मन्त्री इन्द्रनीलको वयानमाथि सोचविचार गरिरहेका छौँ-अरूप विश्वास

उमेश तामाङ, कालेबुङ , 7 मई/2017


तृणमूल काङ्ग्रेस नेता तथा मन्त्री इन्द्रनील सेनले गोजमुमो प्रमुख विमल गुरूङ लगायत अन्य नेताहरूमाथि दिएको विवादित बयानलाई लिएर पार्टीले सोच-विचार गरिरहेको तृणमूल काङ्ग्रेस नेता तथा पीडब्ल्यूडी मन्त्री अरूप विश्वासले बताएका छन्।

इन्द्रनील सेनले गोजमुमो प्रमुख विमल गुरूङ लगायत अन्य मोर्चा नेतृत्व अनि नगरपालिका उम्मेद्वारहरूलाई चुनाउपछि बक्सामा हालेर अर्कै जिल्लामा पुऱ्याउने दिएको वक्तव्यबारे मन्त्री विश्वासलाई प्रश्न राख्दा उनले उक्त बबयान दिएका छन्। यद्यपि पार्टीले कस्तो अनि के विचार गरिरहेछ त्यसबारे भने मन्त्री विश्वासले खुलस्त पार्न चाहेनन्।

अर्कोतिर उनले गोर्खा जनमुक्ति मोर्चाले पहाडको सत्ता सम्हालेको १० वर्ष नाघिसक्दा पनि जनताको हितार्थ केही कार्य नगरेको आरोप लगाएका छन्। आज कालेबुङ नगरपालिका चुनाउका तृणमूल काङ्ग्रेस उम्मेद्वारहरूको पक्षमा प्रचार गर्दै हिँडेका विश्वासले उक्त आरोप लगाएका छन्। तृणमूल काङ्ग्रेसले राज्यको सत्तामा आएपछि शपथ ग्रहण गरेदेखि नै पहाडलाई स्वीटजरल्याण्ड बनाउने उद्देश्य लिएर कार्य गरिरहेको दाबी पनि उनले गरेका छन्।

मन्त्री विश्वासले आज कालेबुङ नगरपालिकाको वार्ड नम्बर १३, १४, २२ अनि २३ नम्बर वार्डहरूको भ्रमण गरी जनसाधारणलाई तृणमूल काङ्ग्रेसको पक्षमा मत खसाल्ने निवेदन पनि गरेका थिए। यसै अवसरमा उनले २२ नम्बर वार्डको चुनावी कार्यालयको उद्घाटन पनि गरेका थिए। वार्डहरूको भ्रमण अनि चुनावी प्रचारपछि मन्त्री विश्वासले मानिसहरूबाट राम्रो प्रतिक्रिया आइरहेको तथा चुनाउ जित्ने कुरामा विश्वास व्यक्त पनि गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया