समिक्षा : कस्तो छ दयाहाङको ‘कान्छी’?

अनिल यादव, नागरिक दैनिक


अन्तरवार्ताका क्रममा एक वर्षअघि अभिनेता दयाहाङ राईलाई सोधेको थिएँ, ‘व्यावसायिक हुने नाममा तपाईं अर्का राजेश हमाल हुने खतरा छ भन्छन् समीक्षकहरू। फिल्मका संख्या त बढ्ने भए, गुणस्तर उस्तै।’

उनले त्यतिबेला आफू मात्र दोषी नभएर फिल्म मेकर्सको पनि दोष रहेको बताउँदै भनेका थिए,  ‘खतरा त मलाई पनि महसुस भएको छ तर मेरो अनुभवले भन्छ धेरैजसो फिल्म मेकर्सहरू दर्शकलाई सोचेर सिनेमा बनाउँछन्। आफ्नो लागि बनाउँदैनन्। जुन दिनदेखि उनीहरुले आफ्ना लागि सिनेमा बनाउन थाल्छन्, त्यो दिनदेखि म सफल भएको महसुस गर्छु।’

जतिबेला यो अन्तर्वार्ता लिइएको थियो त्यतिबेला उनीमाथि खतराको संकेत मात्र थियो। तर आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म ‘कान्छी’ हेरिसकेपछि दृश्य त्यस्तै देखियो- ‘दयाले आफ्नो लय गुमाएर अर्को राजेश हमाल भइसके।’

त्यसो त फिल्म समीक्षक नवीन सुब्बाले केही समयअघि आफ्नो एक लेखमा भनेका थिए, ‘आदिवासी जनजातिका दयाहाङजस्ता केही अनुहारहरू नेपाली फिल्ममा स्थापित भए पनि उनीहरु राजेश हमाल परम्पराका पुनरावृत्ति मात्र हुन्। के उनीहरूले फिल्ममा आफ्नो सामुदायिक पृष्ठभूमिको भिन्न अभिनय चेतना र शैली बोकेर आएका छन्? उनीहरूले अनुहारको विविधता मात्रै थपिरहेका छन् कि अभिनयको पनि। ’

‘कबड्डी’ र ‘लुट’जस्ता फिल्म खेलेर दयाहाङले जुन प्रशंसक कमाएका थिए, ‘कान्छी’ जस्तै फिल्म खेलिरहने हो भने उनले आफ्ना प्रशंसक घट्ने पक्का छ। ‘कान्छी’मा ‘आफूलाई हिरो होइन अभिनेता हुँ’ भन्ठान्ने दयाको अनुहार बिर्सने हो भने फिल्ममा देखिने उनको रोनाधोना, फाइट र नाचगानले नेपाली फिल्मका पुराना कलाकारलाई सम्झाउँछ।

दुई कारणले यो फिल्म दर्शकसामु प्रतिक्षित थियो। एक–अभिनेता दयाहाङको फिल्म , दोस्रो– यो फिल्मबाट स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी अर्थात् अभिनेत्री श्वेता खड्काको ‘कमब्याक’। ‘कोहिनुर’ रिलिजपछि उनलाई पुनः पर्दामा देख्न चाहनेहरुको चाह फिल्मले मेट्दै थियो।

दर्शकको प्रतीक्षा जति प्रेमिल थियो, फिल्म त्यति प्रेमिल बन्न सकेको छैन । फिल्मले गम्भीर विषयलाई छुन त खोजेको छ तर त्यसको उचित सम्बोधन हुन सकेको छैन। फिल्ममा विषय वस्तुको चाङ छ तर एकैपल्ट धेरै विषयमा हात हाल्दा चिप्लिएको छ फिल्म, चिप्लिएका छन् यसका निर्देशक।

फिल्ममा ‘कान्छी’ बनेकी श्वेता खड्का नर्स हुन्छिन्, जो गाउँमा अस्पताल खोल्ने अभियानमा लागेकी छन् तर दयासँगै फिल्मका तीन पात्र जसरी उनलाई पाउने अभियानमा लागेका छन् त्यसले फिल्मको मूल र गम्भीर विषयलाई नै ओझेलमा पारिदिएको छ। निर्देशकले यी विषयसँगै फिल्ममा दलितको प्रेम, तेस्रो लिङ्गीको प्रेम, मधेसी–पहाडीको प्रेम पनि उठाउन खोजेका छन् तर कमजोर पटकथा र हल्काफुल्का प्रस्तुतिका कारण दर्शकलाई त्यो बोझिलो लाग्छ । दर्शक अब चलाख भइसके।  उनीहरु फिल्ममा विषयवस्तु मात्रै खोज्दैनन्, प्रस्तुति पनि खोज्छन्। जुन मामिलामा ‘कान्छी’ चुकेको छ । विषयवस्तुको गम्भीरतालाई नबुझी फिल्म लेख्नु र निर्देशन गर्नु यसका लेखक यम थापा र निर्देशक अधिकारीको ठूलो कमजोरी हो।

‘कान्छी’ पाउन गरेको संघर्ष नै फिल्मको मूल कथा हो। गाउँमा डाक्टर ल्याउने, अस्पताल बनाउने लक्ष्यसहित ‘कान्छी’को समूह नाटक मञ्चन गरिरहन्छ। हिरा (दया)ले  कान्छीलाई असाध्यै प्रेम गर्छन् तर पर्दाबाहिर मात्रै होइन, पर्दाभित्रै नाटक खेलिरहँदा पनि ‘आई लभ यू’ भन्न सक्दैनन्। गाउँमा आएका डाक्टर सा’ब (प्रज्ज्वल गिरी)ले भने गाउँ पसेको दुई दिन नबित्दै ‘आई लभ यू’ भनेर प्रेमजालमा फसाइसक्छन्। गाउँकी जिम्मावाल (नीर शाह)की छोरी ‘कान्छी’लाई मन पराउने अर्को पात्र पनि छन्, जो विदेशबाट फर्किएका छन्।

स्वेताकै क्यारेक्टरबाट फिल्मको नाम जुराइएको छ– ‘कान्छी’। पहिलो हाफसम्म त्यही ‘कान्छी’लाई दयाहाङ ‘आई लभ यू’ भन्न सक्दैनन् तर पछि इन्ट्री भएका डाक्टरसँग उनी सहजै शारीरिक सम्बन्धका लागि तयार हुन्छिन् । यस्तो दृश्यले ‘कान्छी’कै चरित्र चित्रण पर्दामा परिपक्व लाग्दैन।

फिल्मको लाउड ब्याकग्राउन्ड म्युजिकले दर्शकलाई ‘इरिटेट’ गराउँछ। फिल्ममा तेस्रोलिङ्गी भूमिका श्रेष्ठ पनि छन् जसलाई मधेसी मूलका कामेश्वर चौरसिया असाध्यै मन पराउँछन्। भूमिकालाई फकाउनका लागि कामेश्वर कुमारबाट कुमारी बन्छन् । यो दृश्यको ध्येय तेस्रोलिङ्गीको मजाक उडाएर दर्शक हँसाउन खोज्नु हो भन्ने प्रस्टै झल्किन्छ। यदि फिल्मलाई सिर्जनशील कला मान्ने हो भने यसमा के सिर्जनशीलता?

यस्ता दृश्य हेर्दा के लाग्छ भने निर्देशक अधिकारी अझै पनि ‘स्टेरियोटाइप्ड’ सोचबाट मुक्त छैनन् । उनले फिल्म निर्देशन थालेको वर्षौं भइसक्यो । तर समय बिताउनु मात्रै ठूलो कुरा होइन, समयसँगै आफूलाई परिष्कृत गर्नु जरुरी देखियो । यद्यपि आकाशका यसअघिका फिल्मभन्दा पटकथा, कास्टिङ आदि हिसाबले यो फिल्म माथि छ ।

यो फिल्मको सुन्दर पक्ष भनेकै निर्देशक अधिकारीले जनजाति अनुहारका दयाहाङसँग श्वेताको जोडी कसिदिनु हो । सिनेमाटोग्राफी पनि ठिकै छ । केही दृश्यहरु साँच्चै कलात्मक लाग्छन् । हीराले ‘कान्छी’का लागि बाटोका काँडाका झारहरु काटिदिने दृश्यले मन छुन्छ। कान्छी–डाक्टर बीचको एक दृश्यमा देखाइने पुतलीको प्रेम पनि विम्वात्मक लाग्छ । ‘चरी चट्ट परी’ गीत हेर्नलायक छ ।

पहिलोपल्ट दयाको फिल्म हेर्नेका लागि ‘कान्छी’मा उनको अभिनय नौलो लाग्न सक्छ। भिलेनको रोलमा देखिएका विनोद न्यौपानेले दर्शकलाई ‘इन्टरटेन’ गराउँछन् । कामेश्वर र आशान्त शर्माको अभिनयले प्रभाव छोड्छ तर ‘कान्छी’ बनेकी श्वेताले अभिनयमार्फत् दर्शकको मन जित्न मुस्किलै छ । फिल्ममा उनको अभिनय अस्वाभाविक लाग्छ । श्रीकृष्ण श्रेष्ठका नाममा फिल्म क्षेत्रलाई योगदान दिइरहने हो भने उनले पर्दाभित्रबाट भन्दा पनि बाहिरबाटै योगदान दिँदा उपयुक्त हुन्छ ।

समग्रमा यो फिल्म पनि ‘बजारमा चल्छ, चलाउनुपर्छ’ भन्ने मानसिकताकै उपज हो । दयाहाङले फिल्मको संख्यामात्रै बढाउने, स्तरमा ध्यान नदिने हो भने अब उनलाई बजारबाट होइन, निर्मातालाई उनीबाट खतरा हुने देखियो ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया