गुण्डागर्दीको राजनीतिलाई थन्काउनुपर्छः जाप युवा एकाई

कालेबुङ खबरदता , 7 मई/2017


मन्त्री इन्द्रनील सेनको विवादित बयानलाई लिएर उचित न्याय नभएको खण्डमा आवश्यक्ता आइपरे जन आन्दोलन पार्टीको युवा एकाई सडकमा उत्रिन पनि पछि नहट्ने भएको छ। पार्टीको युवा एकाईंले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री सेनको बयानको विरोध जनाउँदै यस प्रकारको चेतावनी पनि दिएको छ।

जाप युवा एकाईका मूल सचिव अमिर बस्नेतले आज मन्त्री सेन राज्यको मन्त्री पदमा रहेर यस प्रकारको गैर जिम्मेवारीपूर्ण वयान दिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। मन्त्री पदमा रहेपछि पक्ष-विपक्ष सबैको हितार्थ अनि सुरक्षाको निम्ति कार्य गर्नुपर्ने उत्तरदायित्व भए तापनि मन्त्री सेनले भने यस प्रकारको बयान दिएर यहाँको स्थिति बिगार्ने प्रयास गरेको आरोप पनि उनले लगाएका छन्।

“द्वन्द्व हुन्छ भने विचार अनि नीतिको हुनुपर्छ तर मन्त्री सेनले जुन प्रकारको बयान दिइरहेका छन् त्यसले शारीरिक द्वन्द्व गराउने कार्य भइरहेको छ। यस्तो कार्य बन्द हुनुपर्छ किनकी हामी संस्कारीत राजनीतिको पक्षमा छौं”- बस्नेतले भने।

“तृणमूल काङ्ग्रेसका नेताहरूले यस किसिमको बयान दिएको पहिलो चोटी होइन विगतमा पनि मन्त्री अरूप विश्वासले यस्तै किसिमको विवादित बयान दिइसकेका छन्। यसर्थ यस्ता हिंसात्मक बयान दिने तथा गुण्डागर्दी अनि काटमारको राजनीतिलाई अङ्गाल्ने राजनैतिक दलहरूलाई जनताले थन्काउने समय आएको छ”-उनले अझ थपे।

बस्नेतले यस विषयलाई अझ अघि बडाउँदै भने-“हामी पनि पहाडकै राजनैतिक दलसित सम्बद्ध रहेकाले अनि पहाडमा शान्ति तथा गणतन्त्रको बहाली हुनुपर्ने हाम्रो मुख्य उद्देश्य रहेकाले यस्ता बयानहरूको विरोध जनाउनु हाम्रो दायित्व हो। संस्कारीत राजनीतिको स्थापना हाम्रो पहल रहेकाले गर्दा आवश्यक परेको खण्डमा सरकारलाई अर्कै किसिमले बुझाउन सडकमा उत्रिन परे तापनि हामी अवश्य सडकमा उत्रिनेछौं।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया