगारको अविष्कार जो गरेका छन्।

‘तपाईंलाई ताजा सब्जी चाहियो भने भन्नुस् है, म ल्याइदिन्छु,’-एकपल्ट भेटेकोलाई पूर्ण यति भन्न बिर्सन्नन् र चल्दिन्छन् पटटटटटट बाइक बजाउँदै।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया