कोहीभन्दा कम छैन माकपाः प्रचारमा उत्रिए दिलीप

विज्ञापन

दार्जीलिङ, 8 मई/2017


चुनाउ प्रचार गर्नको लागिनै सिलगढ़ी नगरनिगमका मेयर अशोक भट्टाचार्यलाई पनि दार्जीलिङ आउने भएका छन्-दिलीप


माकपा (मार्क्सवादी कम्युनिष्ट पार्टी) पनि कोहीभन्दा कम हुन चाहँदैन। तृणमूल कंग्रेसले राज्यका शीर्ष मन्त्रीहरुलाई चुनाउ प्रचार गराउन दार्जीलिङ पहाड़ ल्याइरहेको छ भने माकपाले पनि आज सिलगढ़ी नगरनिगमका चेयरम्यान दिलीप सिंहलाई चुनाउ प्रचारको लागि मैदानमा उतार्यो। जसले दार्जीलिङबाट खड़ा भएका माकपाका 4 जना उम्मेद्वारहरुको पक्षमा घरदैलो प्रचार अभियान चलाए।

भोलि पुनः चुनाउ प्रचार गर्नको लागिनै सिलगढ़ी नगरनिगमका मेयर अशोक भट्टाचार्यलाई पनि दार्जीलिङ आउने भएका छन्। दार्जीलिङमा पार्टी उम्मेद्वारहरुको पक्षमा चुनाउ प्रचार गर्न आएका सिंहले पत्रकारहरुसित कुराकानी गर्दै भने-तृणमूल कंग्रेसले दार्जीलिङ पहाड़मा भइरहेको नगरपालिका चुनाउमा राज्यका शीर्ष मन्त्रीहरुलाई प्रचार गर्न ल्याएर बाहुबली नीति अप्नाइरहेको छ अनि उनीहरुको माध्यमबाट प्रशासनमाथि प्रभाव बनाउने कार्य गरिरहेको छ। तर दार्जीलिङ पहाड़का जनता सचेत छन्, उनीहरुले यसको जवाब व्यालेटमार्फत दिनेछन्। चुनाउ एउटा गणतान्त्रिक प्रक्रिया हो र यसमा राज्यको सत्तारूढ़ दलले धम्की दिने कार्य गरिरहेको छ।

राज्यका एक शीर्ष मन्त्री इन्द्रनील सेनले जुन 6 फीट लामो स्ट्रीलको बाकस ल्याउने अनि गोजमुमोका नेताहरुलाई दार्जीलिङ जिल्लाबाटै हटाउने वक्तव्य दिए, त्यो पूर्णरूपले दुर्भाग्यपूर्ण हो अनि मन्त्रीले यो वक्तव्य फिर्ता लिनुपर्छ। उनले दार्जीलिङका केवल 4 वटा वार्डमा मात्रै पार्टीको उम्मेद्वार खड़ा गरेको सन्दर्भमा भने-माकपाले दार्जीलिङमा 4 जना अनि कालेबुङमा 9 जना उम्मेद्वार खड़ा गरेको छ अनि यस चुनाउपछि यी उम्मेद्वारहरु असल विकल्प बन्नेछन्।

गणतन्त्रमा विपक्षीको भूमिका अहम हुनपर्छ अनि माकपाका उम्मेद्वारहरु असल विपक्षी बनेर जनहितमा कार्य गर्नेछन्। दार्जीलिङलाई नगरनिगम बनाउने विषयमा सोधिएको प्रश्नको उत्तरमा सिंहले भने-यो अति उत्तम मुद्दा हो अनि यस मुद्दालाई माकपाले पनि पूर्ण समर्थन गर्छ। किनभने, बंगालमानै दार्जीलिङ नगरपालिका सबैभन्दा पुरानो एक प्रशासनिक संस्था हो, यसलाई नगरनिगमको दर्जा दिलाउन ठोस पहल हुनैपर्छ र आगामी दिनमा यस मुद्दालाई सफल बनाउन माकपाले पूर्ण सहयोग प्रदान गर्नेेछ। यसबाहेक पनि दार्जीलिङ नगरपालिका क्षेत्रमा धेरै मुद्दाहरु छन्, जसको समाधान हुन आवश्यक छ।

जस्तै पानी, बेरोजगारी, झोड़ा-नाला, गरीब जनताको घर निर्माण आदि समस्याहरु छन्, यस नगरपालिका चुनाउमा माकपा उम्मेद्वारहरुले विजय हासिल गरेपछि उनीहरुले यस दिशामा पनि ठोस पहल गर्नेछन्। उनले आज बिहानदेखि दार्जीलिङका वार्ड नम्बर 1, 17, 23 अनि 24-मा पार्टीका उम्मेद्वारहरुलाई लिएर चुनाउ प्रचार गरे। माकपाले दार्जीलिङको वार्ड नम्बर 1-मा फुपूछिरीङ भोटियालाई उम्मेद्वार बनाएको छ भने वार्ड 17-मा बब्लु सूत्रधर, वार्ड 23-मा दिपीका छेत्री अनि वार्ड 24 हर्कबहादुर थापा पार्टीका उम्मेद्वार छन्। यी चारैजना उम्मेद्वारहरुलाई लिएर दिलीप सिंहले आज साँझपक्षसम्मनै चुनाउ प्रचार गरे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया