विकलाङ्गहरूले पाउनुपर्ने सहुलियत पनि नपाएको गुनासो, सञ्चबीर सुब्बाले दिए सहयोग गर्ने प्रतिश्रुति

कालेबुङ, 27 फरवरी।

विकलाङ्गहरूले पाउनुपर्ने सहुलियत अनि सुविधाहरू विषय लिएर सम्बन्धित निकायसमक्ष पहल गर्न सहयोग पुऱ्याउने प्रतिबद्धता जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसन सदस्य सञ्चबीर सुब्बाले दिएका छन्।

आज पार्वत्य अपाङ्ग कल्याण सङ्गठन, कालेबुङद्वारा बाघधारा रोडस्थित धर्मशालामा सम्पन्न गरिएको सभामा उपस्थित बनेका सुब्बाले उक्त प्रतिबद्धता गरेका हुन्। विभिन्न स्थानबाट आएका विकलाङ्ग प्रतिनिधिहरूले विविध समस्याहरूलाई लिएर सभामा सहयोग गरिदिने आह्वान गरेपछि उनले उक्त प्रतिबद्धता जाहेर गरेका हुन्।

“तपाईहरूलाई सरकारले दिएको अधिकारलाई तपाईहरूले पाउनुपर्छ भन्ने लडाइमा म पनि साथ दिन्छु। जहाँ जे आवश्यक्ता छ त्यो अनुसार मिलेर काम गरौं। हामी सहयोग दिन्छौ तर सहि विषय छानेर सहि ठाउँमा कुरा अघि बडाउनुपर्छ”- सुब्बाले भने। कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चाको कालेबुङ जिल्ला समितिकी मूलसचिव गायत्री मुखिया पनि उपस्थित रहेकी थिइन्। उनले पनि आफ्नो सम्बोधनमा विकलाङ्गहरूले पाउनुपर्ने सहुलियतको निम्ति सहयोग पुऱ्याउने प्रतिश्रुति दिएकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सङ्गठनका अध्यक्ष छोटेलाल प्रसादले पनि विकलाङ्गहरूले पाउनुपर्ने सहुलियत अनि प्राप्त भएका आश्वासनहरू पनि प्राप्त नभएको गुनासो व्यक्त गरे। “विकलाङ्गको समस्या विकलाङ्गले मात्र बुझ्नसक्ने भए तापनि समस्या समाधान गर्ने ठाउँमा सकलाङ्ग नै हुने गर्छन् त्यसैले उनीहरूसम्म हाम्रो माग अनि समस्या जीटीए मार्फत् पुऱ्याउन आज हामीले जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसन सदस्य सञ्चबीर सुब्बा साथै गोजमुमो जिल्ला मूल सचिव गायत्री मुखियालाई निम्ताएका हौं”- प्रसादले भने।

कार्यक्रममा स्थानीय लगायत सिटोङ, सामसिङ, तकदाह, मन्सोङ, प्रिमताम, छोटा भालुखोप, सुरूक, समथार आदि स्थानका विकलाङ्ग प्रतिनिधिहरू उपस्थित रहेका थिए भने उनीहरूले विकलाङ्गहरूले पाउनुपर्ने सहुलियत पनि सरकारबाट प्राप्त हुन नसकेको गुनासो व्यक्त गरेका थिए। यसै अवसरमा विकलाङ्गहरूलाई ब्ल्याङकेट पनि वितरण गरिएको थियो। मोर्चा नेता विदुर राईद्वारा प्रदान गरिएको उक्त ब्ल्याङकेटहरू अतिथिहरूको बाहुलीबाट वितरण गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया