पैयुङमा हस्तशिल्प प्रशिक्षण केन्द्रको उद्घाटन: 50 प्रतिशत भएपनि पहाडको अर्थनीति आफ्नै हातमा हुनुपर्छ-मणि ट्रस्ट

कालेबुङ, 22 फरवरी


‘पहाडवासीको वास्तविक विकास तबमात्र हुनसक्छ जब यहाँको अर्थनीति आफ्नै हातमा हुन्छ। 50 प्रतिशत भएपनि पहाडको अर्थनीति आफ्नै हातमा हुनुपर्छ।’ उपरोक्त कुरा मणि ट्रस्टका चियरमेन सुवास एम सिंहले भनेका हुन्। इप्लोइमेन्ट अप्परच्युनिटी फऱ् लाइभ्लिहुड ससटेनिबिलिटी कार्यक्रम अन्तर्गत पैयुङमा हस्तशिल्प प्रशिक्षण केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले अन्य समुदायबाट पाठ सिकेर अर्थनीति आफ्नो हातमा लिन सक्नुपर्ने बताए।
उनले युवाहरूलाई स्वनिर्भर बनेर व्यापार वाणिज्यतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै ट्रस्टले यसै दिशातर्फ काम गर्दै महिलाहरूलाई पनि स्वनिर्भर बनाउने उद्देश्य राखेर नै प्रशिक्षण प्रदान गरिरहेको बताए।
मणि ट्रस्टले पश्चिम बङ्गाल खादी एण्ड भिलेज इण्डस्ट्री बोर्डको सहयोगमा अहिले दार्जीलिङ पहाडभरी हल्तशिल्प प्रशिक्षण केन्द्रहरू सञ्चालन गरिरहेको छ। यसै क्रममा आज पैयुङमा 13 औँ केन्द्रको उद्घाटन गरियो। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित आरडी भोटियाको बाहुलीबाट केन्द्रको उद्घाटन गरिएको हो। कार्यक्रममा ट्रस्टका चियरमेन सुवास एम सिंहले मानिसहरूको आर्थिक अवस्थामा सुधार ल्याउन अनि उनीहरूलाई आर्थिक रूपमा स्वतन्त्र दिलाउने दिशामा विविध कामहरू गर्दै आइरहेको बताए।
उनले उक्त तीन महिने हस्तशिल्प प्रशिक्षणपछि पुनः थप प्रशिक्षण प्रदान गरेर उनीहरूद्वारा उत्पादित समाग्रीहरूका निम्ति पनि उत्पादित केन्द्रहरूको स्थापना गरी बजार व्यवस्थापन गरिने बताए। उनले आगामी दुई वर्षभित्र करीब 2 हजार महिलाहरूलाई प्रशिक्षण प्रदान गरेर स्वनिर्भर बनाउने ट्रस्टको लक्ष्य रहेको बताए। इमी भोटिया सङ्गठनका सचिव सोनाम टी. भोटियाद्वारा सञ्चालित आजको उद्घाटन कार्यक्रम इमी भोटिया सङ्गठनका अध्यक्ष केडी भोटियाको अध्यक्षतामा सम्पन्न भएको थियो जहाँ   विशिष्ट अतिथिहरूमा ट्रस्टी रिजवान रेहमान, योजना अधिकारी पासाङ शेर्पा, योजना अधिकारी साथै अन्य थिए। केन्द्रमा प्रारम्भिक चरणमा 40 जना महिलाहरूले प्रशिक्षण लिनेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares