पिस्तोल देखाएको आरोप

विज्ञापन

मोहन लामा, दार्जीलिङ, 8 मई।


मन्त्रीले धम्की दिएको 72 घण्टा पनि नबित्दै वार्ड नम्बर 16-मा गोजमुमो समर्थकहरुलाई पिस्तोल देखाउने कार्य भएको छ-तिलक


गोर्खा जनमुक्ति युवा मोर्चाका सदस्यहरूलाई हिजो साँझपक्ष वार्ड नम्बर 16-मा चुनाउको पोस्टर टाँस्दै गर्दा तृणमूल कंग्रेस समर्थकहरुले  पिस्तोल देखाएर धम्की दिएको आरोप लगाउँदै युवा मोर्चाले दार्जीलिङ सदर थानामा एक प्राथमिकी दर्ता गरेको छ।

किरण प्रधान, उमेश तामाङद्वारा सदर थानामा दर्ता गरिएको प्राथमिकीमा तृणमूल कंग्रेसका उपाध्यक्ष आप्पा राजेन, मोहन छेत्री, कुमार छेत्री, गणेश छेत्रीको नामनै उल्लेख गरिएको छ भने उनीहरूसितै आएका सेतो कमिज लगाउने एक युवकले उनीहरुलाई बिनाकारण पिस्तोल देखाएको आरोप लगाइएको छ।

यसबारे दार्जीलिङ टाउन कमिटी युवा मोर्चाका अध्यक्ष  तिलक छेत्रीले भने-दार्जीलिङमानै आएर राज्यका एक शीर्ष मन्त्री इन्द्रनील सेनले गोजमुमो अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी अनि 32 जना गोजमुमोका उम्मेद्वारहरुलाई स्टीलको बाकसमा हालेर जिल्ला कटाउने धम्की दिएको 72 घण्टा पनि नबित्दै वार्ड नम्बर 16-मा गोजमुमो समर्थकहरुलाई पिस्तोल देखाउने कार्य भएको छ।

गोजमुमो, युवा मोर्चा आदिले दार्जीलिङ पहाड़मा गणतान्त्रिक प्रक्रियाअनुसार भइरहेको नगरपालिका चुनाउ शान्तिपूर्ण होस् भन्ने चाहेको छ। यहाँ गोर्खाल्यान्ड दिन नचाहने पार्टीले पहाड़मा अशान्ति बनाउन खोजिरहेको छ। यस्तो हुँदा गोर्खाल्यान्डको आन्दोलन शुरू गर्न मन लाग्छ। तृणमूल कंग्रेसले दार्जीलिङ पहाड़मा शान्ति भएको चाहँदैन, तर गोजमुमो पूर्णरूपले शान्तिको पक्षमा छ। यसैले दार्जीलिङ पहाड़लाई अशान्त बनाउन चाहने पार्टीलाई आगामी 14 मईको दिन दार्जीलिङ पहाड़का चारैवटा नगरपालिका क्षेत्रका जनताले जवाब दिनेछन्। उनले भने-दार्जीलिङलाई हेप्ने कार्य भइरहेको छ, यसलाई पहाड़का जनताले बुझेका छन्।

यसरीनै युवा मोर्चा केन्द्रिय समितिका सचिव अमृत योञ्जनले पनि मन्त्री सेनको वक्तव्यको तीव्र शब्दमा आलोचना गर्दै तृणमूल कंग्रेसका समर्थकहरुले गोजमुमोले टाँसेका पोस्टरहरु पनि च्यात्ने कार्य गरिरहेको आरोप लगाए। उनले भने-जीटीए, दार्जीलिङ पहाड़का नगरपालिकाहरुमा भ्रष्टाचार भएको देख्ने राज्यका मन्त्री अनि नेताहरुले पहिले आफ्नै अनुहार राम्ररी हेर्नुपर्छ।

पहाड़मा विकास गर्छु भनेर चुनाउअघि आश्‍वासन दिने यी मन्त्रीहरुले दार्जीलिङ सरकारी महाविद्यालयको समस्या किन समाधान गर्ने पहल गरेको छैन? जुन महाविद्यालय राज्य सरकारकै अधीनमा छ, तर यहाँको समस्या जस्ताको त्यस्तै छ। अहिले दार्जीलिङ सरकारी महाविद्यालयमा मोठ 70 वटा शिक्षकको पद रिक्त छन्, पूर्णकालीक प्राचार्य अहिलेसम्म नियुक्ति भएको छैन। यसमाथि किन राज्यले ध्यान दिंदैन? यसैबाट तृणमूल कंग्रेसले केवल नगरपालिका चुनाउ जित्नको लागि दार्जीलिङ पहाड़का जनतालाई झुटो आश्‍वासन दिइरहेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया