विमल गुरूङले भने, ‘तयारी बस्नु, म आउँदैछु’ : विमलको स्वागतमा लाखौं जनता सडक उत्रने

कालेबुङ, 22 फरवरी।


विमल गुरूङलाई पश्चिम बङ्गाल सरकारले राष्ट्रद्रोहलगायतको मुद्दा लगाएको छ। जसको सुनवाई सुप्रिम कोर्टमा चलिरहेको छ। तीनदिनदेखि लगातर सुप्रिम कोर्टमा विमल गुरुङ सम्बन्धित मुद्दामाथि सुनवाई भइरहेको छ।

आज पनि विमल गुरूङ सम्बन्धित मुद्दामा सुनवाई हुनेछ। ‘सुनवाई चलिरहेको छ। फैसला आजै नभए पनि सुनवाईको क्रम आज सकिने आशा छ। सुप्रिम कोर्टमाथि मेरो विश्वास छ, सबै कुरा राम्रै भइरहेको छ’, विमल गुरूङले भनेका छन्, ‘पहाडमा जे पनि भयो, त्यो मेरो व्यक्तिगत स्वार्थको लागि थिएन, मैले जनताको लागि काम गरें। गरिरहनेछु।’

विमल गुरूङले आफू मुक्त हुन लागेको भन्दै खुशी व्यक्त गरेका छन् भने आफ्ना क्याडरहरूलाई सबैसित तालमेल मिलाएर बस्ने आह्वान पनि गरेका छन्।

‘हामीले जोखिम उठाएर नै निस्किनुपर्छ, निस्किने बेला भयो। सबैलाई मिलाएर राख्नु, तालमेल बनाएर राख्नु, जनताको लागि म जे पनि गर्न सक्छु, अब जनतामा जाने बेला आयो,’, उनले भनेका छन्, ‘जनताको लागि काम गर्दा जेल जानुपर्छ भने हामी सबै नै जेल जाऔँ, तर सबैलाई तालमेलमा राखेर अघि बढ्नुपर्छ। अब जे पनि हुन्छ राम्रो हुनेछ।’

यता नाम प्रकाशित नगर्दिने शर्तमा विमल समर्थित एक मोर्चा नेताले बताएअनुसार लाखौंको संख्यामा सडक उत्रेर विमल गुरूङलाई पहाडमा स्वागत गर्ने आन्तरिक तयारी चलिरहेको छ।

‘जम्मै  भातृ सङ्गठनका मसिना प्रशाखादेखि केन्द्रिय समितिसम्म आन्तरिक सल्लाह भइसकेको छ,’ उनले भने, ‘हामी लाखौंको संख्यामा सडक उत्रेर विमल गुरूङको स्वागत गर्नेछौं। यो केवल स्वागत होइन, बङ्गालसित मिलेर पैसा र पदमा आन्दोलन र मुद्दा बेच्नेहरूलाई जवाब पनि हो। हामी उनीहरूलाई भन्न चाहन्छौं, गद्दारहरू जति नै जन्मिए पनि मुद्दा र आन्दोलनलाई जिउँदा राख्ने नेता पनि छन्।’

उनले बताएअनुसार विनय खेमाले विमल गुट समर्थकहरूलाई विमलको स्वागतमा सडक उत्रनबाट रोक्न विभिन्न दवाब दिने काम शुरु गरिसकेको छ। गोरामुमोले पनि विभिन्न प्रलोभन देखाएर विमल पन्थीहरूको भनाईमा नलाग्न दवाब दिइरहेको पनि उनले बताएका छन्।

‘विनय गुटमा जानेहरू पक्राउबाट बाँच्न मात्र गएका हुन्, उनीहरू विमलपन्थी नै हुन्, जब उनीहरूको टाउकोबाट मुद्दा हट्छ, उनीहरू स्वत विमल गुरूङसितै हुनेछन्,’ उनले भने, ‘जुन जुन मुद्दा विमल गुरूङलाई लागेको हो, उनीहरूलाई पनि त्यही मुद्दा लागेको हो, विमलको मुद्दामा सुप्रिम कोर्टले जुन फैसला गर्छ, त्यो सबैको मुद्दाको फैसला हुनेछ। ढिलोछिटो बङ्गालले थोपरेको मुद्दाबाट सबै मुक्त हुनेछन्।’

उनले बताए अनुसार विमल गुरूङलाई स्वागत गर्न जनता आफैले आफूहरूसित सम्पर्क गरिरहेका छन्। यद्धपि, चारैतिर दुश्मन रहेको कारण सबैलाई होसियारीसित सरसल्लाह गर्ने सुझाव दिइएको पनि उनले बताएका छन्।

सूत्रअनुसार आज हुने सुनवाई अन्तिम हुनसक्छ। हिजो लामोसम्म सर्वोच्चले विमल गुरुङको पक्ष सुनेको थियो। विमल गुरुङको पक्षमा उकिलहरू क्रमैले पीएल पटियाला, बन्सुरी स्वराज, सिद्धेश कोटवाल, श्रेया भाटनगर, नताशा डालमिया, गगन नारङ, रघुनाथ, हर्षिका वर्मा र साक्षी ककड़ तथा अन्य थिए।

न्यायाधीशद्वय एके सिक्री र अशोक भूषणले गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङको पक्ष सुनेपछि सुनवाई जारी राख्ने फसेला गरेका छन्। उल्लेखनीयहोस् अस्ति सोमबार र हिजो मङ्गलबार पनि विमल गुरुङ मुद्दाको सुनवाई भएको थियो। सोमबारको भएको सुनवाई बङ्गाल सरकारलाई सुनवाईमा विलम्बताका लागि सर्वोच्चले खप्की गरेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares